Comments Add Comment

किशोरी गल्फरको यात्रा : काठमाडौँदेखि क्यानिफोर्नियासम्म

प्रतिमा शेर्पा (बायाँबाट दोस्रो), घरमा बाबुआमालाई काम सघाउँदै । फोटो : एएफपी

काठमाडौँमा आफ्नो सानो झुप्रोसँगै रहेको गल्फ कोर्समा खेलिएका खेल हेर्दै हुर्केकी प्रतिमा शेर्पाले अघिल्लो गर्मी याममा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिन् ।

नेपालको पहिलो व्यावसायिक महिला गल्फर बन्ने उनको सपनामा कस्तो छ त ?

जिन्दगीभन्दा पुरानो गल्फसँगको नाता

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमै रहेको रोयल नेपाल गल्फ क्लबको कोर्स (मैदान) सँगैको एउटा छाप्रोमा मेरो जन्म भयो ।

मेरो बाल्यकाल पनि त्यहीँ नै बित्यो । त्यसैले म जन्मिएदेखि नै गल्फकी साथी बनेँ । अझ मेरा बाआमाको पहिलो भेट नै गल्फ कोर्समा भएको हो रे, जति बेला दुबै जना त्यहाँ काम गर्नुहुन्थ्यो ।

मेरा घरभरी उहाँहरूले काममा प्रयोग गर्ने घाँस काट्ने मेसिन लगायत विभिन्न सामग्री छन् । सायद् लठ्ठीले गल्फ बललाई हान्दा निस्कने आवाज मेरा कानले सबभन्दा पहिले सुनेका ध्वनिहरूमध्ये एक होला ।

ढुङ्गे गल्फ

आजभन्दा करिब आठ वर्ष अगाडि म ११ वर्षकी हुँदा साँँच्चै नै म गल्फ खेल्न थालेँ । त्योभन्दा अगाडि ठुला मान्छेले गल्फ खेलेको देखेर म अरू साथीसँग मिलेर लठ्ठीले ढुङ्गालाई यताउता गुडाउँथेँ ।

गल्फकोर्समा प्राक्टिस गर्दै प्रतिमा

यसै वर्ष नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नु अगाडि डन्डीबियोलाई राष्ट्रिय खेल मानिन्थ्यो । डन्डीबियो खेल्दा करिब छ इन्च लामो काठको डन्डीलाई माथितिर हावामा हिर्काउनुपर्छ ।

अर्को खेलाडीले त्यो डन्डी भेट्टाउनुभन्दा अगाडि नै त्यसलाई फेरि हिर्काउनुपर्छ । बेलायतीहरूले पनि करिब यस्तै किसिमको खेल खेल्छन्, टिपक्याट नाममा । आधारभूत रूपमा डन्डीबियो पनि गल्फजस्तै खेल हो, तर यसलाई गाउँले, सहरिया, धनी, गरिब सबैले खेल्न सक्छन् ।

अनि खेलमा जमियो

घर नजिकैको गल्फ क्लबले साना खेलाडीका लागि एक कार्यक्रम चलाएपछि मात्र मैले राम्ररी गल्फ खेल्न सिकेँ । एक जना प्रशिक्षकले त ममा यो खेलका लागि प्राकृतिक प्रतिभा भएको कुरा बताए र मलाई उनको समूहमा राखे । उनले क्लबका एक जना सदस्यलाई मलाई पुराना क्लब (लठ्ठी) दिन भने ।

सुरुमा मेरा आमाबाले सोच्नुभो कि सामान्य परिवारकी एउटी केटी भएर मैले धनीको खेल खेलेर राम्रो गरिनँ । तर अहिले त हाम्रा घरमा ४०भन्दा बढी ट्रफी भित्रिसकेका छन्, र आमाबा पनि आफ्नी छोरी देखेर मख्ख हुनुहुन्छ ।

म नेपालकी सर्वोत्कृष्ट महिला गल्फर भएकी छु । (हुन त यसो भन्दा घमण्ड गरेजस्तो सुनिने भएकाले म यसो भन्न चाहान्नँ ।)

म कम्तीमा दिनको दुई घण्टा अभ्यास गर्छु । मेरो अभ्यासका क्रममा मैदान बाहिर विभिन्न मान्छे आएर हेरिरहेका हुन्छन् । हुन त अन्य मैदानमा गल्फ खेल्नु र यहाँ खेल्नुमा धेरै फरक छ । कहिलेकाँहि बाँदरले बललाई अण्डा भन्ठान्छन् र टिपेर लैजान्छन् । कहिलेकाँहि चितुवाले तर्साउँछन् ।

विमानस्थल विस्तारको डर र भुईँचालोको सम्झना

काठमाडौँमा गल्फ खेल्न थालिएको भर्खरै सय वर्ष पुगेको छ । हुन त नेपालजस्तो पहाडी देशका लागि यो उपयुक्त खेल होइन । आजभन्दा सय वर्ष अगाडि हाम्रा प्रधानमन्त्री स्कटल्यान्डमा गएका थिए रे ।

उनले फर्कदा एक सेट क्लब ल्याएर कोर्स बनाए रे । लामो समयसम्म धनीमानी र विदेशीले मात्र यो खेल खेले । विक्रम संवत् २०२१/२२मा (सन् १९६५मा) रोयल नेपाल गल्फ क्लब स्थापना भयो । अहिले यहाँ गल्फ खेल्न नौ होल (दुलाहरू) छन् ।

काठमाडौंस्थित गल्फकोर्समा आमासँगै बाख्रा चराउँदै प्रतिमा ।

अचेल बेलाबेला यहाँको विमान स्थलको क्षेत्र विस्तार गरिँदै छ भन्ने हल्ला चल्छ । यदि त्यस्तो भयो भने यहाँको कोर्स बन्द हुन्छ । त्यस्तै भो भने हामी कहाँ खेल्छौँ म भन्न सक्दिनँ । हुन त म काठमाडौँको अर्को कोर्स, गोकर्णमा पनि खेल्छु । नेपालमा जम्मा चार कोर्स छन् : यहाँ, गोकर्ण, पोखरा र धरान ।

विक्रम संवत् २०७२को भूकम्पका बेला म यहीँ घरमै थिएँ । काठमाडौँमा ठूलो क्षति भयो । त्यो बेला सयौँ मानिसले हाम्रो गल्फ कोर्सलाई अस्थायी आश्रय स्थल बनाए । उनीहरूले महिनौसम्म कोर्स छोडेनन् ।

काठमाडौँदेखि क्यालिफोर्निया

अग्ला ठाउँमा काम गर्ने बानी परेका धेरै शेर्पाहरूजस्तै मेरा बा पनि पथ प्रदर्शक (ट्रेकिङ् गाइड) थिए । सबभन्दा पहिला सगरमाथा चढ्ने तेन्जिङ् शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीको नाम त सबैले सुनेकै हुन्छन् ।

त्यसैले म शेर्पा भन्ने बित्तिकै कसैले मलाई तेन्जिङ शेर्पासँग के नाता पर्छ भनेर सोध्छन् । त्यो मलाई थाहा हुने कुरा भएन । नाता भए नै पनि त्यति नजिकैको नाता छैन होला ।

धेरै समयसम्म म विदेश जान पाइँन किनकि मसँग राहदानी (पासपोर्ट) थिएन । मेरा बाको जन्म दर्ता नभएका कारण मेरो पासपोर्ट बनाउन समस्या परेको थियो ।

करिब ५० वर्ष अगाडि मेरा बाको जन्म हुँदा यस्ता कागजातको खासै वास्ता हुँदैनथ्यो । सामान्य कागज बनाउन नै हजुरबालाई सरकारी कार्यालय धाउनुपर्ने भएकाले उहाँलाई त्यो सब गरिराख्नु बिनाअर्थ लाग्यो रे ।

त्यसैले हामीले सरकारी कर्मचारीलाई कुन अपवाद देखाएर पासपोर्ट लिन सक्छौँ भनेर सोच्यौँ । पछि एक अमेरिकी क्लबका सदस्यले मलाई धर्म पुत्री बनाउने भए । तर फेरि मलाई आफ्ना आमाबा छाड्न मन थिएन । पछि केही आफन्तको सहयोगमा मैले पासपोर्ट पाएँ । त्यसपछि यो गर्मी याममा म क्यालिफोर्निया गएँ ।

भोलि के होला ?

म क्यालिफोर्निया रहँदा एक जना सफ्टवेयर इन्जिनियर र उनको परिवारसँग बसेँ । मैले लस एन्जल्सको पश्चिमोत्तर क्षेत्रको लस रोबल्समा गल्फ खेलेँ । त्यहाँको खेल गज्जब भो, यहाँको भन्दा फरक ।

संसारका विभिन्न भागबाट आएका आफ्नै उमेरका खेलाडीसँग मैले प्रतिस्पर्धा गरेँ । उनीहरूसँग घुलमिल गर्दा र आआफ्ना अनुभवका कुरा गर्दा रमाइलो भयो । सुरुमा त म निक्कै आत्तिएकी थिएँ । मैले जम्मा सात खेल खेलेँ, दुई ओटामा सर्वोत्कृष्ट छ खेलाडीमा परेँ भने एउटा खेल जितेँ ।

गल्फकोर्सको ड्राइभिङ रेञ्जमा प्राक्टिस गर्दै प्रतिमा ।

भोलि के होला भनेर म अहिल्यै बताउन सक्दिँन । मलाई फेरि अमेरिका लगेर सान्ता बार्बरा सिटी कलेजमा गल्फ सिकाउन हङ्कङ्का एक प्रायोजकले चासो देखाएका छन् ।

मलाई फाल्डो सिरिज चाइना च्याम्पियनसिपमा पनि खेल्न मन छ । उत्तरी आयरल्यान्डका रोरि मक्रोई र ताइवानकी यानी सेङ्ले खेलेको च्याम्पियनसिप हो यो । हुन त अहिले पनि म पाँच ओटा चोट सहेर खेलिरहेकी छु ।

म नेपालकी पहिलो व्यावसायिक महिला गल्फर बन्न चाहान्छु । तर भोलि मेरो यात्रा कस्तो हुनेर भन्न सक्दिनँ । मलाई मान्छेहरूले गल्फ खेल र परिवारलाई सहयोगमध्ये एक रोज्न भन्छन् ।

तर मैले किन दुबै कुरा एकसाथ लैजान सक्दिनँ भनेर उनीहरू भन्छन् मैले बुझेकी छैन । म अचेल काठमाडौँको थेम्स इन्टरनेसनल कलेजमा चार वर्षे बिजनेस स्टडिज् पढिरहेकी छु । आखिर सबै विकल्प खुला राख्नु राम्रै त हुन्छ ।

परिश्रमको मिठो फल

हाम्रा परम्परा आफ्ना ठाउँमा छन्, नेपालमा परिवर्तन पनि भइरहेकै छ । हालसालै तिन वर्षकी एक बालिकालाई कुमारी बनाइएको छ । अब उनलाई काठमाडौँ दरबार क्षेत्रको सुविधा सम्पन्न दरबारमा पुल्पुल्याएर राखिन्छ, जीवित देवीका रूपमा पूजा गरिन्छ ।

किशोर उमेर पुगेपछि उनी त्यहाँबाट हटि्छन्, अनि आफ्नै घर गएर सामान्य जीवन सुरु गर्छिन् । उनले पेन्सन पनि पाउँछिन् । यस्ता परम्परा कायमै रहे पनि राजसंस्थाको पतन भइसकेको छ, नयाँ शासन आएको छ ।

अर्थात्, महिलाहरूका लागि धेरै अवसर छन् । नेपालीमा भनाइ नै छ नि : परिश्रमको फल जहिल्यै मिठो हुन्छ । म गल्फमै परिश्रम गरेर मिठो फल चाख्न चाहन्छु । म त्यसका लागि सकेसम्म मिहिनेत गर्नेछु ।

साउथ चाइना मर्निङ पोस्टका लागि एडी पिटर्सले  तयार पारेको सामग्रीको अनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment