Comments Add Comment

उत्तरी मोरङका बासिन्दा भन्छन्– अस्थायी राजधानी विराटनगर, स्थायी गोठगाउँ


७ फागुन, इटहरी । बिहीबार उत्तरी मोरङको विराटचोक बजारको एक चिया पसल तराईको हुस्सुले चिसिए पनि राजधानीको बहसले तातेको थियो । पूर्व–पश्चिम राजमार्गमै जोडिएको बिराटचोकको एक गाउँले होटलमा भेला भएकाहरु राजधानी कहाँ उपयुक्त होला भनेर गफिएका थिए ।

‘विराटनगर नै अस्थायी राजधानी बनाए तर हुनुपर्ने चाहीँ गोठगाउँ थियो’, ६० कटेका सुन्दरहरैंचा नगरपालिकाका प्रेम खनालले भने, ‘गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयको काममा नआएका धेरै भवन र पर्याप्त जग्गा छ ।’

खनालले अभिव्यक्तिमा सनमान धिमालले प्रश्न गरे, ‘विश्वविद्यालयको भवनमा कसरी प्रदेश कार्यालय, मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु राख्न मिल्छ त ?’

सँगै रहेकी विष्णुमाया श्रेष्ठले पुनः प्रश्न थपिन्, ‘पशु कार्यालय, कृषि कार्यालय र जिल्ला समन्वय समितिको भवनमा चाहीँ राख्न मिल्ने विश्वविद्यालयकोमा नमिल्ने ?’

श्रेष्ठको जवाफमा धिमालले भने, ‘कुरा त हो नि तर उत्तरी मोरङको राजमार्गमै भएको गोठगाउँमा राजधानी ल्याउन कसले सोर्स लाउने ?’

राजधानीका सबै गफ सुनिरहेका पसले पुन्य सन्जेलले उत्तरी मोरङमा स्थानीयलाई विराटनगर भन्दा गोठगाउँ र धरान–इटहरी नै पायक पर्ने बताए । ‘विराटचोकबाट विराटनगर पुग्न ६० रुपैयाँ भाडा लाग्छ र समय ४५ मिनेट बढी लाग्छ’, सन्जेलले तर्क गरे, ‘गोठगाउँ त यहि भइहाल्यो, इटहरी पुग्न १० मिनेट र धरान पुग्न ४० मिनेटमा सकिन्छ ।’

विराटनगर भारतीय सिमामै जोडिएको र पहिल्यै सेवासुविधाहरु भएको स्थान भएकाले नयाँ क्षेत्रको विकासमा पनि राजधानी विराटनगर बाहिरै हुनुपर्ने प्रेम खनालले बताए । ‘अन्तर्राष्ट्रिय सिमाना पनि विराटनगरमै, विमानस्थल पनि विराटनगरमै, क्षेत्रिय कार्यालयहरु पनि धेरै विराटनगरमै छन्’, खनालले भने, ‘अब राजधानी चाहीँ गोठगाउँ हुनुपर्छ ।’

यहाँ विमानस्थल बन्न चाहिने जग्गा, सबै मन्त्रालय बस्ने भवन र राजमार्गको छेउँ भएकाले गोठगाउँ स्थायी राजधानी बनाउन उपयुक्त हुनुपर्ने तर्क खनालले गरे ।

सनमान धिमाल र विष्णुमाया श्रेष्ठले त कोशी र मेची पहाडका सबै क्षेत्रबाट राजमार्ग हुँदै आउँदा गोठगाउँ नै पायक हुनाले राजधानी हुनुपर्ने तर्क गरे । मोरङकै आधा भागलाई नै विराटनगर पायक नहुने भन्दै धिमालले भने, ‘आवश्यक सयौं बिगाहा जग्गा र आधुनिक भवनको आधारमा गोठगाउँ भएको राम्रो । गोठगाउँ नहुँदा उत्तरी मोरङलाई विराटनगरभन्दा इटहरी नै नजिक हुन्छ ।’

प्रेम खनालले त प्रजातन्त्र, पञ्चायत र लोकतन्त्रमा पूर्वमा सबैभन्दा धेरै सेवासुविधा विराटनगरले पाएको भन्दै अब राजधानी विराटनगर बाहिर हुनुपर्ने जिकिर गरे । उनले भने, ‘प्रदेश १ को अस्थायी राजधानी विराटनगर भयो र स्थायी गोठगाउँ हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment