११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।
बैठकले मन्त्रालयहरुको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय पनि गरेको छ ।
को हुन् विष्णु रिमाल, जो प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा दोहोरिए ?
यो संयोग मात्र हुनसक्छ तर केपी शर्मा ओली बाहेक एमालेका कुनै पनि नेता दोहोर्याएर प्रधामन्त्री बन्न पाएका छैनन् । अनि यो पनि अर्को संयोग हुनसक्छ प्रधानमन्त्रीको प्रमुख सल्लाहकार पनि दोहोरिएर बन्ने अवसर बिष्णु रिमालले मात्र पाएका छन् ।
एमालेबाट २३ वर्षको बीचमा चारजना प्रधानमन्त्री भएका छन् । दक्षिण एशियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकार ईश्वर पोखरेललाई बनाएका थिए । पोखरेल अहिले एमाले महासचिव छन् ।
मनमोहनपछि एमालेले प्रधानमन्त्री पाउन १५ वर्ष कुर्नुपर्यो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा उनको प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्त बनेका थिए । पन्त अहिले एमाले पोलिटव्यूरो सदस्य तथा माधव नेपाल नेतृत्वको पार्टी एकता राजनीतिक दस्तावेज समितिको सदस्य छन् ।
माधव नेपाल लगत्तै झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रकाश ज्वाला राजनीतिक सल्लाहकार बने । ज्वाला अहिले पार्टीको पोलिटव्यूरो सदस्य तथा प्रदेश ६ को अर्थ तथा योजना मन्त्री छन् ।
संविधानसभाबाट संविधान जारी भएपछि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा प्रमुख सल्लाहकार नियुक्त भएका बिष्णु रिमाल यसपटक पनि ओलीको रोजाईमा परे । मन्त्रिपरिषद् बिस्तार गर्नुअघि ओलीले रिमाललाई आफ्नो प्रमुख सल्लाहकार नियुक्त गर्नुले पनि ओलीका लागि महत्वपूर्ण व्यक्ति हुन् भन्ने बुझ्न कठिन छैन ।
एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमाल प्रधानमन्त्री ओलीका सदाबहार सहयोगी नेता हुन् । मजदूर आन्दोलनको नेतृत्व गरेर पार्टीमा स्थापित भएका रिमाल नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अध्यक्ष पनि हुन् ।
पेशाले इन्जिनियर रिमाल सानो कदका ठूला नेता हुन् एमालेभित्र । नवौं महाधिवेशनमा रिमाल केपी ओली प्यानलबाट सचिवका उम्मेदवार थिए तर उनी पराजित भए । सचिवमा पराजित भए पनि केन्द्रीय सदस्य जितेका कारण उनी सिनियर पोलिटव्यूरो सदस्य तथा पार्टीको आर्थिक विभाग प्रमुख समेत छन् ।
आर्थिक मामिलामा पारदर्शी,विषयवस्तुलाई सजिलै बुझ्न सक्ने क्षमता र व्यवस्थापकीय कुशलताका कारण रिमाल ओलीको रोजाइमा परेको बालुवाटार स्रोतले जनाएको छ । रिमालले प्रधानमन्त्रीको तर्फबाट राजनीतिक र प्रशासनिक संयोजन गर्ने गर्न सक्ने भएकाले उनलाई प्रमुख सल्लाहकार बनाइएको हो ।
रिमाल २०६४ सालमा समानुपातिकबाट सभासद बने बाहेक राजकीय पदमा भने पुगेका छैनन् । मजदूर आन्दोलनको नेतृत्व गरेर आएका कारण उनले भूगोल केन्द्रित भएर राजनीति गरेनन् ।
त्यसैले चुनाव लड्ने निश्चित क्षेत्र नभएका कारण पनि उनी यसपटक प्रतिनिधिसभाको उम्मेदवार बनेनन् । उनले यसपटक पार्टीको चुनाव परिचालन कमाण्ड गरेका थिए ।
नुवाकोटमा जन्मिए पनि रिमालको राजनीतिक कर्मथलो नुवाकोट रहेन ।
प्रतिक्रिया 4