Comments Add Comment

प्रदेश कमिटीसँग समन्वय गर्न डोरमणिलाई अष्टलक्ष्मीको निर्देशन

प्रदेश सरकारको नीति तथा कार्यक्रम तयार गर्न विज्ञहरुसँग छलफल

४ फागुन, काठमाडौं । एमाले उपाध्यक्ष तथा ३ नम्बर प्रदेश कमिटी संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदेश कमिटीसँग समन्वय गरेर काम गर्न निर्देशन दिएकी छन् । प्रदेश कमिटीलाई उपेक्षा गरेर माथिल्ला नेताहरुको निर्देशन खोज्दै हिँड्नु नपर्ने उनले सुझाएकी छन् ।

प्रदेश कमिटी सचिवालय बैठकमा मुख्यमन्त्री पौडेललाई बोलाएर उनले प्रतिस्पर्धामा जितहार स्वभाविक भएको भन्दै आफूले प्रदेश संयोजकको हैसियतबाट पूरा सहयोग गर्ने आश्वासनसमेत दिएकी छन् ।

संसदीय दलको नेतामा पौडेलसँग शाक्य पराजित भएकी थिइन् ।

मुख्यमन्त्री पौडेलले आफू पार्टीसँग समन्वय गरेरै काम गर्ने पक्षमा रहेको बताएका थिए । प्रदेश कमिटीले प्रदेश सरकारको नीति तथा कार्यक्रम तय गर्न विज्ञहरुसहित छलफल गर्न लागेको शाक्यले बताइन् । सबै जिल्लाहरुबाट राय लिएर विज्ञको सुझावसहित प्रदेश सरकारको तत्कालिन र दीर्घकालिन नीति कार्यक्रम बनाइने उनले जानकारी दिइन् ।

मन्त्रिपरिषद बिस्तारलगायतका निर्णयमा पनि पार्टीको प्रदेश कमिटीसँग समन्वय गर्न पौडेलमाथि दबाव परेको छ । प्रदेश सरकारको मन्त्रीमा  पोलिटव्यूरो सदस्यहरु पशुपति चौलागाईं, अरुण नेपाललगायतलाई समेट्नुपर्ने चाहना शाक्यको छ ।

यसैबीच एमालेको प्रदेश ३ कमिटीले प्रदेश कमिटी र प्रदेश सरकारको सम्बन्ध र समन्वय कस्तो हुने भन्ने सन्दर्भमा प्रस्ताव बनाएर स्थायी कमिटीमा पेश गर्न लागेको छ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा सांसदहरु प्रदेश कमिटीप्रति उत्तरदायी बनाउन प्रस्ताव लगिने संयोजक शाक्यले बताइन् ।

उनले भनिन्- प्रदेश कमिटी र प्रदेश सरकारबीच समन्वय हुनुपर्छ । कसरी समन्वय गर्ने भन्ने प्रस्ताव तयार हुँदैछ । त्यो प्रस्ताव स्थायी कमिटीमा लगेर पारित गर्नुर्पछ । राष्ट्रिय मुद्दा र दुई प्रदेशको विवादमा स्थायी कमिटीले समन्वय गर्ने हो । प्रदेशका अन्य गतिबिधि प्रदेश कमिटीमार्फत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment