Comments Add Comment

गोरखाबाट निर्वाचित १० सांसदमा बाबुरामबाहेक सबै नयाँ

५ फागुन, काठमाडौं । प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा गोरखाबाट निर्वाचित १० जना जनप्रतिनिधिमा डा. बाबुराम भट्टराईबाहेक सबै नयाँ चुनिएका छन् ।

गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन र माघ २४ गते भएको राष्ट्रियसभा निर्वाचनमा गोरखाबाट एमाले, कांग्रेस, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबाट गरी १० जना निर्वाचित भएकामा भट्टराईमात्र दोहोरिएका हुन् ।

गोरखाबाट राष्ट्रियसभामा १, प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ६ जना निर्वाचित भएका छन् । कांग्रेस, माओवादी र नयाँ शक्तिका ३/३ जना तथा नेकपा एमालेका १ जना निर्वाचित भएका छन् ।

कांग्रेसबाट राष्ट्रियसभामा सुरेन्द्रराज पाण्डे, प्रदेशसभामा प्रकाशचन्द्र दवाडी र मनकुमारी गुरुङ चुनिएका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा हरिराज अधिकारी, चुडामणि खड्का र प्रदेशसभामा लेखबहादुर थापा निर्वाचित भए ।

नयाँ शक्तिबाट प्रतिनिधिसभामा डा. बाबुराम भट्टराई र प्रदेशसभामा हरिशरण आचार्य र धनमाया पोखरेल लामा निर्वाचित भए । नेकपा एमालेबाट प्रदेशसभामा रामशरण बस्नेत निर्वाचित भएका छन् ।

निर्वाचितमध्ये नयाँ शक्तिका संयोजकसमेत रहेका  डा. भट्टराई २०६४ मा गोरखा २ र २०७० मा गोरखा १ बाट निर्वाचित भएका थिए । यसपटक उनी गोरखा २ बाट निर्वाचित भए ।

उनीबाहेक अरु जनप्रतिनिधि भने पहिलो पटक संसदमा पुगेका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचित कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे २०६४ सालमा समानुपातिक सूचीमा परे पनि सांसद बन्न सकेका थिएनन् । २०७० सालमा गोरखा २ बाट उम्मेदवार चयन भए पनि अन्तिममा महिला उम्मेदवार चाहिने भएपछि कांग्रेसले उनको नाम काटेको थियो ।

कांग्रेसबाट प्रदेशसभामा निर्वाचित प्रकाशचन्द्र दवाडी महासमिति सदस्य हुन् भने मनकुमारी गुरुङ महिला संघकी जिल्ला अध्यक्ष हुन्  ।

प्रतिनिधिसभामा माओवादीबाट चुनिएका हरिराज अधिकारी पार्टीको सचिवालय सदस्य र चुडामणि खड्का गोरखा जिल्ला इन्चार्ज हुन् । प्रदेशसभामा माओवादीबाट चुनिएका लेखबहादुर थापा गोरखा जिल्ला अध्यक्ष हुन् ।

नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा निर्वाचित हरिशरण आचार्य गोरखा क्षेत्र नम्बर २ का इन्चार्ज हुन्, भने धनमाया लामा जिल्ला अध्यक्ष रमेश पोखरेलकी पत्नी हुन् ।

त्यस्तै प्रदेशसभामा निर्वाचित एमालेका रामशरण बस्नेत २०५६ र २०७० सालको निर्वाचनमा गोरखा १ बाट पराजित भएका थिए । उनी एमालेका वैकल्पिक केन्द्रीय सदस्य हुन् ।

दोस्रो संविधानसभामा गोरखाबाट निर्वाचित माओवादी केन्द्रका हितराज पाण्डे समानुपातिक सूचीमा परे पनि सांसद चयन हुन सकेनन् । २०७० सालमै निर्वाचित माओवादीका कृष्ण धिताल, छमबहादुर गुरुङ यसवर्ष उम्मेदवार नै भएनन् । कांग्रेसका चीनकाजी श्रेष्ठ गोरखा १ बाट पराजित भए भने कमला पन्त समानुपातिकतर्फ उम्मेदवार भए पनि सांसद चयन हुन सकिनन् ।

पहिलो र दोस्रो संविधानसभामा नेपाल परिवार दलबाट निर्वाचित एकनाथ ढकाल यसपटक नेकपा एमालेको समानुपातिक सूचीमा रहे पनि सांसद हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment