+
+

‘महासत्व’ : मृत्युसँग लडिरहेकी बघेनीलाई शरीर दान गर्ने राजकुमार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते १४:३०

२ माघ, काठमाडौं । सांस्कृतिक तथा पौराणिक कथावस्तुमा तयार पारिएको नाटक ‘महासत्त्व’ कौशी थिएटरमा मञ्चन भइरहेको छ ।

गत पुस २५ गते बिहीबारदेखि मञ्चन भएको नाटकले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको उक्त नाटकमा अभिनय गरिरहेका किरण चापागाईं बताउँछन् ।

टेकुस्थित कौशी थिएटरमा वज्र कला कुञ्जले मञ्चन गरेको नाटक विशेषत नमो:बुद्धको स्थापना र शाक्यमुनि बुद्धको जन्मको कथामा आधारित छ ।

तत्कालीन पाञ्चाल र हालको पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छा राजकुमार थिए, महासत्त्व ।

पाञ्चाल राज्यमा हुन लागेको महापूजाको लागि अश्वेत फूल खोज्न सैनिकसहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रहालद र महादेव जंगल गएपछि भोकाएकी बघिनीसँग उनीहरुको भेट हुन्छ ।

शिकार गर्न नसक्ने अवस्थामा आफ्ना ५ वटा डमरूसहित मृत्युसँग लडिरहेकी बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीर दान दिएर बचाउँछन् ।

यसरी महादान दिएका राजकुमारको त्यही मृत्यु हुन्छ र कालान्तरमा उनी शाक्यमुनी बुद्ध भएर जन्मिन्छन् । उनले शरीर दान दिएर मृत्युवरण गरेको क्षेत्र नमो:बुद्धको नामले प्रसिद्ध हुन्छ। यसै विषयलाई उक्त नाटकमा विशेष रुपमा समेटिएको छ ।

चन्द्रमान मुनिकारको कथा, परिकल्पना तथा निर्देशनमा बनेको नाटकलाई इङ्गी होपो कोइच सुनुवारले नाट्य रूपान्तरण गरेका छन् ।

बौद्ध धर्मको नौ वटा ग्रन्थमध्ये सुवर्णप्रभासुत्रम शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वको प्रसङ्ग निकालिएको निर्देशक मुनिकार बताउँछन् ।

मुनिकारका अनुसार करिब ६ महिनाको अध्ययन, अनुसन्धान र बौद्ध धर्मका विद्वानसँगको परामर्शपछि यो नाटक तयार पारिएको हो ।

माघ ५ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु सुदन मान मुनिकार, सङ्गीता थापा मगर, युवाहाङ राई, स्मृति श्रेष्ठ, विशाल पुलामी, खुशी सुनुवार, सचिन लामा, सुमित्रा पेहीम, किरण चापागाईं, पुनम लक्ष्मी मगर र प्रेम चन्द पाण्डेको अभिनय रहेको छ ।

नाटक ‘महासत्व’ हरेक दिन साँझ ५:१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?