News Summary
Generated by OK AI. Editorially reviewed.- भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले डिजेल र पेट्रोल सवारीसाधन विस्थापित गर्दै १२ वटा नयाँ विद्युतीय भ्यान सञ्चालनमा ल्याएको छ ।
- अध्यक्ष मिनबहादुर गुरुङले इन्धनको मूल्यवृद्धि, व्यापार घाटा र जलवायु परिवर्तनको असर घटाउन ईभी प्रयोग सुरु गरिएको बताए ।
- भाटभटेनीले आफ्ना १ सय ६३ सवारीसाधनलाई क्रमशः विद्युतीय बनाउने योजना बनाएको छ ।
१२ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले आफ्ना सम्पूर्ण पेट्रोलियम (डिजेल/पेट्रोल) सवारीसाधन विस्थापित गर्दै जाने योजना सहित विद्युतीय सवारीसाधन (ईभी) प्रयोग सुरु गरेको छ ।
इन्धनको बढ्दो मूल्य, व्यापार घाटा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्य सहित भाटभटेनीले यो हरित अभियान थालनी गरेको हो ।
हाल भाटभटेनीसँग डेलिभरी भ्यान, ट्रक र अफिसियल प्रयोगका गरी कुल १ सय ६३ वटा सवारीसाधन छन् । यी सबै गाडीलाई क्रमश: ईभीमा रूपान्तरण गर्ने भाटभटेनीको लक्ष्य छ ।
यसै योजना अनुसार पहिलो चरणमा तरकारी तथा फलफूल ढुवानी र होम डेलिभरीका लागि युरोपियन स्ट्यान्डर्ड (सीई सर्टिफाइड) का १२ नयाँ ‘फोटोन’ ब्रान्डका ईभी भ्यान सञ्चालनमा ल्याइएको छ ।
यसबाहेक म्यानेजर र डिपार्टमेन्ट हेडहरूले प्रयोग गर्ने १० वटा निजी कार पनि ईभीमा गइसकेका छन् भने पुराना २ वटा ईभी सञ्चालनमै छन् ।

वातावरणीय दायित्व र अर्थतन्त्रमा टेवा
भाटभटेनी अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ईभी प्रयोगलाई प्राथमिकता दिनुका पछाडि मुख्यतया वातावरणीय दायित्व र देशको अर्थतन्त्रप्रतिको चिन्ता रहेको बताए ।
आगामी पुस्तालाई बस्नयोग्य पृथ्वी हस्तान्तरण गर्नु सबैको दायित्व भएको बताउँदै उनले ग्लोबल वार्मिङका कारण विश्वभरि घटिरहेका ठूला घटनाबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।
‘आउँदो पुस्तालाई वातावरण सुरक्षित गरिदिनु र उनीहरूका लागि बस्न योग्य ठाउँ बनाइदिनु हामी सबै मानवजातिको दायित्व हो,’ गुरुङले भने, ‘त्यही महसुस गरेर हामीले यो कर्तव्य निर्वाह गरेका हौं ।’
यसका साथै अन्तर्राष्ट्रिय बजारमा रुस-युक्रेन र इरान लगायत देशमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको सन्दर्भ जोड्दै उनले नेपालको आफ्नै जलविद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए ।
हाम्रो देश संसारकै दोस्रो ठूलो जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता भएको र अहिले नेपालमै यसको उत्पादन बढिरहेको अवस्थामा आफ्नै देशको बिजुली खपत गर्दा इन्धन आयातमा बाहिरिने पैसा जोगिने र सरकारलाई व्यापार घाटा कम गर्न पनि ठूलो सहयोग पुग्ने उनको भनाइ छ ।

ढुवानी खर्चमा भारी कटौती, किसान र उपभोक्तालाई फाइदा
डिजेल गाडीको तुलनामा ईभी सञ्चालन खर्च निकै सस्तो पर्ने र यसको प्रत्यक्ष फाइदा तरकारी उत्पादक किसान तथा उपभोक्ता दुवैलाई पुग्ने भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले हाल पालुङ, मकवानपुर, चितवन, सिन्धुली र जनकपुर लगायत ठाउँका किसानको खेतबाटै ताजा तरकारी काठमाडौं ल्याउने गरेको छ ।
ढुवानी खर्चको तुलना गर्दै अध्यक्ष गुरुङले डिजेल गाडीमा जनकपुरबाट काठमाडौं आउन–जान सानो गाडीलाई १२–१३ हजार र ठूलो गाडीलाई २५–२६ हजार रुपैयाँसम्म इन्धन खर्च लाग्ने तर त्यही बाटो ईभीमा जाँदा जम्मा ११ सयदेखि १५ सय रुपैयाँको बिजुलीले पुग्ने तथ्यांक प्रस्तुत गरे ।
डिजेल गाडीमा ढुवानी गर्दा लाग्ने खर्च ईभी प्रयोगले भारी मात्रामा घट्ने र ढुवानीमा थोरैमात्र खर्च जोगिँदा पनि त्यसको सिधा फाइदा किसानलाई उत्पादनको उचित मूल्य पाउन र उपभोक्तालाई सस्तोमा ताजा तरकारी उपभोग गर्न पुग्ने उनले बताए ।
अहिले ल्याइएका १२ वटा फोटोनका भ्यान विशेषगरी किसानको खेतबाट ताजा तरकारी उठाउन र काठमाडौं उपत्यकाभित्रका ग्राहकको घरदैलोमा सामान आपूर्ति गर्न प्रयोग हुनेछन् ।

भाटभटेनीले आफ्नो वातावरणमैत्री अभियानलाई साना गाडीमा मात्र सीमित नराख्ने घोषणा गरेको छ । आफ्ना सबै १ सय ६३ सवारीसाधनलाई बिस्तारै विद्युतीय बनाउने योजना सुनाउँदै अध्यक्ष गुरुङले बजारमा ठूला विद्युतीय ट्रक आए भने त्यसमा पनि जान आफू एकदमै खुसी हुने बताए ।
निजी क्षेत्रको सबैभन्दा ठूलो रोजगारदाता र करदातामध्येको एक भाटभटेनीले देखाएको यो वातावरणीय र आर्थिक सचेतनाले नेपालको कर्पोरेट क्षेत्रमा नयाँ मानक स्थापित गर्ने र अन्य व्यापारिक घरानालाई पनि विद्युतीय सवारी प्रयोगमा जान प्रेरित गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4