शनिबार, १२ फागुन, २०७४
OnlineKhabar.com

बस्ने कि उठ्ने ? अफिसको मेच पनि हटाउने कि !

डा. राजेन्द्र कोजु

‘काम गर्ने ठाउँमा आरामदायी कुर्सी चाहिन्छ ।’ ‘बस्नोस्, बस्नोस्, के खाउँ, चिसो तातो ?’ ‘ल मज्जाले बसौं र गफ गरौं ।’

यी हाम्रा साधारण बोलीचालीका भाषा हुन् ।

बस्ने, अझ आरामदायी बस्ने कुराले हाम्रो समाजमा ठूलो महत्व पाउँछ । अफिसमा पहिलो कुरा नै बस्ने कुर्सी र टेबल हुन्छ । पक्कै पनि बस्नु राम्रै हो । बसेर काम गर्दा सजिलो हुन सक्छ, कुरा गर्दा सहज हुन्छ ।

बस्नका लागि पहिला पहिला गाउँघरतिर सुकुल, गुन्द्री, चकटी प्रयोग हुन्थ्यो भने पछिपछि मुढा, बेञ्च पनि प्रयोग भयो । अहिले आधुनिकता सँगसंँगै विभिन्नखालका कुर्सी, सोफा, काउच आदि प्रयोग हुन थाले ।

आजभोलि धेरैले जागिर खाँदा, पढ्दा वा काम गर्दा बस्ने समय नै धेरै भएको पाइन्छ । घरमा जाउँ, बसेर कुरा हुन्छ, अफिस जाउँ बसेरै कुरा हुन्छ । बैठक, भेलामा त झन घन्टौं बस्नुपर्ने हुन सक्छ ।

डा‍. राजेन्द्र कोजु

सोच्नुहोला, बस्ने विषयमा यति धेरै गन्थन किन ? कारण के हो भने शहरी जीवनमा अव्यस्त हामी, धेरै बसिसक्याँै । अब उठेर काम गर्ने, कुरा गर्ने, चिया खाने, गफ गर्ने दिन आइसक्यो । आफ्नो शरीरलाई दुरुस्त राख्नका लागि बस्नुभन्दा उठेर अभ्यस्त पार्न सकिन्छ ।

बस्दा हाम्रो शरीरले कुनै खास काम गर्नुपर्दैन वा व्यायामसमेत गर्दैन । अनि खानेकुराबाट प्राप्त शक्ति प्रयोग नभई सञ्चित हुन्छ । जसले बोसो जमेर मोटो हुन मद्दत पुग्छ ।

आजभोलिको शहरी जीवनमा शारीरिक व्यायाम कम हुँदै गएको छ । पैदल हिँड्ने दुरी कम हुँदैछ, साइकल चलाउने वातावरण नै छैन । जहाँ जाँदा पनि बस, मोटरसाइकल, ट्याक्सी प्रयोग हुन्छ ।अझ हुनेखानेले औकात अनुसारको सवारी प्रयोग गर्ने गरेका छन् । हिँडाइ नै कम हुँदै गएको छ । खाने कुराको मात्रा बढ्दैछ ।

पहिला शारीरिक व्यायाम हुने काम धेरै हुन्थ्यो । खेतबारीको काम, घरायसी काम जुन काममा पनि व्यायाम हुन्थ्यो । जहाँ जाँदा पनि हिँड्नुको विकल्प थिएन । शारीरिक व्यायाम पुग्दो हुन्थ्यो । सँगसँगै खानेकुरा पनि प्राकृतिक, फाइवरयुक्त, शुद्ध एवं ताजा हुन्थ्यो ।

धेरै मोटोपन हुँदैनथ्यो । यद्यपि रोगका अरु कारणहरु हुन्थे । तर, मोटोपन र शारीरिक सुस्तताका कारण लाग्ने चिनी रोग, उच्च रक्तचाप, मुटुको रोगजस्ता रोगहरु कमै हुन्थे ।

आजभोलि बच्चैदेखि मोटोपन सुरु हुन थालिसकेको छ । पहिलाजस्तो शारीरिक व्यायाम हुने खेल कम खल्ने प्रचलन बढ्दैछ । मोबाइल, कम्प्युटर जस्ताले धेरै समय लिएका हुनाले शरीर मोटाउँदै गएको पाइन्छ ।

पहिलाजस्तो बाहिरी गेम खेल्न प्रशस्त चौर छैन । स्कूल जान घर नजिकै बस आउँछ, घरमा खाजा, खाना होटलबाटै आउँछ, सबै वातावरण बजारिया हुन्छ । जसमा स्वाद र विज्ञापन धेरै हुन्छ । शरीरलाई आवश्यक तत्वहरु न्यून हुन्छ ।

यी र यस्तै वातावरणले कम उमेरमै मोटोपन बढ्दै गएको छ र चिनीरोग, उच्चरक्त चापजस्ता रोगहरु २०/२२ बर्षको उमेरदेखि नै देखिन थालेका छन् ।

हुन त जनचेतनासँगै धेरैलाई शारीरिक व्यायाम गर्नुपर्छ भन्ने थाहा छ र कोशिस पनि गरिराखेको पाइन्छ । उनीहरु बिहान या साँझमा हिँड्ने, हेल्थक्लब जाने, फुटसल, ब्याडमिन्टन खेल्ने, नाच्ने, पौडने, दौडने आदि इत्यादि गरिराखेका छन् ।

तर, सोचेको र भनेको जस्तै वातावरण मिलिराखेको नहुन सक्छ । कसैको हिँड्ने समय छैन, कसैको हेल्थ क्लब जाने हैसियत छैन, कसैलाई पौडन, नाच्न आउँदैन, कसैलाई खेल्ने जाँगर नै छैन, आदि इत्यादि कारण छन व्यायाम नगर्नका लागि पनि ।

तसर्थ, सबैभन्दा सजिलो के हुन सक्छ त व्यायामका लागि ? सक्दो बस्न कम गर्ने वा उठेर, हिँडेर काम कुरा गर्ने । यद्यपि उठी मात्र राख्ने वा बस्नै नहुने भनेको चाहिँ पक्कै होइन ।

विभिन्न अध्ययनले पनि लामो समय बसेर काम मात्र गर्नु चुरोट खाएको जस्तै हानिकारक हुने औंल्याएका छन् । कसैको नबसी नहुने काम छ भने हरेक २०/२० मिनेटमा एकपल्ट चाहिँ अवश्य उठ्नुस् है ।

कतिपय कामहरु पक्कै उठेर सजिलो हुन्छ वा उठेरै गरिन्छ, त्यहाँ बसेर आराम पनि गर्नुपर्छ । तर, बसेर काम गर्ने वा धेरैबेर बस्ने व्यक्तिले चाहिँ पक्कै मनन गरौं, उठेर काम कुरा गरौ ।

डा. कोजु वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । उनी हाल धुलिखेल सामुदायिक अस्पतालका कार्याकारी निर्देशक र काठमाडौ विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन हुन् ।

२०७४ फागुन १ गते १४:३३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Nepali लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ६:५०

    डा. राजेन्द्र कोजु सर ले एकदम ठिक कुरो लेख्नु भयो|
    आजकल अफिस मा उठेर पनि काम गर्ने सकिने डेस्क popular हुदै छ| Fitbit जस्तो हातमा लगाउने घडी को चलन बढ्दै छ| It shows data such as the number of steps walked, heart rate, quality of sleep, steps climbed, and other personal metrics involved in fitness.

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this