जीवनको पहिलो प्रेम जहिल्यै पनि यादगार हुन्छ । यद्यपि आलोकाचो उमेरमै हुने भएकाले अधिकांसको हकमा पहिलो प्रेम सफल भने हुँदैन ।
प्राय मानिसहरु स्कुले जीवनमा पहिलोपटक प्रेममा पर्छन्, जब उनीहरुलाई कुर्कुरे बैंशले छुन थाल्छ । यही बेला हो एउटा हेराहेरमै प्रेम बसेको महसुस गर्छन् किशोरकिशोरीहरु । त्यो ‘प्रेम’ पछि सम्झिँदा हाँसो उठ्छ ।
हामीले केही कलाकारलाई उनीहरुको जीवनको यस्तै पहिलो प्रेम सम्झिनलाई भनेका छौं । पढौं कस्तो रहेछ उनीहरुको पहिले प्रेम ?
उनले पैसा दिइन्, म भुतुक्कै: विल्सन विक्रम राई
मभन्दा एक वर्ष सिनियर दिदी थिइन् । उनी मलाई असाध्यै राम्री लाग्थिन् । कक्षा ३ मा पढ्दा नै मलाई उनी मन पर्न थालेकी थिइन् । क्लास रुममा, स्कुलमा खेल्दा र क्यान्टिनमा जाँदा पुलुक्क हेर्थें । उनले वास्तै गर्दिन थिइन् ।
स्कुलको क्यान्टिन निकै सानो थियो । भिड हुन्थ्यो । चिया दुनोट, बिस्कुट, केक पाइन्थ्यो । केटाहरु भिडमा ठेलमठेल गरेर किन्न जान्थे । केटीहरु अलि अप्ठयारो मान्थे ।
एक दिन म क्यान्टिन छेउमा थिएँ । उनी टेबुलमा बसिरहेकी रहिछन् । मलाई पाँच रुपैंया दिइन् र भनिन् ‘मलाई एउटा दुनोट किनेर ल्याइदेउ न ।’ त्यत्तिले म भुत्तुकै भएँ ।
त्यो क्षणको खुसी म शब्दमा ब्यक्त गर्न सक्दिनँ । मैले संसार जिते जस्तै ठानेको थिएँ । लाग्छ म त्यति खुसी पहिलो पटक भएको हुँ ।
दुनोट लगेर दिएपछि उनी हल्का मुस्कुराईन् । मैले पनि एक मुस्कान छाडेँ । मभन्दा एक कक्षा सिनियर भए पनि उनी मेरै उमेरकी थिइन् । उनले कहिल्यै मलाई भाई भनिनन् र मैले पनि दिदी भनिनँ । पछि मेरो स्कुल चेञ्ज भयो । नयाँ स्कुलमा गएपछि केही दिन याद आयो तर, कक्षाले थिच्दै गएपछि बिर्सदै गएँ ।
हेराहेरमै ‘प्रेम’ भयो: प्रियंका कार्की
सात कक्षामा पढ्दा हुनुपर्छ । एकजना केटासँग मेरो प्रेम भएको थियो । त्यतिवेला प्रेम के हो राम्रोसँग थाह थिएन । आँखा जुध्यो भने वा एकछिन हेराहेर भयो भने प्रेम भएको मान्ने चलन थियो ।
त्यसरी हेराहेर भएपछि साथीहरुले यीनीहरुको लभ परेको छ भन्दिन्थे । अनि त हो जस्तै लाग्थ्यो । अहिले सम्झँदा लाग्छ त्यो खासमा प्रेम नभएर एकखालको हेराहेर मात्रै थियो । तर, पनि कहिलेकाँही सम्झिंदा लाग्छ । पहिलो प्रेम त्यहि थियो ।
जन्ती जाँदा उनलाई पहिलोपटक देखें: केदार घिमिरे
साँच्चै भन्ने हो भने मेरो पहिलो प्रेम आफ्नै श्रीमतीसँग भएको हो ।
ठुलीआमाको छोरोको बिहेमा जन्ती गएको थिएँ । ३/४ केटीहरु बेहुला सिंगार्दै रहेछन् । एक जना साथीले भन्यो ‘उ त्यही हो केटी हेर ।’ मैले यसो झुलुक्क हेरेँ । उनले पनि हेरिन् । हेराहेरमै कुरो सकियो ।
पछि घरमा कुराकानी भयो । दुबै तर्फ परिवारमा सहमति भएपछि हाम्रो बिहे हुने कुरा भयो । हामी टिकाटालोका लागि गयौं । टिकाटालो भयो । हामीलाई एकै ठाउँमा राखेर ससुरावाले टिका लगाइदिनु भयो । बातचित केही भएन ।
जब टिकाटालो सकेर घर आएँ ब्यापक याद आउन थाल्यो । भात खाएपछि उनले खाईन् कि खाइनन् होला । केही विसन्चो भयो कि यस्तै यस्तै कुरा मनमा आइरहन्थ्यो । त्यतिवेला अहिले जस्तो मोबाइल थिएन । कुरा गर्न प्राय असम्भव थियो ।
हाम्रो टिकाटालो फागुन १० मा भएको थियो । बिहे १८ गते भयो । विचमा एकचोटी भेट भयो, लुगा नाप्नका लागि । मंगलबजार बोलाइएको थियो । म गएँ । उनी पनि आएकी रहिछन् । ससुराबा पनि संगै भएकाले खासै कुरा भएन । सञ्चो-बिसञ्चो मात्रै सोधेँ । हाम्रो भ्यालेन्टाइनमा खास उत्सब मनाउने चलन छैन ।
पहिलो प्रेम श्रीमतिसँगै: कालीप्रसाद बास्कोटा
स्कुल-कलेज पढ्दा मेरो खास क्रस भएन । म बढी पढाइमै केन्दि्रत थिएँ । पारिवारिक सहमतिमा २४ वर्षमै बिहे भयो । आफ्नै साथीको बहिनीसँग मेरो बिहे भएको थियो ।
हामी दुबैले एक अर्कालाई पहिल्यैदेखि चिनेका थियौं । टिकाटालो पछि भने एकखालको अट्याचमेन्ट हुँदो रहेछ । बिहेअघि एक दुइपटक घुम्न गयौं । तर, त्यस्तो उल्लेखै गर्नुपर्ने घटना खास भएन ।
प्रतिक्रिया 4