Comments Add Comment

माडीका किसान व्यावसायिक पशुपालनतर्फ आकर्षित

विदेश जाने सपना बुनेका युवा पशुपालनमा रमाउँदै, मासिक कमाइ १ लाख

१० फागुन, चितवन । व्यवसायिक पशुपालनका लागि माडी उपयुक्त देखिएको छ । विगतमा परम्परागत पशुपालनमा रमाउँदै आएका यहाँका किसानले यसलाई व्यावसायिक स्वरुपमा बदल्दै लगेका छन् ।

माडी–६ कल्याणपुरका कृष्णबहादुर पौडेलले परम्परागत स्थानीय गाई–भैंसी पाल्न छाडेर उन्नत जातका पशु पाल्न थालेका छन् । उनी दैनिक ८० लिटर दूध बेच्छन् । उनको फर्ममा १४ वटा दुहुना गाई–भैंसी छन् ।

पौडल जस्तै व्यावसायिक किसान बनेका छन्, माडी–७, किर्तनपुरका राजेश ओझा पनि । विदेश जाने सपना बनाएर तयारी गरेका ओझाले अन्ततः देशमा नै पसिना बगाउने निधो गरे । कोरियन तथा जापनिज भाषा परीक्षा दिएका ओझा सक्षम किसानका रुपमा स्थापित हुँदैछन् ।

सृजना पशुपालन केन्द्र फर्म दर्ता गरेर उनी यही साउनबाट व्यावसायिकरुपमा गाई–भैंसी पालनमा लागेका छन् । गोठ बनाउन ९ लाख खर्चेका छन् । उनको फर्ममा ११ दुहुना गाई–भैंसी छन् ।

‘मासिक १ लाख १७ हजार कमाइ हुन्छ, खर्च कटाउँदा ५० हजार नाफा भएको छ’, उनले भने, “स्वदेशमै केही गरौं भनेर लागेको छु ।’ उनको फर्म सञ्चालन तथा व्यवस्थापनमा परिवारले सघाउँदै आएका छन् । अढाइ विघामा घाँसखेती गरेका छन् । जसमध्ये ७ कठ्ठामात्रै उनको आफ्नो जग्गा हो, अरु ७ वर्षका लागि भाडामा लिएका हुन् ।

माडी–८, शिवद्वारका रुद्रप्रसाद रेग्मीले परम्परागत पशुपालनलाई छाडेर गाई फर्म सञ्चालनमा ल्याएका छन् । १० वटा दुहुना गाईबाट ५५ लिटर दूध उत्पादन गरी बिक्री गरेका छन्, उनले । मासिक ६० हजार कमाउँछन् । उनले १० कट्टठा जग्गा भाडामा लिएर घाँस खेती गरेका छन् ।

माडीमा झण्डै ९० प्रतिशत स्थानीय कृषि पेशामा आबद्ध छन् । माडीकै सबैभन्दा ठूलो गाई–भैंसी फर्मका रुपमा रहेको माडी–२, भैरवपुरका सूर्यप्रसाद भुषालको भंैसी अनुसन्धान तथा उत्पादन केन्द्रले दैनिक ४०० लिटर दूध संकलन गर्दै आएको छ । २ वर्षअघि स्थापना भएको सो केन्द्रमा हाल २६ वटा गाई–भैसी तथा मासुका लागि ५० वटा पाडा छन् ।

उनले करिव १८ लाख खर्चेर गोठ बनाइएका छन् । सञ्चालक सूर्यप्रसाद भुषालले भने, ‘हालसम्म ५५ वटा राँगा बिक्री भएका छन्, दूध बेचेर पनि राम्रै कमाई छ ।’

उनले गाई–भैंसीका लागि निकुञ्ज छेउमै रहेको अमेलिया क्षेत्र र रिउ किनारमा चरन गराउन लैजाने गर्छन् । पाडाका लागि ३ विघा १४ कट्टठा स्कुलको जग्गा भाडामा लिएर घाँस खेती गरेका छन् ।

दुग्ध विकास संस्थानको चिस्यान केन्द्र माडी–१ बरुवामा छ । माडीमा भैरवी सहकारी, भैरव पशुपालन समूह, भुषाल भैंसी फर्म, चुरे अगुवा दूध उत्पादक समूह सिलतपुर, सोमेश्वर दूध डेरी, अधिकारी गाइ र्फम, सृजना पशुपालन फर्म, गार्खाली रेवा गाइफर्म, कृष्णनगर दुग्ध सहकारी लगायतले गाउँका किसानबाट दूध संकलन गरेर चिस्यान केन्द्रसम्म ल्याउँछन् । दैनिक ३ हजार ५ सय लिटर दूध चिस्यान केन्द्रमा संकलन हुन्छ । ०६९ साल चैतबाट माडीमा चिस्यान केन्द्र सञ्चालनमा आएको थियो । २ हजार लिटर क्षमतालाई विस्तार गरेर हाल ६ हजार लिटर क्षमता पुर्याइएको छ ।

माडी उपत्यकतामा प्रर्याप्त जग्गा छ । यहाँ घाँसमा आधारित पशुपालन गर्न पनि सहज छ । सोही कारण किसानहरु विस्तारै यसतर्फ ढल्किन थालेको बताउँछन्, किसान कृष्णबहादुर पौडेल । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले ३ वर्षमा माडीमा ठूला गाई–भैंसी फर्म सञ्चालनमा आउने दाबी गरे । ‘यहाँको स्थानीय तह किसानमैत्री छ, पशुपालनमा आकर्षण बढेको छ’, उनले भने, ‘कृषि तथा पशु विशेष प्याकेज ल्याउनुपर्छ, माडीलाई पशुपालनको उपयुक्त क्षेत्र बनाउनुपर्छ ।’

माडी नगरपालिकाले चालु आर्थिक वर्ष कृषिमा ३ करोड २ लाख र पशुमा २ करोड रुपैयाँ बराबरको रकम छुट्टाएको छ । माडी नगरपालिका मेयर ठाकुर ढकालले ५ देखि १० वटासम्म उन्नतजातका गाइभैंसी पाल्ने किसानलाई १ लाख, ३० वटासम्म पाल्नेलाई १० लाखसम्म अनुदान र भकारो सुधारका लागि २० हजार रुपैयाँ अनुदान दिइने बताए । अनुदानका लागि १ सय ५० निवेदन परेपनि कार्यविधिअनुसार मूल्यांकन गरेर वास्तविक किसानलाई अनुदान दिइने मेयर ढकालले बताए ।

किसानहरुलाई उन्नत जातको नश्लको अभाव छ । घाँस खेतीका लागि उचित सिचाईको प्रवन्ध गर्न किसानहरुले माग गरे ।

राष्ट्रिय व्यावसायिक पशुपालन दूध उत्पादक कृषक समाज माडी अध्यक्ष सूर्यप्रसाद भुषाल स्थानीय तहले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउँछन् । माडीमा दक्ष प्राविधिक तथा पशु चिकित्सकको व्यवस्था,पशु औषधीको सहज व्यवस्था,आधुनिक कृषि औजारमा अनुदान दिनुपर्ने, नश्ल सुधार तथा कृत्रिम गर्भाधानलाई सहज बनाए अझै बढि किसानहरु यसमा समेटिने अध्यक्ष भूषालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment