Comments Add Comment

प्रेस रिभ्यूः कालो धनलाई छुट नदिने ओलीको प्रतिबद्धता

ओलीलाई १७४ सांसद्को समर्थन, पहिलो शुभकामना बंगलादेशबाट

४ फागुन, काठमाडौं । आज शुक्रबार, राजधानीबाट प्रकाशित सबै राट्रिय दैनिक पत्रिकाले एमाले अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई मुख्य समाचार बनाएका छन् । पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर प्रधानमन्त्री ओलीका आरोह–अवरोहसँगै उनका अबका अवसर र चुनौती केलाएका छन् ।

प्रधानमन्त्री ओलीले पदभार सम्हालेलगत्तै घोषणा गरेको ५ बुँदे कार्यक्रम आफ्नो पहिलो पृष्ठमा समेटेका पत्रपत्रिकाहरुले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा सफल भए पनि सुशासनमा विफल भएको समीक्षा गरेका छन् ।

ओली माओवादीको समर्थनमा प्रधानमन्त्री बने पनि तत्काल सरकारमा नजाने भएको छ । माओवादी एकता टुंगिएपछि मात्रै सरकारमा जाने मनस्थितिमा पुगेको समाचारलाई  आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् । एमाले–माओवादी एकता टुंगिनै लाग्दा पदीय भागबण्डा र वैचारिक विषय पेचिलो बनेको छ ।

यसका अतिरिक्त राष्ट्रपतिको चुनाव फागुन २१ गते गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको, प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्री नियुक्त भएसँगै सातै प्रदेशले मुख्यमन्त्री पाएको लगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले उत्तिकै महत्त्व दिएर छापेका छन् ।

ओलीलाई १७४ सांसद्को समर्थन, पहिलो शुभकामना बंगलादेशबाट

‘सिंहदरबार फर्किए केपी ओली’ शीर्षक दिएर व्यानर समाचार लेखेको नयाँ पत्रिका दैनिकले माओवादीले अविश्वास प्रस्ताव ल्याएपछि राजीनामा दिएका ओली माओवादीकै समर्थनमा १८ महिनापछि सिंहदरबारमा फर्किएको लेखेको छ ।

समाचार अनुसार ओलीलाई एमालेका १२१ र माओवादी केन्द्रका ५३ सहित १७४ सांसद्को समर्थन छ ।

ओलीलाई बधाई तथा शुभकामना दिने पहिलो राष्ट्र बंगलादेश बनेको छ । नयाँ पत्रिकाका अनुसार उसले नवनियुक्त प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो समेत दिएको छ ।

भारतीय र चिनियाँ राजदूतले राष्ट्रपति निवासमा आयोजित शपथग्रहणमै शुभकामना दिए भने अमेरिकी राजदूतले ट्वीटरमार्फत दिएका छन् ।

राष्ट्रियसभाको नियुक्ति लगभग अमान्य

नयाँ पत्रिका दैनिकका अनुसार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा सदस्यका लागि मनोनयन गरेको तीन सदस्य लगभग अमान्य भएको छ ।

यसलाई राष्ट्रपतिले स्वीकृत नगरेकाले ओली नेतृत्वको सरकारले नयाँ नाम पठाउने सम्भावना छ ।

प्रधानमन्त्रीको २११ वर्षे इतिहासः ३८ औं व्यक्ति, ६२ औं प्रधानमन्त्री


नयाँ पत्रिकाले प्रधानमन्त्रीको इतिहास केलाएको छ ।

समाचार अनुसार नेपालको राजनीतिक इतिहासले भीमसेन थापालाई पहिलो प्रधानमन्त्री मान्दछ । उनी वि.सं. १८६३ मा मुख्तियार (अहिलेको प्रधानमन्त्री सरह) को पदमा नियुक्त भएका थिए । त्यसयता वि.सं. १९०३ सम्म ६ जना प्रधानमन्त्री भएका थिए । १९०३ मा जंगबहादुर प्रधानमन्त्री भएपछि १०४ वर्षीय राणा शासनमा थप नौजना प्रधानमन्त्री भए । ००७ मा प्रजातन्त्र स्थापना भएपछि ०४६ सम्म १२ जना प्रधानमन्त्री भए । ०४६ यता १० जना प्रधानमन्त्री भइसकेका छन् । यसरी जम्मा ३८ जना प्रधानमन्त्री भए पनि पटकपटक दोहोरिँदा ६२ पटक शपथ लिएका छन् । यसरी ओली प्रधानमन्त्रीको कुर्सीमा बस्ने ३८ औं व्यक्ति र ६२ औं सरकार प्रमुख भएको नयाँ पत्रिकामा उल्लेख छ ।

कालो धनलाई छुट दिन्नँः ओली

प्रधानमन्त्री ओलीले नेपालभित्र वैधानिक रुपमा लकेर बसेको पुँजीलाई परिचालन गर्ने भन्ने कुरालाई कालोधनलाई छुट दिने भन्ने अर्थमा नबुझ्न आग्रह गरेका छन् ।

कान्तिपुर दैनिकका अनुसार अन्तर्राष्ट्रिय सम्झौता र कानुनविपरीतका कुनै काम हुन नदिन सरकारको ध्यान केन्द्रित हुने उनले बताएका छन् ।

कान्तिपुरका अनुसार, हतियार कारोबार, मानव बेचबिखन, लागूऔषधलगायतबाट रकम आर्जन गर्ने, समाजको शान्ति सुरक्षा खल्बल्याउने लगायतका कामलाई सरकारले कुनै हालतमा कारबाहीमा दायरामा ल्याउने दृढता पनि प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

देउवाले आजै बालुवाटार छाड्ने


बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले शुक्रबार नै सरकारी निवास बालुवाटार छाड्ने तयारी गरेका छन् ।

नयाँ पत्रिका दैनिकका अनुसार उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् ।

कर्मचारी नहुँदा फर्किए मन्त्री

अन्नपूर्ण पोस्ट दैनिकले कर्मचारी नभएपछि प्रदेश मन्त्री फर्किएको समाचार छापेको छ ।

समाचार अनुसार मन्त्रालय, भवन र निवासको प्रबन्ध मिलाएलगत्तै प्रदेश ३ का कर्मचारीलाई गाडी खोज्ने चटारो परेको छ । तत्काल ५८ वटा सवारी आवश्यक भए पनि हालसम्म आधादर्जन थोत्रा सवारीसाधन मात्र जम्मा भएका छन् ।

सवारीसाधनसँगै प्रदेश ३ मा कर्मचारी अभावले आन्तरिक काम प्रभावित भएका छन् । भौतिक पूर्वाधारमन्त्री केशव स्थापित कर्मचारी नभएपछि मन्त्रिपरिषद् कायाृलयमा पदबहाली गरी काठमाडौं फर्किएका छन् ।

समाचार अनुसार सचिवसहित २४ जनाको दरबन्दी रहेको उक्त मन्त्रालयमा बुधबार साँझसम्म एकजना कर्मचारी पनि आइनपुगेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले काम थाले


प्रदेश सरकारले मुख्यमन्त्री पाएपछि धमाधम काम थालेका छन् ।

नागरिक दैनिकका अनुसार प्रदेश १ को बिहीबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले शहीदहरुको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमूना वस्ती निर्माण गर्ने निर्णय लिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि पद तथा गोपनीयताको शपथ लिएर काम थालेका छन् ।

सातवटै प्रदेशले मुख्यमन्त्री पाइसकेकाले अब प्रदेश सरकारले गति लिने देखिएको छ ।

कपाल खौरिदिने आमै


राजधानीका आधुनिक सैलुनमा युवतीहरुले पुरुषको कपाल काट्न थालेको धेरै भएको छैन । तर भक्तपुर नागपोखरीकी ७७ वर्षीया देवलक्ष्मी नापितले भने विगत ६ दशकदेखि पुरुषको कपाल र दारी खौरँदै आएको रोचक सामग्री आजको नागरिक दैनिकको काष्ठमण्डपमा छ ।

स्थानीय पोर्टर स्क्वायरको नापित समुदायमा जन्मेकी देवलक्ष्मीले बाल्यकालदेखि नै कपाल काट्ने काम सुरु गरेकी हुन् । उनी काम गर्न सक्ने भएदेखि नै बाबुआमालाई सघाउँदै आइरहेको बताउँछिन् ि।

नापित पहिले पहिले धान लिएर कपाल काट्ने गर्थिन् । अचेल भने भक्तपुरमा कृषियोग्य जमिन र किसानको संख्या घटेको छ । त्यसैले गर्दा उनी पैसा लिएरै कपाल काट्छिन् ।

पहिले एक जनाको वर्षभरि कपाल काटेको उनी १ पाथी धान ज्याला लिन्थिन् । अहिले प्रतिटाउको ५० रुपैयाँ ज्याला लिने गरेकी छन् । उनी हरेक दिन घरनजिकैको पार्टीमा बसेर कपाल खौरन्छिन् ।

र, यो पनि– केबुलकार राख्न १० रुपैयाँ

कान्तिपुर दैनिकले डोटीको खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको समाचार लेखेको छ ।

अभियानमा बालबालिकादेखि वृद्धवृद्धाले सहयोग गर्ने क्रम बढ्दै गएको छ ।

दीपायल सिलगढी नगरपालिका ४ का वडाध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वीरेन्द्र शाहले आइतबारबाट सुरु भएको प्रादेशिक महोत्सवको उदघाटन सत्रमा अभियान सुरु गरेका हुन् ।

आइतबारबाट अभियान सुरु गरिए पनि एउटा खुत्रुके भरिएको छ । यो अभियानलाई प्रत्यक गाउँ, सहर र बजारमा लगेर सफल पार्ने अभियान दीपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment