Comments Add Comment

प्रहरी झुक्याउन गाँजा कारोबारी महिलाको अचम्मको नाटक


६ फागुन, वीरगञ्ज । प्रहरीले वीरगंज महानगरपालिका २८ बाट २८ किलो गाँजासहित ४० वर्षीया सावित्रीदेवी सहनीलाई पक्राउ गरेको छ । उनले प्रहरीलाई झुक्याउन नाटकीय ढंगले प्रस्तुत भएको प्रहरी बताउँछ ।

घटना विवरण अनुसार महिलाले घरमा गाँजा राखेको जानकारी पाएपछि प्रहरी टोली खानतलासीका लागि पुगेको थियो ।

तर महिलाले शुरुमा आफ्नो घरमा गाँजा नभएको भन्दै प्रहरीलाई घरमा पस्न नै दिइनन् । प्रहरी टोली हैरान भएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा घरमा पसेको थियो । घरभित्र पसेर सर्च गर्दा गाजा भेटिएन ।

अन्तमा प्रहरी सुत्केरी महिला राखिएको भनिएको ठाउँमा पुग्यो । तर त्यहाँ सुत्केरी महिला नभएर अर्कै महिला सुत्केरी जस्तै बनेर बसेको रहस्य खुल्यो । त्यतिबेलासम्म प्रहरीले गाँजा फेला पार्न सकेको छैन । नक्कली सुत्केरी महिला बसेको ठाउँमा भर्खरै माटोले लिपेको जस्तो देखियो ।

प्रहरीले सोही ठाउँमा खन्दा निलो रंगको प्लाष्टिकको ड्रममा १८ किलो र प्यासेजको खाल्डोमा लुकाएर राखेको १० किलो गाजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

‘महिलाको संलग्नतामा गाँजाको कारोबार हुँदै गरेको यो पहिलो घटना हो । महिलाले मंगोलियन वर्णको मानिससँग किनेको र राति बाँसघारीमा लुकाएर घर ल्याएको रहस्य खुलेको छ’ प्रहरी उपरीक्षक रेग्मीले भने ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सावित्रिदेविको कोठाबाट गाजा तौल गर्ने तराजुसहित अन्य समान समेत बरामद गरेको छ । उनलाई लागू औषध ओसारपसार मुद्धामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।

स्वचालित पेस्तोलसहित युवक पक्राउ

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १३ तेजराथ टोलबाट शनिबार राति नै स्वचालित पेस्तोल सहित २८ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका २३ सवैठवा बस्ने अजितप्रसाद कुशवाहलाई अटोमेटिक पेस्तोल र म्यागजिनसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मध्यरातमा सडकमा ४/५ जना युवाको शंकास्पद गतिविधि देखेखपछि मोबाइल गाडी रोक्न लाग्दा उनीहरु भागेपछि लखेट्ने क्रममा अजित पक्राउ परेका हुन् ।

प्रहरीले कुशवाहलाई पक्राउ गर्ने क्रममा फरार भएका उनका साथीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment