+
+
Shares

फार्ममा सस्तो, पसलमा महँगो, अन्डाको मूल्यमा बिचौलियाको लुट

घटेको मूल्यमा अन्डा पाउनु त कता हो कता, उपभोक्ता उल्टै पुरानो मूल्यभन्दा बढी तिर्न बाध्य छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ चैत ३ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले २९ फागुनदेखि अन्डाको फार्म मूल्य घटाएको भए पनि खुद्रा बजारमा मूल्य बढेको छ।
  • खुद्रा व्यापारीहरूले होलसेलरले मूल्य घटाएको छैन भन्दै घाटा भोग्न नचाहेको दाबी गरेका छन्।
  • संघका सचिव मदन पोखरेलले बिचौलियाहरूको बहु–तहका कारण उपभोक्ता ठगिने र किसानले लागत मूल्य नपाउने अवस्था रहेको बताए।

३ चैत, काठमाडौं । बिहानको खाजा होस् वा दिउँसोको भोक मेटाउन, नेपाली भान्सामा लगभग अन्डा छुट्दैन । तर, त्यही अन्डा खरिद गर्न उपभोक्ताले कतिसम्म मूल्य तिर्नुपर्छ ?

एउटै अन्डाको मूल्य पर्छ २५ रुपैयाँसम्म । हुन त एउटै अन्डाको मूल्य २५ देखि ३० रुपैयाँसम्म तिर्नु उपभोक्ताका लागि सामान्य जस्तै बनाइसकेका छन् व्यापारीहरूले ।

२९ फागुनदेखि लागु हुने गरी नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । संघले मूल्य घटाए पनि उपभोक्ताहरूले भने घटेको मूल्यमा राहत पाउन सकेनन् । कारण– फार्ममा अन्डाको मूल्य घटे पनि बजारमा खुद्रा व्यापारीले उल्टै भाउ बढाएर बेचिरहेका छन् ।

कानुनी रूपमा कुनै पनि संगठनले मूल्य मिलेमतो गर्ने उद्देश्यले मूल्य निर्धारण गर्न नमिल्ने जानकारहरू बताउँछन् । तर, किसानले लागत मूल्य पाउन् भनेर समर्थन मूल्य तोक्ने गरेको नेपाल लेयर्स कुखुरापालक संघले दाबी गर्दै आएको छ ।

संघको तथ्यांक हेर्ने हो भने ११ फागुनको तुलनामा २९ फागुनदेखि लागु भएको अन्डाको मूल्य अनुसार प्रतिक्रेट ४० रुपैयाँसम्म घटेको छ ।

अन्डाको नयाँ र पुरानो फार्म मूल्य

११ फागुनदेखि लागु हुने गरी तोकिएको अन्डाको फार्म मूल्य अनुसार सबैभन्दा ठूलो अर्थात् एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ४ सय ९५ रुपैयाँ कायम गरिएको थियो ।

यसैगरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो ।

संघको आधिकारिक निर्णय अनुसार अहिले एक्सएल अन्डाको फार्म मूल्य ४ सय ५५ रुपैयाँ, ठूलो अन्डाको ४ सय ४० रुपैयाँ र मिडियम अन्डाको ४ सय १० रुपैयाँ तोकिएको छ ।

संघले चुनावअघि मूल्य बढेको भए पनि पछि खपत कम भएको भन्दै मूल्य घटाएको बताएको छ । चुनावअघि भने मागेजति पुर्‍याउन नसक्दा भाउ बढाउनुपरेको तर्क संघको थियो ।

यसमा ढुवानी र प्याकेजिङ खर्चबापत १ सय ३० रुपैयाँ जोड्दा पनि उपभोक्ताले निकै सस्तोमा अन्डा पाउनुपर्ने हो । घटेको मूल्यमा अन्डा पाउनु त कता हो कता, उपभोक्ता उल्टै पुरानो मूल्यभन्दा बढी तिर्न बाध्य छन् ।

खुद्रा व्यापारीको दाबी र बहाना

बजारमा अन्डाको मूल्य किन घटेन भनेर खुद्रा व्यापारीलाई प्रश्न गर्दा उनीहरूसँग एउटै ‘रेडिमेड’ जवाफ हुन्छ, ‘होलसेलर (थोक विक्रेता) ले नै मूल्य घटाएका छैनन्, हामीले घाटा खाएर कसरी बेच्नु ?’

नयाँ बानेश्वरका एक खुद्रा व्यापारीले संघले मूल्य घटाएका बेला ३–४ दिनदेखि अन्डाको मूल्य बढेको दाबी नै गरे । ती व्यापारीले अहिले बजारमा मिडियम अन्डाकै मूल्य प्रतिक्रेट ४ सय ७० रुपैयाँ पुगेको बताउन भ्याए ।

संघले तोकेको मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १० छ । प्रतिक्रेट २० रुपैयाँमात्रै नाफा खाएर बेच्ने हो भने ४ सय ३० रुपैयाँ पर्न जान्थ्यो । तर, व्यापारीले भने ५० रुपैयाँभन्दा बढी नाफा खाइरहेका छन् । ठूलो अन्डाको घटेको मूल्य प्रतिक्रेट ४ सय ४० रुपैयाँ भए पनि उक्त अन्डालाई उनले ५ सय १० रुपैयाँसम्म पर्न जाने बताए ।

अन्डा व्यवसायी महासंघले मूल्य घटेको भनेको छ नि भन्ने जिज्ञासामा ती व्यापारीले आपूर्तिकर्ताले नै भाउ बढेको भन्दै सामान झारिरहेको बताए ।

‘उनीहरूले त बढिराछ भनेरै ल्याउँछन्,’ ती व्यापारीले भने, ‘उनीहरूले मूल्य बढेकै हो भनेका छन् ।’

आपूर्तिकर्ताले ठ्याक्कै कति रुपैयाँले बढाएर ल्याएका छन् भन्ने यकिन जानकारी भने उनले दिन सकेनन् । अन्डाको बजार भाउमा निकै अस्थिरता रहेको ती व्यापारीको भनाइ छ ।

‘अन्डाको रेट सधैं घटबढ, घटबढ भइरहन्छ,’ उनले भने, ‘बजारमा अन्डाको मूल्य घट्यो भन्ने हल्ला आए पनि घटेको छैन ।’

यसले बजारमा कतिसम्मको ‘सिन्डिकेट’ र ‘बिचौलियाको राज’ छ भन्ने स्पष्ट पार्छ । किसान (उत्पादक) ले उत्पादन गरेको अन्डा उपभोक्ताको भान्सासम्म आइपुग्दा बिचौलियाहरूले कृत्रिम मूल्यवृद्धि गराएर अनुचित लाभ लिइरहेका छन् ।

संघ भन्छ– बिचौलियाको तह बढ्दा अन्डामा उपभोक्ता ठगिए

अन्डाको मूल्य घटाएको सूचना जारी गरे पनि बजारमा त्यसको कार्यान्वयन नभएको संघले नै स्वीकार गरेको छ । संघका सचिव मदन पोखरेलले बिचौलियाहरूको बहु–तह (धेरै स्टेप) का कारण बजारमा उपभोक्ता ठगिएको र किसानले आफ्नो उत्पादनको लागत मूल्यसमेत पाउन नसकेको बताए ।

‘किसानले पनि उचित मूल्य नपाउने र उपभोक्ता पनि ठगिने अवस्था छ,’ उनले भने, ‘घटेको बेला घटेकै र बढेको बेला बढेको रेट प्रकाशित गर्ने काम हाम्रो हो, तर बजारमा यसको कार्यान्वयन राम्रोसँग भएको छैन ।’

बजारमा होलसेलर र खुद्रा व्यापारीहरूले ‘संघले नै मूल्य बढाएर बेच्न भनेको छ’ भन्दै उपभोक्तासँग चर्को मूल्य असुलिरहेको प्रसंगमा सचिव पोखरेलले त्यसलाई अस्वीकार गरे ।

‘त्यो उनीहरूले आफ्नो कुरा मिलाउनका लागिमात्र भनेका हुन्,’ उनले दाबी गरे, ‘हामीले बढाएर बेच्नु भनेका छैनौं, आधिकारिक रूपमा संघले घटेको बेला घटाउन र बढाउन भन्छ, यसमा उनीहरूले नाफा खानका लागि आफ्नै किसिमले बहाना बनाएका हुन् ।’

अन्डा उत्पादकदेखि उपभोक्ताको भान्सासम्म पुग्दा पार गर्नुपर्ने ४–५ वटा तहका कारण मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको सचिव पोखरेलको दाबी छ ।

‘म किसान हुँ, मैले चितवनको कुनै सप्लायरलाई अन्डा बेच्छु, त्यसपछि उसले काठमाडौं, विराटनगर वा पोखरा पुर्‍याउँदा प्रतिकार्टुन १ सय ३० रुपैयाँ भाडा जोड्छ,’ उनले उदाहरण दिँदै भने, ‘त्यसमा उसले प्रतिकार्टुन २०–३० रुपैयाँ नाफा खान्छ, जुन भनेको एक क्रेटमा ४ देखि ५ रुपैयाँ नाफा हो ।’

उनका अनुसार सप्लायरबाट डिपोमा पुगेको अन्डा फेरि सब–डिपो हुँदै किराना पसलसम्म पुग्दा ४ देखि ५ वटा स्टेप पार गर्छ ।

हरेक तहमा व्यापारीले आफ्नो मार्जिन राख्दै जाँदा अन्तिममा उपभोक्तालाई निकै महँगो पर्न जाने उनको स्वीकारोक्ति छ ।

‘अहिलेको लागत र घटेको मूल्य हेर्ने हो भने उपभोक्ता मूल्य २२ रुपैयाँ (प्रति गोटा) पनि पर्दैन,’ पोखरेलले भने, ‘तर बीचका तहका कारण उपभोक्ता ठगिने काम भइरहेको छ ।’

आफूहरूले बजारको यथार्थ अवस्था हेरेर मूल्य निर्धारण गरे पनि त्यसलाई बजारमा हुबहु लागु गराउन नसकिएको उनले स्वीकार गरे ।

कुन व्यापारीले कहाँ कतिमा बेचिरहेको छ भनेर संघले मात्र हेर्न नसक्ने र किसानलाई बचाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन आफूहरू अझै पनि संघर्षरत रहेको उनको भनाइ छ ।

अनुगमन र नियमनको जिम्मेवारी पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र अन्य निकायले गलत गर्ने व्यापारी तथा व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?