Comments Add Comment

काठमाडौं उत्रिए निगमका दुई नयाँ चिनियाँ जहाज, चलाउनै चुनौति


१ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको दुई चिनियाँ ‘वाई १२ र्इ’ जहाज त्रिभुवन विमानस्थलमा ओर्लिएका छन् । तर, यि जहाज निगमका लागि ‘सेतो हात्ती’ मात्रै हुने खतरा छ ।

एक साता अघि चीनको चीनको हर्बिन शहरबाट उडेका यि जहाज सोमबार दिउँसो २ बजे त्रिभुवन बिमानस्थलमा ओर्लिएका हुन् ।२०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार यि जहाज न निगमले थपेका हो । सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज यसअघि नै आइसकेका थिए ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याउने सम्झौता छ । एउटा एमए ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको छ । सोमबार आइपुगेका २ ‘वाइ १२ ई ‘ जहाज भने सहुलियन ब्याजमा आएका जहाज हुन् ।

हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठ वटा जहाज भएका छन् ।

पछिल्ला ४ वटा वाई १२ भने सहुलियत ऋणमा चीनले उपलब्ध गराएको हो । अनुदानमा उपलब्ध भएका जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियत व्याजमा ऋण उपलब्ध गराएको छ ।

सरकारले यसअघि नै रकम तिरिसकेकाले निगमले जहाज थपेको निगमका प्रवक्ता श्रेष्ठ बताउँछन् ।

चलाउन चुनाैति 

दुई सरकारबीच जहाज खरिदको सम्झौता हुनुअघि निगमको टोलीले चीन पुगेर त्यसबारे अध्ययन गरेको थियो ।


चिनियाँ जहाजले नेपालको हिमाली भेगमा उडान गर्न मिल्ने निष्कर्ष उक्त टोलीको थियो । सोहीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थियो ।

तर, हाल उडान भरिरहेका दुई एमए-६० र दुई वाई-१२ जहाज निगमका लागि बोझ सावित भएका छन् ।

उडान भर्न पाइलट र मर्मतका लागि पार्टपूर्जा नपाउने समस्याबाट आजित भइसकेको छ, निगम । ती समस्या समाधान नभई बाँकी दुई जहाज पनि ल्याउनैपर्ने बाध्यतामा परेको छ, निगम नेतृत्व ।

वाई-१२ भित्र्याउनुको उद्देश्य हिमाली रुटमा उडान भर्नु थियो । तर, अहिलेसम्म त्यस रुटमा परीक्षण उडानसमेत गर्न सकेको छैन ।


मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘निगमले केही तयारी नगरी जहाज थप्दैछ । अहिलेकै अवस्थामा दुवै जहाजलाई लामो समय विमानस्थलमै घाम तपाएर राख्नुपर्ने देखिन्छ ।’

हाल निगमका दुई वटा वाई-१२ जहाज मर्मत गर्नुपरे पार्टपूर्जा नपाएर दुई महिनासम्म ग्राउन्डेड गर्नुपर्ने अवस्था छ ।

चिनियाँ जहाजको बीमा शुल्क अन्यको तुलनामा बढी तिर्नुपर्छ । र, पाइलट तालिमका लागि पनि ठूलो रकम खर्च हुन्छ । नेपाली आकाशमा उडिरहेका चार वटा चिनियाँ जहाजबाट निगमले आम्दानीभन्दा ज्यादा घाटा बेहोर्नु परिरहेको छ ।

अब थप दुर्इ चिनियाँ जहाज निगमले कसरी चलाउने भन्ने चुनाैति निगमसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment