+
+
Shares

‘सिरुमा रानी’सँगै पोखरामा नियमित नाटक मञ्चन

 सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ फागुन ३ गते १६:२२


पोखरामा बिहीबारदेखि नियमित नाटक मञ्चन हुने भएको छ । प्रदेश नम्बर ४ को पहिलो नाटकघर गन्धर्व थिएटर सञ्चालनमा आएसँगै नियमित नाटक मञ्चन शुरु हुन लागेको हो । यो सँगै थिएटरमा नाटक हेर्ने पोखरेलीको दशकौं अघिदेखिको सपना पूरा भएको छ ।

पोखरामा ‘सिरुमा रानी’ नाटकबाट नियमित प्रदर्शन शुरु भएको थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए । उनका अनुसार ‘सिरुमा रानी’ नाटक १५ दिन मञ्चन हुनेछ । त्यसपछि लगातार अन्य नाटकहरु मञ्चन गरिने उनले बताए । दैनिक अपराहृन पौने ५ बजेदेखि नाटक मञ्चन हुने उनले जानकारी दिए । शनिबार र विदाको दिन भने दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ ।

नाटक मञ्चन शुरु हुनुअघि प्रतिनिधिसभाका सांसद रवीन्द्र अधिकारी र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले संयुक्त रुपमा नाटक घरको उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै उनीहरुले पोखरामै थिएटर बनेर त्यसको उद्घाटन गर्न पाउनु आफूहरुको अहोभाग्य भएको बताए ।

रंगकर्मीहरु परिवर्तन कार्की, दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको संयुक्त लगानीमा थिएटर निर्माण गरिएको हो । पोखरा थिएटरद्वारा सञ्चालित ‘गन्धर्व थियटर’ ८० लाख लगानीमा बनाइएको थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

सरुभक्तको लेखन, सोमनाथ खनालको निर्देशन र पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीको संयोजनमा नाटक मञ्चन हुने जनाइएको छ ।

नाटक ‘सिरुमा रानी’मा पुराना पोखरेली कलाकारदेखि नव कलाकारसम्मले अभिनय गरेका छन् । पुराना कलाकारहरु प्रकाश घिमिरे र माओत्से गुरुङले यही नाटकबाट पोखरेली नाट्य मञ्चमा पुनरागमन गर्दैछन् ।

वरिष्ठ वाद्यबादक धनबहादुर गायकको बाजाको धुनमा मञ्चन हुने नाटकमा परिचित अनुहार विष्णु गौतम, दिल गुरुङ, रमेशबाबु तिमिल्सिनादेखि नव कलाकार अञ्जु दाहाल, लक्ष्मण डुम्रे, बविता मल्ल, प्रसुना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनय रहेको परिवर्तनले जानकारी दिए ।

नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट दर तोकिएको छ । विद्यार्थीको हकमा भने एक सय दरको टिकट लाग्ने पोखरा थिएटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?