Comments Add Comment

प्रदेश ७ का सात मन्त्रीः ठेकेदार र ‘चौकीदार’देखि इञ्जिनियरसम्म

७ फागुन, डोटी । मुख्यमन्त्री त्रिलोचन भट्ट र अन्य ६ मन्त्रीहरुले आइतवार पदभार ग्रहण गरेसँगै प्रदेश नं. ७ को प्रादेशिक सरकारले औपचारिकता पाएको छ । ५३ सदस्यीय प्रदेश सभा रहेको यस प्रदेशमा संविधानको धारा १६८ (९) अनुसार ११ जनासम्मको मन्त्रिपरिषद बनाउन मिल्ने भए पनि सानो आकारको मन्त्रीमण्डल बनाउने बाम गठबन्धनका बीचमा भएअनुसार सात सदस्यीय मात्रै बनाइएको हो ।

सहमतिअनुसार मुख्यमन्त्री माओवादीको भाग परेपछि प्रदेश मन्त्रिमण्डलमा एमालेका चार र माओवादीका तीन मन्त्री छन् । मुख्यमन्त्रीसहित सातै मन्त्रीहरुले आफ्नो पदभार ग्रहण गरिसकेका छन । पदभार ग्रहणसँगै मुख्यमन्त्री भट्टले प्रदेशको विकास र सुशासनका लागि सरकार प्रतिवद्ध रहने बताएका छन् ।

प्रदेश ७ का मन्त्रीहरु यस्ता छन्ः

मुख्यमन्त्री त्रिलोचन भट्ट

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो औपचाकिर अध्ययन प्राथमिक तहमा सीमित गर्दै १४ बर्षको उमेरमा रोजगारीका लागि भारत छिरेका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवदी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् ।

भारतमा काम गर्दागर्दै तत्कालीन अखिल भारत नेपाली एकता समाजमा आवद्ध भट्ट द्वन्द्वकालमा नेपाल फर्केर भुमिगत राजनीतिमा होमिए । ०२८ सालमा डोटीको भुमिराजमाण्डौंमा जन्मेका भट्ट जीवनका हरेक आरोह अवरोह पार गर्दै ४६ बर्षको उमेरमा मुख्यमन्त्री बनेका छन् ।

चुनावका बेला प्रतिपक्षबाट भारतको चौकीदार भन्ने आरोप खेपेका भट्ट अब ७ नं. प्रदेशकै चौकीदार बनेका छन् ।

पार्टी जिल्ला सचिव, राज्य समिति सदस्य, केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यसम्म पुगेका भट्ट पार्टीका डोटी जिल्ला ईन्चार्ज पनि हुन ।

उनलाई ईमानदार र सोझो राजनीतिज्ञको रुपमा चिनिन्छ । पछिल्लो समयमा भट्ट पार्टीको राजनीतिसंगै व्यवसायिक तरकारी खेतीमा संलग्न रहेका थिए ।

प्रकाश शाहः आन्तरिक मामिला तथा कानुन मन्त्री

सिभिल इन्जिनियरिङ्गमा स्नातक गरेका बाजुराका नेता प्रकाश शाहलाई प्रदेको कानुनी नक्सा कोर्ने जिम्मेवारी परेको छ । उनी प्रदेशको आन्तरिक मामिला तथा कानुन बनेका छन् । ०२८ सालमा बाजुरामा जन्मेका शाह एमाले प्रदेश संसदीय दलका नेता पनि हुन् ।

०४५ सालको प्रवेशिका परीक्षामा बाजुरा जिल्लामै पहिलो भएका शाह इन्जिनियरिङ्ग क्याम्पसमा पढ्दै अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । एमाले बाजुरा जिल्ला अध्यक्ष समेत भएका शाह हाल एमाले केन्द्रीय बैकल्पिक सदस्य छन् ।

दीर्घ सोराडीः सामाजिक विकास मन्त्री

विगतमा राजनीति सँगसँगै सामाजिक क्रियाकलापमा पनि सक्रिय हुँदै आएका एमाले कैलाली जिल्ला अध्यक्षसमेत रहेका दीर्घ सोराडीलाई सामाजिक विकास मन्त्री बन्ने अवसर जुरेको छ ।

०३४ सालमा जन्मिएका सोराडी एमालेभित्र सफल राजनीतिज्ञका रुपमा चिनिन्छिन् । व्यवस्थापन संकायमा स्नातक सोराडी सात कक्षामा पढ्दैदेखि राजनीतिमा चासो राख्थे । उनी एमाले निकट अनेरास्वबियुको केन्द्रीय सदस्य, एमाले जिल्ला कमिटी सदस्य, जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला अध्यक्ष बनेका हुन् । सोराडी एमाले प्रदेश संसदीय दलको नेताका लागि पनि दावेदार थिए ।

झपट बोहोराः आर्थिक मामिला तथा योजना मन्त्री

बैङ्क तथा वित्तीय संस्थाहरुको नेतृत्व गर्दै लामो समय बिताएका मन्त्री झपट बोहराले आर्थिक तथा योजना मन्त्रालय सम्हालेका छन् ।

विकास बैङ्क एसोसियसनको अध्यक्ष समेत रही काम गरेका बोहरालाई अनुभवका आधारमा यो मन्त्रालय उपयुक्त छ । उनी सरकारी तथा निजी क्षेत्रका विभिन्न वित्तीय संस्थाहरुमा सल्लाहकार समेत रहेका व्यक्ति हुन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन पूरा गरेका वोहरा राजनीतिक क्षेत्रमा भने अरुको दाँजोमा कान्छा मानिन्छन् ।

मन्त्री बोहोरा ०६४ सालमा तत्कालीन नेकपा माओवादीमा लागेका थिए । हाल उनी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य छन् ।

पठानसिंह बोहोराः भौतिक पूर्वाधार तथा योजना मन्त्री

पछिल्लो समयमा व्यवसायिक अभ्यासमा लागेका कानुनका बिद्यार्थी पठानसिंह बोहरा भौतिक पूर्वाधार तथा योजना मन्त्री भएका छन् । सरल राजनीतिज्ञका रुपमा पहिचान बनाएका एमाले प्रदेश कमिटी सदस्य बोहरा कानुन विषयमा स्नातक हुन ।

मन्त्री बोहरा ०३८ सालदेखि राजनीतिमा सक्रिय छन् । एमालेनिटक अनेरास्वबियुको अधिवेशनमा डडेल्धुराबाट भाग लिने पहिलो व्यक्ति हुन बोहरा । ०२३ सालमा जन्मिएका बोहरा पार्टी सचिवीय प्रणालीमा रहेका बेला डडेल्धुरा जिल्लाका सचिव भए । उनी एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य समेत रहिसकेका थिए ।

माया भट्टः उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

०४६ सालदेखि सक्रिय राजनीतिमा लागेकी बैतडीकी माया भट्ट एमाले समानुपातिक कोटाबाट सांसद भइन् । कक्षा ८ सम्मको औपचारिक शिक्षा पूरा गरेकी भट्टलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी परेको छ ।

०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला बिकास समिति सदस्य भएकी भट्ट जिल्ला विकास समिति महासंघको केन्द्रीय सदस्य समेत भएकी थिईन । ०६४ सालको संबिधानसभा निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र-२ मा प्रत्येक्ष चुनाव लडेकी भट्ट एमाले प्रदेश कमिटी सदस्य हुन ।

बिनिता चौधरीः भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रा

मन्त्रीमण्डलका सात सदस्यमध्ये सवैभन्दा कान्छी मन्त्री बिनिता चौधरीलाई भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय भाग परेको छ । ०४२ सालमा जन्मिएकी बिनिताले ३२ वर्षकै उमेरमा मन्त्री बन्ने सौभाग्य प्राप्त गरेकी छन ।

प्रवेशिका तहको औपचारिक शिक्षा लिएकी बिनिता ०५७ सालदेखि नै माओवादी पार्टीमा जोडिएकी थिइन् । पार्टीका बिभिन्न तहमा काम गर्दै उनी हाल माओवादीको केन्द्रीय समिति सदस्य छिन् । उनी समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment