Comments Add Comment

प्रदेश १ का पाँच मन्त्रीः बहिस्कारवादीदेखि तिरस्कारवादीसम्म !

अखिलका पूर्वनेतालाई प्रदेश सरकारको साँचो

प्रदेश १ का मन्त्रीहरू

६ फागुन, मोरङ । प्रदेश १ को पाँच सदस्यीय मन्त्रिमण्डलमा १२ कक्षा पढेकादेखि समाजशास्त्रमा एमए र कानूनमा बीएल गरेकासम्म छन् । पेशा व्यवसायको हिसाबले ‘होलटाइमर नेता’ देखि पुस्तक व्यवसायीसम्म छन् । बढीजसो अखिलको राजनीतिबाट आएका युवा पुस्ताका नेताहरु प्रदेश हाँक्ने सारथी बनेका छन् ।

पाँच मन्त्रीमध्ये एकजना चाहिँ संविधानसभाको चुनाव सक्रियतापूर्वक बहिस्कार गरेका विप्लवका फ्यानसमेत परेका छन् ।

सन्तुलनका हिसाबले प्रदेश १ को सरकारमा मधेसी र जनजातिको प्रतिनिधित्व भए पनि महिला र दलितको प्रतिनिधित्व छैन । भौगोलिक हिसावमा पनि प्रदेश १ का १४ वटा जिल्लाको समानुपातिक प्रतिनिधित्व हुन सकेको छैन, सम्भवतः अब विस्तार हुने मन्त्रिमण्डलमा यो सन्तुलन मिलाइने छ ।

प्रदेश १ मा पहिलो चरणमा गठन भएको पाँच सदस्यीय सरकारको मुख्यमन्त्रीमा शेरधन राई छन् भने मन्त्रीहरुमा जगदीश कुसियत, हिक्मत कार्की, जीवन घिमिरे र इन्द्र आङबो छन् । यीमध्ये आङबो माओवादीबाट र अन्य एमालेबाट छन् ।

प्रदेश १ का नयाँ मन्त्रीहरुको अनुहार राजनीतिकर्मीले राम्रैसँग चिने पनि आम मानिसका लागि भने प्रदेशका मन्त्रीहरुको अनुहार नयाँ हो । मुख्यमन्त्री र एकजना मन्त्री केन्द्रीय सांसद भइसकेका व्यक्ति हुन् भने बाँकी तीन जना अनुभवले नयाँ छन् ।

प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुको प्रोफाइल यस्तो छः

मुख्यमन्त्री शेरधन राईः अर्थात कामरेड ‘निछाक’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई युवा पुस्ताका उदीयमान नेता हुन् । उनी ०२७ साल फागुन ११ गते भोजपुरको थिदिंखा, पसलभञ्ज्याङमा जन्मिएका हुन् ।

शेरधनका बुबाको नाम जागिरमान राई र आमाको राम्रीमाया राई हो । उनी पहाडको सामान्य किसान परिवारमा जन्मेका हुन् ।

समाजशास्त्रमा एमएसम्म अध्ययन गरेका मुख्यमन्त्री राई अहिलेसम्म अविवाहित नै छन् । उनले मुख्यमन्त्री भएपछि बिहे गर्ने बताउँदै आएका छन् ।

मुख्यमन्त्री राईले ०४४ सालदेखि अनेरास्ववियुबाट राजनीति थालेका हुन् । उनी अखिलको भोजपुर जिल्ला कमिटी अध्यक्ष, पूर्वाञ्चल प्रंमुख र केन्द्रीय सदस्य हुँदै ०५६ सालमा कान्छो सांसदका रुपमा प्रतिनिधिसभामा निर्वाचित भए ।

पञ्चायतकालमा शेरधन राई ‘निछाक’ उपनामले चिनिन्थे । विद्यार्थी राजनीतिमा रहँदा उनी विभिन्न पत्रपत्रिकामा लेखहरु पनि लेख्ने गर्थे । उनी ०५४ सालदेखि ०७० सालमा एमाले भोजपुरको प्रमुख पदमा कार्यरत रहे ।

दोस्रो संविधानसभामा उनी भोजपुर २ बाट प्रत्यक्ष निर्वाचित सभासद बने । ०७० सालमै एमालेको केन्द्रीय कमिटी सदस्य बनेका उनी हाल पोलिटब्युरो सदस्य एवं प्रदेश १ का सह इञ्चार्ज छन् ।

एमालेभित्र राई चाँडै ‘राइज’ भएका नेता मानिन्छन् । दोस्रो संविधानसभापछि उनी सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बनेपछि थप चर्चामा आएका हुन् ।

एमालेका जनजाति नेताहरु अशोक राई, अजम्बर काङबाङ लगायतका सिनियरहरु पार्टी छाडेर हिँडेपछि शेरधनको राजनीतिक चढावले गति लिएको बताउने गरिएको छ । शेरधन जातीय हावाले नछोएका राष्ट्रिय चिन्तन बोकेका नेता मानिन्छन् ।

एमालेभित्र शेरधनलाई केपी ओली गुटको नेता मानिँदै आएको छ । तर, उनी जिल्लाबासीका हिसाबले राष्ट्रपति विद्या भण्डारीबाट समेत विशेष माया गरिएका पात्र हुन् ।

मुख्यमन्त्री राईले चीन, रसिया, दक्षिण अफि्रका, इजरायल, श्रीलंका र थाइल्याण्डको भ्रमण गरेका छन् ।

दौरा सुरुवालमा चिटिक्क सजिएर हिँड्ने मुख्यमन्त्री राई मिलनसार एवं मृदुभाषी नेता मानिन्छन् । उनी हालसम्म आर्थिक विवादमा मुछिएका छैनन् ।

भोजपुरबाट एमालेका अर्का नेता कृपासुर शेर्पाले शेरधनलाई खुट्टा तान्न र पछाडि धकेल्न चाहेका थिए । तर, यतिबेला एमालेभित्र कृपासुर खुम्चिएका छन् भने शेरधन एकाएक चम्किएका छन् ।

जगदीश कुसियतः उपेन्द्र यादवका ‘अल्टरनेट’

प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण मन्त्री बनेका जगदीश कुसियत एमालेका पुराना एवं प्रदेश मन्त्रीमध्ये सबैभन्दा ज्येष्ठ नेता हुन् । उनलाई एमालेभित्र उपेन्द्र यादवको विकल्पमा खडा गरिएको मधेसी नेताका रुपमा लिने गरिन्छ ।

मन्त्री कुसियत प्रदेश १ को सरकारमा एकमात्र मधेसी समुदायका प्रतिनिधि हुन् । कुसियतको घर सुनसरीको श्रीपुर अर्थात सप्तकोशी नजिकैको भण्डाबारी क्षेत्रमा पर्छ । उनको घर रहेको क्षेत्र भारतसँग सीमा जोडिएको छ ।

मन्त्री कुसियत ०४६ सालपछि नेकपा बर्मा समूह परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनी पञ्चायतकालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेका पुराना कम्युनिष्ट हुन् ।

एमालेले कुसियतलाई उपेन्द्र यादवको विकल्पमा अगाडि सारेको र यही कारण उपेन्द्र यादव एमालेबाट टाढिएको बताउनेहरु पनि छन् ।

हाल संघीय समाजवादी फोरमका अध्यक्ष रहेका उपेन्द्र यादव विगतमा एमालेकै कार्यकर्ता थिए । ०४८ सालमा सुनसरी ४ मा एमालेले उपेन्द्र यादवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो । तर, उनले चुनाव जितेनन् । त्यसबेला कांग्रेसका खलिल मियाँले २४ हजार मत पाएका थिए भने एमालेबाट उपेन्द्र यादवले ८ हजार मत मात्रै पाएका थिए ।

०५१ सालको मध्यावधि चुनावमा एमालेले गिरिजाप्रसाद कोइरालाको क्षेत्रमा सुनसरी ५ बाट जगदीश कुसियतलाई टिकट दियो । गिरिजासँग चुनाव हारेका जगदीशले पछि गिरिजाले छाडेको ठाउँबाट उपचुनाव जिते र प्रतिनिधिसभा सदस्य बने ।
एमाले र माले विभाजित भएपछि कुसियत वामदेव गौतकका पछि लागेर मालेमा समाहित भए । र, मालेमा लागेर उनले सप्तरीमा एमालेको एक सीट घटाइदिए ।

सप्तरी क्षेत्र नम्बर १ मा ०५६ को संसदीय चुनावमा कांग्रेसबाट जेपी गुप्ता उठेका थिए । त्यहाँ नेकपा मालेबाट उठेर कुसियत चौथो स्थानमा खुम्चिए । यस क्षेत्रमा एमालेका हिरालाल चौधरी जेपी गुप्तासँग करिब २ हजार मतान्तरले हारेका थिए । जबकि मालेबाट कुसियतले करिब ५ हजार मत कटाएका थिए ।

वामदेव गौतमले एमाले फुटाएका बेला मालेतिर लागेका कुसियत पछि वामदेवसँगै एमालेमा फर्किए ।

र, ०७० सालको पहिलो संविधानसभा चुनावमा सुनसरी ५ बाट एमालेले कुसियतलाई उपेन्द्र यादवसँगै चुनाव लडायो । उपेन्द्रले जिते । कुसियत तेस्रो स्थान आए ।

सुरुमा कुसियत सुनसरीमा भीम आचार्यको पक्षका नेता मानिन्थे । तर, पछि आचार्यसँग उनको खटपट पर्‍यो । र, अहिले प्रदेशसभाको दलको नेतामा आचार्यलाई हराउन उनको पनि भूमिका रह्यो । मन्त्री कुसियत अहिले केपी ओली गुटमा मात्रै नभएर प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत मानिन्छन् ।

मन्त्री कुसियत सम्पन्न किसान परिवारका व्यक्ति हुन् । उनको परिवारसँग १०/१२ बिघा जमिन रहेको जानकारहरु बताउँछन् । उनले पारिबाट स्नातक तहसम्म उत्तीर्ण गरेको समकालीन एमाले नेताहरु बताउँछन् ।

सप्तकोशी किनारमा सीमा क्षेत्रको वासिन्दा भएका कारण कुसियतलाई कतिपयले ‘बोर्डर क्राइम’ सँग पनि जोडेर आलोचना गर्ने गरेको सुनसरीवासीहरु बताउँछन् । तर, यसबारेमा अहिलेसम्म प्रहरी प्रशासनले उनको कुनै खोट भेट्टाएको छैन । कुसियत खराब व्यक्ति नभएको र उनीमाथि अहिलेसम्म कुनै पनि दाग नलागेको एमालेका स्थानीय नेता बताउँछन् ।

प्रदेश सरकारमा परिपक्व एवं पुरानो नेता भएकाले कुसियले चाहेको खण्डमा राम्रो ‘परफरमेन्स’ देखाउन सक्ने विश्वास एमालेजनको छ । उनले उद्योग र पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकाले राम्रो काम गरेर देखाउने अवसर पाएको जिल्लाबासीहरु बताउँछन् ।

हिक्मत कार्की : कानून पढेका कानूनमन्त्री !

प्रदेश सरकारको आन्तरिक मामिला (गृह) तथा कानून मन्त्री बनेका हिक्मत कार्कीको घर झापाको गौरादह हो । अखिलको राजनीतिक पृष्ठभूमिका हिसाबले उनी मुख्यमन्त्री शेरधन राई भन्दा सिनियर हुन् ।

तर, पार्टी कमिटी एवं प्रदेश सरकारको पदीय हिसाबले भने मन्त्री कार्की शेरधनभन्दा पछाडि छन् ।

आन्तरिक मामिला एवं कानून मन्त्री बनेका हिक्मतको एकेडेमिक अध्ययन पनि कानून नै हो । ०४२ सालमा एसएलसी पास गरेका उनले महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट आइएल पास गरेका हुन् । त्यसपछि उनले काठमाडौंबाट बीएल पास गरे । कानूनकै विद्यार्थी भएकाले उनलाई कानून मन्त्रालयको जिम्मेवारी शोभनीय देखिएको छ ।

सामान्यतयाः मध्यमवर्गीय हुनेखाने परिवारमै जन्मेका हिक्मत विद्यार्थी राजनीतिबाटै अगाडि आएका हुन् । एमाले अखिलको केन्द्रीय अध्यक्षसमेत भएका उनी काठमाडौं ल क्याम्पसमा बीएल पढ्दा स्ववियु सभापतिसमेत भएका थिए ।
०४६ सालको जनआन्दोलनका बेला केही समय जेल परेका कार्कीको विवाह भने निकै ढिलो भएको हो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । छोराछोरी सानै छन् ।

अरुका कुरा धैर्यपूर्वक सुन्ने र सोचेर मात्रै निर्णय लिने कार्कीको सकारात्मक बानी रहेको उनका सहपाठीहरु बताउँछन् ।

मन्त्री कार्की एमालेको राजनीतिमा अहिलेको अवस्थाभन्दा निकै अगाडि बढिसक्नुपर्ने भए पनि पछि परेका युवा नेता मानिन्छन् । आफ्ना दाजु दीपक कार्कीलाई साथ दिँदा हिक्मत पछि परेको कतिपयको विश्लेषण छ ।

दाजु दीपक कार्की गौरादहको पूर्वगाविस अध्यक्ष हुँदै एमालेको सांसदसमेत भए । दाजुभाइ नै अगाडि बढ्दा परिवारवादको आरोप लाग्छ भनेर हिक्मत अहिलेसम्म रिजर्भमा बसेको एमाले नेताहरुको तर्क छ ।

दाजु दीपक कार्की अहिले एमालेमा ‘प्यासिभ’ बनेका छन् र भाइ हिक्मत प्रदेशसभाको चुनाव जितेर मन्त्री बन्न आइपुगेका छन् ।

कमजोरीतर्फको तर्फको कुरा गर्दा हिक्मत कार्की समग्र पार्टीलाई भन्दा पनि आफ्नो गुटलाई बढी च्याप्ने नेता भएको एमालेजनको बुझाइ छ । हिक्मतलाई नजिकबाट चिन्ने एक एमाले शुभेच्छुकले अनलाइनखबरसँग भने- ‘आफ्नो गुटलाई बढी च्याप्नुहुन्छ भनेर उहाँमाथि आलोचना हुने गरेको छ ।’

गृह र कानून मन्त्रालय सम्हालेका कार्की एमालेभित्र केपी ओली समूहका नेता हुन् । उनी केपी ओलीकै गृह जिल्लाका नेता पनि हुन् ।

इन्द्र आङ्बो : बहिस्कारवादी कामरेड !

प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयजस्तो महत्वपूर्ण जिम्मेवारी पाएका माओवादी नेता इन्द्र आङ्बो प्रदेश १ का सबैभन्दा कान्छा मन्त्री हुन् ।

उनको राजनीति पृष्ठभूमि र जिम्मेवारीलाई तुलना गर्दा कलिलो मान्छेले अग्लो जिम्मेवारी पाएको भान हुन्छ । तैपनि उनले आफूले पाएको जिम्मेवारी पूरा गर्ने दाबी गरेका छन् ।

आङ्बोको जन्म पाँचथरको नाङगिन २, फेवादिनमा भएको हो । स्थानीय उच्च माविमा १२ कक्षा पढ्दापढ्दै उनी माओवादीमा प्रवेश गरे ।

सुरुमा एमाले अखिलको शुभेच्छुक हुँदै माओवादीमा लागेका उनी जनयुद्धकालमा अखिल क्रान्तिकारीको नेता एवं बटालियन कमिसारसम्म भए । पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य एवं पाँचथर जिल्लाको इञ्चार्जसम्म भए ।

शान्ति प्रक्रियामा आएपछि माओवादी फुट्यो । मन्त्री आङ्बो बैद्य समूहमा लागे र पोटिटब्यूरो सदस्यसम्म बने । यही क्रममा उनले संविधानसभाको चुनाव बहिस्कार गरे । वैद्यसमूहमा हुँदाखेरि उनी विप्लवसँग नजिक थिए ।

तर, विप्लवले पार्टी फुटाउँदा उनीसँग गएनन् । बरु रामबहादुर थापा बादलसँगै लागेर माओवादी केन्द्रमा फर्किए । माओवादी केन्द्रमा फर्किएपछि उनी केन्द्रीय सचिवालय सदस्य हुँदै प्रदेश सांसदको उम्मदेवार बने । र, पाँचथर १ (ख) बाट १६,९०८ मत ल्याएर बिजयी भए ।

वैद्य माओवादीमा हुँदा दोस्रो संविधानसभाको चुनाव बहिस्कारमा सक्रिय आङ्बो आफ्नो त्यतिबेलाको कार्यको बचाउ गर्दै भन्छन्- ‘त्योबेलामा कर्मचारीतन्त्रले चुनाव गराइरहेको थियो, जनताको मतले बनेको पहिलो संविधानसभालाई विघटन गरिएको थियो । हामीले चुनाव बहिस्कार गर्नुमा नागरिक सर्वोच्चता, शक्ति पृथक्कीकरण र लोकतान्त्रिक शानिका पक्षमा आवाज उठाएका हौँ ।’

अहिलेको संविधान पनि पूर्ण भएको नमान्ने आङ्बो अपूर्ण कुराहरुलाई क्रमशः संशोधन गर्दै जान सकिने बताउँछन् ।

अर्थमन्त्री आङ्बोका आफ्नो निर्वाचन क्षेत्रमा सुख्खापन, स्तरीय सडकको अभाव, गरिबी र बेरोजगारीजस्ता समस्यासँग जुध्ने बताउँछन् । सुख्खापन हटाउन नदीबाट वाटर लिफि्टङ गर्ने उनको सोच छ । साथै गाउँका फुसका छानालाई जस्तापाताले विस्थापन गर्ने पनि आफ्नो पाँच बर्षे कार्ययोजना भित्र परेको आङ्बो बताउँछन्

१४ बर्षे छोराका ३५ वर्षे बाबु आङ्बो युवाले हस्तक्षेप गरेको अवस्थामा युवाअवस्थामै नेतृत्वमा पुग्न सकिने तर्क गर्छन् । उमेरमै नेतृत्व तहमा पुग्न साह्रो नभएको उनी बताउँछन् । मन्त्री आङ्बो भन्छन्- उदाहरण म आफैं छु ।’

कलिलै उमेरमा वाम गठबन्धनको भागवण्डाका कारण महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका आङबो क्षमतावान् र सहासी युवा नेता मानिन्छन् । तर, प्रदेश १ मा माओवादीभित्रै उनी आलोचित छन् । राजनीतिकरुपमा गुट परिवर्तन गर्न माहिर रहेको र व्यक्तिगत नाफा घाटाका आधारमा नेताको फेर समाउने गरेको उनीमाथि आरोप छ ।

जीवन घिमिरे : छुचो मान्छेलाई ‘सामाज विकास’ को जिम्मा

बिराटनगरको महेन्द्र चोक छेउमा लामो समयदेखि पुस्तक व्यापार गर्दै आएका सामाजिक विकास मन्त्री जीवन घिमिरे एमालेका निकै पुराना नेता हुन् ।

झापाको धरमपुरमा जन्मेका घिमिरे पञ्चायतकालमा जिल्लाबाट विस्थापित भएर मोरङ आएपछि यतैको राजनीतिमा जमे ।

राजनीतिक हिसाबले मन्त्री घिमिरे भीम आचार्यका समकालीन हुन्, तर जिम्मेवारीका हिसाबले धेरै नै पछि पर्दै आएका छन् । उनी अञ्चल कमिटी हुँदै नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

मन्त्री घिमिरेका एक छोरा र एक छोरी छन् । उनकी पत्नी एमाले मोरङ जिल्ला कमिटीमा काम गर्नुका साथै पुस्तकको होलसेल व्यापारसमेत गर्छिन् । विराटनगर महानगरभित्र घिमिरेको आफ्नै घरमा पुस्तक पसल छ ।

मन्त्री घिमिरेले मानविकी संकायमा वीएसम्मको अध्ययन गरेका छन् । एमालेमा गुटगत हिसाबले उनी माधव नेपाल पक्षका नेता हुन् ।

प्रदेशसभाको चुनाव जितेपछि घिमिरेले मुख्यमन्त्रीको दाबी गरेका थिए । एमाले संसदीय दलको चुनावमा शेरधन राई र भीम आचार्यसँग भिड्ने बताएका घिमिरेले अन्ततः उम्मेदवारी दर्ता गरेनन् र मुख्यमन्त्रीको हल्ला गरेर सामाजिक विकास मन्त्रीको सिट सुरक्षित गरे ।

एमाले नेता घिमिरे पार्टीभित्र आफ्नै कारणले पछि परेको उनका समकालीनहरु बताउँछन् । उनी निकै साँघुरो सोचाइ भएका नेता मानिन्छन् । आफूलाई मन नपरेको मानिस आफ्नै गुटमा छ भने पनि उसलाई तिरस्कार गर्ने सिध्याएरै छाड्ने घिमिरेको आदत रहेको एमालेका एक नेताले अनलाइनखबरलाई बताए ।

रोचक के छ भने आफ्ना आलोचकप्रति असाध्यै पूर्वाग्रह र घृणाभाव राख्ने छुद्र चिन्तनका घिमिरेले मन्त्रालयको जिम्मेवारी चाहिँ ‘सामाजिक विकास’ पाएका छन् । मन्त्रालयको जिम्मेवारी र घिमिरेको स्वाभाव आपसमा भेट नखाने नमिल्ने एमालेका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment