Comments Add Comment

जलविद्युतमा प्रदेश ३ र ४ बलिया, २ सबैभन्दा कमजोर

कुन प्रदेशमा कति जलविद्युत आयोजना ?


१३ फागुन, काठमाडौं । विद्युत उत्पादनका हिसाबले प्रदेश ३ र ४ सबैभन्दा बलियो देखिन्छन् । प्रदेश-२ मा भने अहिलेसम्म एउटा आयोजना निर्माण भएको छैन ।

प्रदेश-६ मा निजी क्षेत्रको तीन दशमलव ७५ मेगावाटको एउटा आयोजना मात्रै सञ्चालनमा छ । यसरी हेर्दा प्रदेश २ र ६ विद्युत् उत्पादनका हिसाबले सबैभन्दा कमजोर देखिन्छन् ।

प्रदेश-२ मा निजी क्षेत्रले १८ मेगावाटका दुई वटा आयोजना निर्माण गर्न विद्युत् प्राधिकरणसँग खरिद सम्झौता (पीपीए) को प्रक्रिया शुरु भएको छ । तराईको भूभाग रहेकाले पनि उक्त क्षेत्रमा तत्काल जलविद्युत् गृह निर्माण सम्भव देखिँदैन ।

प्रदेश-६ लाई हिमाल र विकट पहाडी भूभागले ओगटेको छ । सोही कारण उक्त प्रदेशका विकट क्षेत्रमा बिजुली उत्पादन भए पनि तत्काल राष्ट्रिय प्रसारणमा जोडिन सम्भव छैन । प्रसारणलाइनकै अभाव रहेकाले उक्त प्रदेशमा निजी क्षेत्रको चासो पनि बढ्न सकेको छैन ।

अधिकांश भूभाग दुर्गम भएकाले उक्त प्रदेशमा हालसम्म जलविद्युत्मा ठूलो लगानी भएको पाइँदैन । तीन दशमलव ७५ मेगावाटको एउटा मात्रै आयोजना सञ्चालनमा छ भने ६ दशमलव ३५ मेगावाटका दुई आयोजना निर्माणाधीन छन् ।

प्रदेश-६ मा निर्माणाधीन आयोजना धेरै नभए पनि भविष्यमा प्रदेश-२ को भन्दा सुखद सम्भावना देखिन्छ । किनकि, उक्त प्रदेशमा १९ दशमलव ५५ मेगावाटका तीन वटा आयोजना पीपीएको प्रक्रिया सकेर ‘फाइनान्सियल क्लोजर’को चरणमा छन् । यस्तै, ६ सय १५ मेगावाटका चार वटा आयोजनाको पीपीएको प्रक्रिया बढेको छ ।

सात सय ५३ स्थानीय तहलाई राष्ट्रिय गि्रडमा गाँस्ने सरकारी योजना छ । तथापि, प्रसारण लाइन नै तयार नभएकाले प्रदेश-६ मा प्रचुर सम्भावनाका बावजुद लगानी आकषिर्त् भएको पाइँदैन ।

सबैभन्दा बलियो प्रदेश-४

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रदेश-४ विद्युत् उत्पादनका हिसाबले सबैभन्दा बलियो हुने देख्छन् । अहिले उक्त प्रदेशमा प्राधिकरणबाट तीन सय मेगावाटका ६ वटा आयोजना सञ्चालनमा छन् । यस्तै, निजी क्षेत्रबाट एक सय ५१ मेगावाटका १९ वटा आयोजना सञ्चालनमा छन् ।

घिसिङका अनुसार प्रदेश-४ मा अहिले निजी क्षेत्रबाट तीन सय ६२ मेगावाटका २६ वटा आयोजना निर्माणाधीन छन् । यस्तै, अन्य केही निर्माणको चरणमा प्रवेश गर्दैछन् ।

उक्त प्रदेशमा निजी क्षेत्रले निर्माण गर्न लागेको दुई सय ५६ मेगावाटका १७ वटा आयोजनाको भने फाइनान्सियल क्लोजर हुन बाँकी छ । र, २६ सय तीन मेगावाटका ६३ वटा आयोजनाको पीपीएको प्रक्रिया निजी क्षेत्रले अगाडि बढाएको छ । उक्त प्रदेशमा निजी क्षेत्रबाट मात्र ३३ सय ७३ मेगावाट उत्पादन हुने देखिन्छ ।

प्रदेश-४ मा प्राधिकरणका दुई वटा आयोजना निर्माणाधीन छन्, दुवैबाट गरी ७४ मेगावाट उत्पादन हुनेछ । यस्तै, १३ सय ३२ मेगावाटका दुई वटा आयोजनाको फाइनान्सियल क्लोजर हुन सकेको छैन ।

प्रदेश-४ मा अहिले ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी र १४ मेगावाटको मोदीखोला आयोजना सञ्चालनमा छन् ।

कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘हालसम्मको अवस्था हेर्दा उत्पादनका हिसाबले प्रदेश-४ सबैभन्दा बलियो छ र आगामी दिनमा पनि यही प्रदेशमा सबैभन्दा बढी बिजुली उत्पादन हुने देखिन्छ ।’

दोस्रो बलियो प्रदेश-३

यस्तै, उत्पादन भएका हिसाबले दोस्रो बलियो प्रदेश हो, प्रदेश-३ । संघीय राजधानीसमेत रहेको यस प्रदेशमा प्राधिकरणद्वारा निर्मित कुलेखानी जलाशयबाट प्रथम र दोस्रो आयोजना सञ्चालनमा छन् । त्रिशुली, देवीघाट र सुनकोशी आयोजना पनि यसै प्रदेशमा सञ्चालनमा छन् । यस्तै, खिम्ती र माथिल्लो भोटेकोशी आयोजना पनि यसै प्रदेशमा सञ्चालनमा छन् ।

यस्तै, प्राधिकरणले नै अगाडि बढाएको कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली-थ्री ‘ए’ भने निर्माण सम्पन्न हुने चरणमा छन् । र, निजी क्षेत्रले निर्माण गरेका २८ वटा आयोजनाबाट अहिले दुई सय दुई मेगावाट उत्पादन भइरहेको छ ।

प्रदेश-३ मा निजी क्षेत्रले अगाडि बढाएका ३५ वटा आयोजना निर्माणाधीन छन् । सबैबाट गरी १२ सय १० मेगावाट उत्पादन हुन्छ । र, प्राधिकरणद्वारा निर्माणाधीन दुई आयोजनाबाट ७४ मेगावाट उत्पादन हुनेछ ।

प्रदेश-३ मा हाल प्राधिकरणका नौ आयोजनाबाट एक सय ५८ मेगावाट उत्पादन भइरहेको छ । अहिले आठ सय ४२ मेगावाटका २१ वटा आयोजना निजी क्षेत्रले अगाडि बढाउँदैछ । ती सबैको ‘फाइनान्सियल क्लोजर’ हुन बाँकी छ । प्राधिकरणले अगाडि बढाउन लागेका दुई आयोजनाको पनि ‘फाइनान्सियल क्लोजर’ हुन सकेको छैन । १३ सय ३२ मेगावाटका ती आयोजनाले सुखद् भविष्यको संकेत गर्छन् ।

प्रदेश-३ मै निजी क्षेत्रले ६ सय ६ मेगावाटका ३२ वटा आयोजना निर्माण गर्न चासो बढाएको छ, जुन पीपीएको प्रक्रियामा छन् ।

प्रदेश-१ः तेस्रो ठूलो

उत्पादनको कोणबाट प्रदेश-१ तेस्रो बलियो प्रदेश हो । उक्त प्रदेशमा निजी क्षेत्रबाट ९७ मेगावाटका १६ वटा आयोजना सञ्चालनमा छन् । र, प्राधिकरणद्वारा सञ्चालित ४८ मेगावाटको एउटा आयोजना छ ।

प्रदेश-१ मा निजी क्षेत्रले चार सय ६ मेगावाटका २४ वटा आयोजना निर्माण गरिरहेको छ । एक सय ८६ मेगावाटका १६ वटा आयोजनाले भने फाइनान्सियल क्लोजर गर्न बाँकी छ । तथा, प्राधिकरणले अगाडि बढाएका १९ सय ९७ मेगावाटका तीन वटा आयोजनाको पनि फाइनान्सियल क्लोेजर हुन सकेेको छैन ।

उक्त प्रदेशमा निजी क्षेत्रले निर्माण गर्न लागेको १४ सय ४२ मेगावाटका ४५ वटा आयोजना पीपीएको प्रक्रियामा छन् ।

मध्यमस्तरको प्रदेश-५

उत्पादनका हिसाबले मध्यमस्तरमा पर्छ, प्रदेश-५ । निजी क्षेत्रका ४० मेगावाटका चार वटा आयोजना सञ्चालनमा छन् । प्राधिकरणको भने १५ मेगावाटको एउटा आयोजना मात्रै सञ्चालनमा छ ।

निजी क्षेत्रले उक्त प्रदेशमा नौ दशमलव ३७ मेगावाटको आयोजना निर्माण गर्दैछ । र, कुल पाँच दशमलव ६८ मेगावाटका पाँच वटा आयोजनाको पीपीएको प्रक्रिया निजी क्षेत्रले बढाएको छ ।

प्रदेश-७ः चासो बढाउँदै निजी क्षेत्र

प्रदेश-७ मा प्राधिकरणले हालै निर्माण सम्पन्न गरेको ३० मेगावाटको चमेलिया आयोजना सञ्चालनमा आएको छ । चमेलियाको निर्माण शुरु भएपछि निजी क्षेत्रले पनि उक्त प्रदेशमा लगानी गर्न चासो बढाएको थियो । सोही कारण निजी क्षेत्रका ६ वटा आयोजना निर्माणाधीन छन् । ती सबैको कुल क्षमता ७६ मेगावाट छ ।

निजी क्षेत्रले ११ मेगावाटका तीन वटा आयोजनाको ‘फाइनान्सियल क्लोजर’ बाँकी छ । यस्तै, एक सय ५२ मेगावाटका आठ वटा आयोजनाको निजी क्षेत्रले पीपीए प्रक्रिया बढाएको छ ।

कार्यकारी निर्देशक घिसिङ भन्छन्, ‘चमेलियाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न प्रसारण लाइनको निर्माण भयो, जसका कारण पनि उक्त क्षेत्रमा अहिले निजी क्षेत्रका लगानीकर्ता आकषिर्त भएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment