Comments Add Comment

तेस्रो हेटौंडा गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

४ फागुन, हेटौंडा । हेटौंडामा शनिबार सुरु हुने तेस्रो हेटौंडा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको सबै तयारी पूरा भएको अयोजनकले जनाएको हो ।

फरेष्ट्री चौरमा हुने गोल्डकपको लागि चौर व्यवस्थापन, स्टेज निर्माण तथा प्याराफिट निर्माण लगायतको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए ।

गत बर्षका प्रतियोगितामा देखिएको दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै आयोकले यस वर्ष चौरको चारैतर्फ प्याराफिट निर्माण गरेको छ ।

अघिल्लो वर्ष ८ सय दर्शकले अटाउन सक्ने क्षमताको फलामको प्याराफिट बनाइएको थियो । यो सिजनका लागि २४ सय दर्शक बस्न मिल्ने गरी बाँसको प्याराफिट थप गरी निर्माण गरिएको छ ।

गएका दुई वटा प्रतियोगिताभन्दा यस वर्ष थप व्यवस्थित ढंगबाट काम गरिएको अध्यक्ष खड्गीले बताए ।

फागुन ५ गतेदेखि १२ गतेसम्म हुने प्रतियोगितामा ८ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफ भिड्ने छन् । प्रतियोगिताको दोस्रो दिन घरेलु टोली विजय युथ क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो । प्रतियोगितामा हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि ६० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानले जनाएको छ । भूकम्पमा मृत्यु भएका खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा प्रतिष्ठान गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment