Comments Add Comment

सिमराको साःख स्टिलभित्र मजदुरको मृत्यू

पाख्रिनको शव पोस्टमार्टमका लागि वीरगञ्ज लगिँदै ।

९ फागुन, सिमरा । बाराको सिमरास्थित साःख स्टिलमा कार्यरत एक मजदुरको मृत्यू भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका ३ रामवनका महाराज भनिने माइला पाख्रिनको बुधबार विहान कारखानामा काम गरिरहेका बेला मृत्यु भएको हो । विहान साढे ९ बजे कारखानामा बेहोस भएको भनिएका पाख्रिनलाई झण्डै एक घण्टापछि अल्पाइन अस्पतालमा ल्याइएको थियो ।

साःख स्टिलका कारखाना व्यवस्थापक राजु तिमल्सिनाले काम गरिरहेका बेला अचानक बेहोस भएका पाख्रिनलाई अल्पाइन अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषित गरेको जानकारी दिए । ‘बेहोस भएको करिब पौने घण्टापछि हामीले अस्पताल ल्याएका थियौं, ल्याउनासाथ चिकित्सकले मृत घोषित गरे’ तिमल्सिनाले भने ।

मृतक पाख्रिन कारखानामा ठेकेदारमार्फत दैनिक ज्यालादारीमा कार्यरत रहेको तिमल्सिनाले बताए । उनी कारखानामा फलाम गलाउन बालिने कोइला पिस्ने काम गर्थे ।

पाख्रिनकी पत्नी मर्कु डोल्माका अनुसार गए राति उनले छाती र नाक दुखेको बताएका थिए । पाख्रिन ९ वर्षदेखि कारखानामा कार्यरत थिए ।

पाख्रिनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको छ । अल्पाइन अस्पताल परिसरमा भेला भएका मृतकका आफन्तले घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

साःख स्टिलको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष पञ्चलाल चौधरीले मृतकका परिवारलाई न्यायोचित राहत दिलाउन मजदुर युनियनले पहल गर्ने बताए ।

कारखाना व्यवस्थापक तिमल्सिनाले मृतकका परिवार, मजदुर प्रतिनिधि र कारखाना पक्षको रोहवरमा छलफल गरी मृतकका परिवारलाई उचित राहत दिने बताए । ‘हामी पीडित परिवारलाई राहत दिन सकारात्मक छौं, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment