Comments Add Comment

मुख्यमन्त्री दम्पत्तिदेखि सभामुखको सपथसम्म, हेर्नुस् ९ तस्वीर

२ फागुन, काठमाडौं । देश संघीयतामा गइसकेपछि काठमाडौं भन्दा प्रदेशहरुमा राजनीतिक चहल-पहल बढेको छ । बुधबार एकैदिन प्रदेश १, २ र ५ मा मुख्यमन्त्री नियुक्तिदेखि सभामुखको चयनसम्मका गतिविधि भए । आजै नियुक्त भएका मुख्यमन्त्रीले मेलाको उदघाटनसमेत गर्न भ्याए ।

हालसम्म ५ वटा प्रदेशले मुख्यमन्त्री पाइसकेका छन् । दुईवटा प्रदेशले अझैसम्म मुख्यमन्त्री पाउन सकेका छैनन् । प्रदेश १, २, ३, ४ र ५ मा मुख्यमन्त्रीहरुको नियुक्ति भइसकेको छ ।

माओवादीको भागमा परेका प्रदेश ६ र ७ मा मुख्यमन्त्री नियुक्त हुन बाँकी छ ।

प्रदेश १, ३, ४ र ५ मा एमालेले चार जना मुख्यमन्त्री बनाएको छ । प्रदेश २ मा फोरमले मुख्यमन्त्री बनाएको छ । निर्वाचनमा हारेपछि नेपाली कांग्रेसले भने कुनै पनि प्रदेशमा मुख्यमन्त्री र सभामुख बनाउन सकेन ।

बुधबार एकैदिन चारवटा प्रदेशमा भएका राजनीतिक गतिविधिलाई समेटेर हामीले केही तस्वीर प्रस्तुत गरेका छौंः


बुधबार प्रदेश १ का प्रदेश प्रमुख गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । विहीबार मुख्यमन्त्री र मन्त्रीहरुको सपथ ग्रहणका साथै उपसभामुखको चयन गर्ने कार्यक्रम छ । सभामुखमा एमालेका प्रदीप भण्डारी नियुक्त भइसकेका छन् भने उपसभामुखमा बुधबार माओवादीबाट सरस्वती पोखरेलको एकल उम्मदेवारी परेको छ ।


प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । साथै बुधबार नै राजपाका सरोजकुमार यादवको सपथ ग्रहण सम्पन्न भएको छ ।

प्रदेश प्रमुखले नेपालीमा र सभामुखले हिन्दीमा सपथ खुवाउने/खाने काम गरेका छन् । प्रदेश २ का मुख्यमन्त्रीको सपथग्रहण विहीबार हुनेछ । उपसभामुखको उम्मदेवारी दर्ता पनि विहीबार नै हुनेछ ।

बुधबार प्रदेश ५ मा पनि मुख्यमन्त्रीको चयन र सभामुखको सिपथ ग्रहण सम्पन्न भएको छ । एमाले नेता शंकर पोखरेल मुख्यमन्त्रीमा चयन भएका छन् भने माओवादीका पूर्ण घर्तीले सभामुखको सपथ लिएका छन् । विहीबार प्रदेश ५ मा मुख्यमन्त्रीको सपथ ग्रहण र मन्त्रिपरिषद विस्तार हुनेछ ।


प्रदेश ५ मा मुख्यमन्त्री चयनका बेला एमाले नेता पोखरेल पत्नी एवं प्रतिनिधिसभाकी सांसद सुजिता शाक्यका साथ उपस्थित भएका थिए । सभामुखको सपथ ग्रहण कार्यक्रममा सांसदहरुको बाक्लो उपस्थिति थियो ।


प्रदेशको मुख्यमन्त्री नियुक्त हुनासाथ पोखरेलले सार्वजनिक कार्यक्रममा सहभागी भई उदघाटन र भाषण समेत गर्न भ्याए । मुख्यमन्त्री पोखरेलले बुधबार बुटवलमा क्यान मेलाको उदघाटन गरे ।

प्रदेश ५ को झकीझकाउ संसद सचिवालय तथा प्रदेश कार्यालय

कैलालीको धनगढीस्थित प्रदेश ७ को प्रदेश प्रमुखको कार्यालय । प्रदेश ७ ले अझैसम्म मुख्यमन्त्री पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment