Comments Add Comment

लभ केमेष्ट्रीः प्रेमानन्दको कारक ‘डोपामाइन’

काठमाडौं ।  प्रेमका विषयमा हामी कोही पनि गम्भीर हुनु जरुरी छैन । आधुनिक युगमा त्यसै पनि प्रेम एउटा ‘फन्नी गेम’ भइसकेको छ । किनकि, प्रेमलाई हेर्ने वैज्ञानिक सोचको पनि विकास भइसकेको छ ।

विज्ञान भन्छ, प्रेम भनेको खासमा मानिसको मश्तीष्कमा हुने एक रासायनिक क्रिया प्रतिक्रियाकै प्रतिफल हो । यो मानव मनकै एक भावदशा हो ।  प्रेममा परेका मानिस आफ्नै लोकमा रमाइरहेका हुन्छन् र त्यसमा विभिन्न रसायनले भूमिका निर्वाह गर्दोरहेछ ।

यो ‘केमिकल’ पक्षलाई आध्यात्मिक कोणबाट पनि मनन गरौं ।

विपश्यना गुरु सत्यनारायण गोयन्काका अनुसार मानिसको शरीरमा दुइथरी संवेदना हुन्छन् । एउटा सुखद संवेदना, अर्को दुःखद संवेदना । शरीरमा कतै चिलाइरहेको छ भने त्यो दुःखद संवेदना भयो, हामी जब त्यो चिलाइरहेको ठाउँमा कन्याउँछौं, त्यसपछि त्यो सुखद संवेदना भइदिन्छ । मानिसको जीवन यही चिल्याइ र कन्याइमै रुमल्लीएको छ ।

शरीरमा कतै पिडा, तनाव, असहज महसुुस भइरहेको हुन्छ, कतै सन्चो, हाइसन्चो र मज्जा महसुस भइरहेको हुन्छ । हामीमा जाग्ने काम, क्रोध, लोभ, मोह, राग, द्वेश, अहँकार, घृणा, प्रेम, स्नेह, अनुराग, हाँसो, रोदन र क्रन्दन यी यावत मानवीय संवेदना त्यसभित्रै पर्छन् ।

यहींनेर विपस्यना ध्यान सूत्र भन्छ, ‘हामीले ति दुबै सुखद र दुःखद संवेदनालाई तटस्थ भएर हेर्नुपर्छ । शरीरको जुन जुन भागमा सुखद र दुःखद संवेदना छन्, त्यसबाट बिचलीत हुने हैन, बरु त्यसलाई चुपचाप हेर्ने । साक्षी भावले नियाल्ने ।’

मानवीय संवेदनाको व्यवस्थापन गरेर सुख र दुःखभन्दा माथि प्रेम र करुणाको अवस्थामा पुर्‍याउने यो विपश्यता सूत्र भयो ।

तर, हामीले साँसारीक रुपमा महसुस गर्ने जुन प्रेम छ, त्यो पनि एउटा संवेदना नै हो । यो पनि मनकै एउटा भावदशा हो । यो खासमा ‘मोह माया’ हो । यसका लागि साँसारीक प्रेमका केही आयामलाई बुझ्नुपर्ने हुन्छ ।

दिनमा एउटा केरा मात्र नियमित रुपमा खाने हो भने पनि हाम्रो मन सदा प्रेमल रहन सक्छ, कसैले तपाईलाई ‘आइ लभ यू’ भन्नै पर्दैन ।

जस्तै, माता र पिताले आफ्ना सन्तानलाई गर्ने प्रेमलाई हामी ‘ममता’ भन्छौं । सन्तानले आफ्ना अभिभावकलाई गर्ने प्रेमलाई हामी ‘आदर सम्मान’ भन्छौं । आफुभन्दा कम उमेरका मानिसलाई गरिने प्रेम ‘स्नेह’ भयो । साथीहरुवीचको प्रेमलाई हामी ‘मित्रता’ भन्छौं । प्रेमी र प्रेमीविचको प्रेमलाई हामी चलनचल्तीको ‘प्रेम’ नै भन्छौं । देशप्रतिको प्रेमलाई ‘देशभक्ति’ अनि ईश्वर या अस्तित्वप्रतिको प्रेमलाई हामी ‘भक्ति’ भन्छौं । प्रेमका यी सम्पूर्ण आयामको समष्टिगत संज्ञा नै मोह हो ।

आध्यात्मिक गुरुहरु भन्छन्, ध्यान या समाधिको तटस्थ अवस्थामा मानिस निर्विचार हुन्छ । त्योबेला उसमा कुनै पनि भाव संवेग हुँदैन । त्यसबेला उ विराट प्रेमानन्दमा डुबल्की लगाइरहेको हुन्छ । त्यसबाहेक अरुबेला मानिसमा जाग्ने संवेदना भनेका सबै मनकै गणित हुन्, मनोदशा नै हुन् ।’

र, बैज्ञानिकहरुका अनुसार मनको यो खेलसँग रासायनिक प्रतिक्रियाको मुख्य भूमिका रहन्छ । प्रेमको भावदेखि विछोडको भावसम्म, सेक्सको आनन्ददेखि चुम्बनको मजासम्म सबमा रसयानकै करामत छ । अर्थात ‘लभ इज केमेष्ट्री’ ।

लभ केमेष्ट्री

युरोपका मनोचिकित्सक डोरोथी टेनायले केही वर्ष पहिलो ४ सय मानिसमा एक अध्ययन गरेका थिए । ‘पहिलो प्रेम’का बेला कस्तो अनुभव हुन्छ भन्ने उनको अनुसन्धानको विषय थियो । ति मानिसहरुको मनोवैज्ञानिक अवस्थाको अध्ययनबाट के पत्ता लाग्यो भने प्रेममा परेका बेला प्रेमी प्रेमिका अर्कैै संसारमा बाँचीरहेका हुन्छन् ।

कुनै पनि तन्नेरी युवक र युवतीलाई सुरुमा विपरीत लिंगीप्रतिको आकर्षणले नै आपसमा नजिक ल्याउँछ । यसलाई सामान्य भाषामा ‘यौन आकर्षण’ र शालीन भाषामा ‘वासना’ भन्न सकिन्छ । केटा र केटीमा वासना जगाउने भूमिका उनीहरुको शरीरमा उत्पादन भइरहेको हर्मोनले गर्छ । केटालाई ‘टेस्टोस्टेरोन’ र केटीलाई ‘इस्ट्रोजेन’ हर्मोनले खपीनसक्नु बनाउँछ ।

कुसुम भट्टराई

विपरीत लिंगीप्रतिको आकर्षण बढ्दै गएपछि उनीहरुको मष्तिष्कमा ‘अक्सिटोसिन’ नामक रसायन श्राव हुन थाल्छ र त्यसले दुबैलाई एक आपसको नजिक आउन उत्प्रेरित गर्छ । केटा र केटी नजिक हुन्छन् । ‘अक्सिटोसिन’ यस्तो रसायन हो, जसले मान्छेमा मात्र हैन, अन्य प्राणीमा पनि प्रेम भाव जगाएको वैज्ञानिक सोधबाट पुष्टि भइसकेको छ ।

चार वर्षअघि अस्ट्रेलियाको मेलबर्नस्थित मोनास बिश्वविद्यालयका सोधकर्ताहरुले केही कुकुरहरुमा अतिरिक्त मात्रामा अक्सिटोसिन रसायन इन्जेक्ट गरेर तिनीहरुको आनीबानीको अध्ययन गरेका थिए । एनिमल कग्निशन नामक पत्रिकामा प्रकाशित सोधमा के पाइयो भने अक्सिटोसनको अतिरिक्त मात्राले ति कुकुरहरु प्रेममय भए, उनीहरुमा बफादारिता झन बढी देखियो । उनीहरुले आफ्ना मालिकहरुप्रति झन बढी प्रेम दर्शाए । मुख्य सोधकर्ता जेसिका ओलिभाका अनुसार अक्सिटोसिन हर्मोनले अन्य जनावरहरुवीचको आपसी सम्बन्धलाई समेत सुमधुर बनाउँदोरहेछ ।

‘अक्सीटोसिन’ले कुकुरमा त यस्तो प्रभाव पार्छ भने मान्छेमा त झन घनिभूत प्रभाव हुने नै भयो । यही रसायनले केटाकेटीलाई नजिक ल्याइसकेपछि उनीहरुको मश्तीष्कमा ‘वेसोप्रोसिन’ नामक रसायन प्रवाहित हुन्छ । यो रसायनले उनीहरुवीच लगाव बढाइदिन्छ । उनीहरु एक अर्काको शरीरलाई छुने, हात समातेर औलाहरु खेलाउने, अंकमाल गर्ने, अँठयाउने गतिविधि गर्न थाल्छन् । एकअर्काबाट छुट्टनि नपरे हुन्थ्यो भन्ने भाव दुबैमा जाग्छ । अर्थात सँगै हुँदा रमाउने र अलग हुँदा खिन्न हुने अवस्था देखापर्छ । यही अवस्थालाई दुबैले आफुहरुवीच ‘प्रेम भएको’ ठान्छन् ।

अब सुरु हुन्छ, डेटिङको सिलसिला

केटा र केटीवीच आपसमा भेटघाट हुनासाथ उनीहरुको मष्तिस्कमा ‘फिनाइल इथाइल एमाइन’ नामक रसायन प्रवाह हुन थाल्छ, जसलाई ‘लभ केमिकल’ पनि भन्ने गरिएको छ । यो रसायनका कारण दुबैको शरीर हुँडुलिएर आउँछ । दुबैले आपसमा तिब्र लगाव महसुस गर्छन् र एक खालको उर्जा जाग्छ । यही रसायनका कारण प्रेममा परेका मानिसहरु राती एक्लै ओछयानमा बर्बराउँछन् । टाढा रहेको प्यारासँग एक्लै बात मार्नु पनि यही रसायनको करामत हो । भ्यालेन्टाइन डेमा चकलेट उपहार दिने जोडीलाइ चलाख मान्नुपर्ने हुन्छ, किनकि फिनाइल इथाइल एमाइनको एउटा राम्रो श्रोत चकलेट पनि हो ।

केटा र केटीको जब भेट हुन्छ, तब दुबैको हृदयको धडकन बढन थाल्छ । यसको कारण चाहिँ ‘नोरेपिनफ्राइन’ नामक रसायन हो । यो रसायनले ‘एड्रेरनालाइन’ नामक हर्मोनलाई उत्तेजित गर्छ, जसले दुबैको रक्तचाप बढाउँछ, हातमा पसीना आउन थाल्छ र मुटुको धडकन बढन थाल्छ ।

यो एउटा अदभूत क्षण हो । मिलनको क्षण । यदि यो क्षण नितान्त एकान्तमा घटित भइरहेको छ भने त्यो बिलकुल आनन्ददायक हुन्छ ।

अब केटा र केटीवीच प्रेमालापको चरण सुरु हुन्छ । उनीहरुले एक अर्कालाई अंकमाल गरेर चुम्बन गर्न थाल्छन् । किनकि, ‘नोरेपीनफ्राइन’ रसायनको प्रभाव स्वरुप मश्तीष्कमा एक न्यूरोकेमिकल ‘डोपामाइन’ पनि पैदा हुन्छ, जसले मनमा खुशी र आनन्द भाव जगाउँछ । प्रेमानन्द त्यही डोपामाइनको असर हो ।

महिलाको शरीरमा सन्तान जन्माउँदा र बच्चालाई दूध पिलाउँदा यही रसायनको मात्रा अत्याधिक उत्पन्न भइरहेको हुन्छ । यही कारण प्रसव बेदनापछि सन्तान काखमा लिइरहदा आमाको मुहारमा आनन्द भाव छाइरहेको हुन्छ ।  प्रेम, सेक्स या मातृ वात्सल्यलाई एउटै भावसँग जोडेर प|mायडले पनि व्याख्या गरेका छन् । प|mायडले त बच्चाको स्तनपानको आनन्दलाई पनि सेक्स सन्तुष्िटकै कोटीमा राखेका छन्, जुन डोपामाइन रसायनकै करामत हो ।

केटा र केटीवीच आपसमा भेटघाट हुनासाथ उनीहरुको मष्तिस्कमा ‘फिनाइल इथाइल एमाइन’ नामक रसायन प्रवाह हुन थाल्छ, जसलाई ‘लभ केमिकल’ पनि भन्ने गरिएको छ ।

आफैभित्र प्रेम रस

यसबाट के स्पष्ट हुन्छ भने प्रेम एउटा भाव हो । आनन्दको एउटा यस्तो भाव हो, जसलाई हामीले प्रेम भन्दै आयौं । मष्तिस्कको एउटा यस्तो अवस्था हो, जुन मष्तिस्कभित्रै घटित हुन्छ । अर्थात प्रेमको रस कतै बाहिर छैन ।

हो, हामीभित्र डोपामाइनसम्मका रसायनहरु उत्पन्न र उत्तेजित गराउन प्रेमिका या प्रेमीको भूमिका रहन्छ होला, तर आध्यात्मिक गुरुहरुका अनुसार कुनै साथीबिना पनि हामी प्रेमको त्यो आनन्द भाव महसुस गर्न सक्छौं । ‘डोपामाइन’, ‘अक्सिटोसिन’ र ‘फिनाइल इथाइल एमाइन’ रसायनलाई हरक्षण जागृत गराएर हामी हरक्षण प्रेमल भावमा रमाउन सक्छौं । यसका लागि केटालाई केटी या केटीलाई केटा नै चाहिँदैन ।

अब कसरी आफुभित्रैको त्यो प्रेम रसको मुल फुटाउने ? यसका लागि हामीले प्राकृतिक श्रोत र विधिबाट शरीरमा खुशी, आनन्द र प्रेम भाव जगाउन सक्छौं । जस्तै, अलमोन्ड, केरा, बिटरुट-चुकन्दर), हरिया तरकारी, गि्रन टि, फर्सीको बियाँ, खरबुजा, ओखरको घाँजी, रेड वाइन, बेसार र बदाम आदि चिजहरु डोपामाइनका स्रोत हुन् ।

यिनमा पनि डोपामाइनको सबैभन्दा ठूलो श्रोत केरा नै हो । दिनमा एउटा मात्र केरा नियमित रुपमा खाने हो भने पनि हाम्रो मन सदा प्रेमल रहन सक्छ । कसैले तपाईलाई ‘आइलभयू’ भन्नै पर्दैन । यसैगरी शारीरिक व्यायाम र सूर्य स्नानबाट पनि हाम्रो शरीरमा डोपामाइन रिलिज हुन्छ । फोटोग्राफी, चित्रकला, संगीत, घरेलु सिर्जनात्मक काम गरेर पनि डोपामाइन लेभल बुस्ट गर्नसक्छौं ।

र, पाश्चात्य वैज्ञानिकहरुले पनि मानेको तथ्य के हो भने, ध्यानले डोपामाइन रसायनलाई झन सन्तुलन राख्छ । अर्थात मानिसलाई प्रेमल मात्र बनाउँदैन, करुणामयी पनि बनाउँछ । यही कारण, ध्यानमार्गबाटै भगवान बुद्ध प्रेम र करुणाका ज्योती भए । ओशोले प्रेमकै गीत गाए । मीराले प्रेमकै भजन गाइन् । कृष्णले प्रेमकै रास रचाए । देवकोटाले प्रेमको आत्मीक मिलनकै दियो बाली ‘मुनामदन’ लेखे । अनि राष्ट्रकवि माधव घिमिरेले लेखे,

‘आई कहिल्यै पनि नसकिने चैत वैशाख मेरा

लाई कहिल्यै पनि नसकिने पि्रत नौलाख मेरा’

(विभिन्न श्रोतमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment