News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको छ।
- सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम गरिएको छ, जुन पहिले ४ सय ६० रुपैयाँ थियो।
- संघले चितवनलाई आधार मानेर मूल्य निर्धारण गरेको र डिपोमा पुर्याउँदा थप १ सय ४५ रुपैयाँ खर्च लाग्ने जनाएको छ।
२२ चैत, काठमाडौं । बजारमा अन्डाको मूल्य पुन: बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आइतबारदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको हो ।
नयाँ मूल्यसूची अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि भएको छ ।
संघका अनुसार अब सबैभन्दा ठूलो एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ७५ रुपैयाँ कायम भएको छ, जुन पहिले ४ सय ६० थियो ।
त्यसैगरी ४ सय ३५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अन्डाको मूल्य ४ सय ५० पुगेको छ भने ३ सय ८५ रुपैयाँ रहेको मिडियम अन्डाको मूल्य ४ सय तोकिएको छ ।
संघ सचिव मदन पोखरेलका अनुसार किसानसँगको निरन्तर छलफल र कार्यसमितिको निर्णय बमोजिम बजार स्थिर राख्न र किसानको बढ्दो उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गर्नुपरेको हो ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको यो मूल्य फार्मबाट खरिद गर्दाको हो । संघले जारी गरेको सूचनामा चितवनबाट देशका अन्य सहरका डिपोमा अन्डा पुर्याउँदा भाडा, कार्टुन र क्रेट खर्चबापत थप १ सय ४५ रुपैयाँ लाग्ने स्पष्ट पारेको छ ।
यो नयाँ मूल्य निर्धारणसँगै अब बजारमा खुद्रा मूल्य पनि बढ्ने निश्चित छ, जसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने देखिन्छ ।
प्रतिक्रिया 4