+
+
Shares

मातृका यादवः व्यवसाय डुबेको मजदुरको छोरो उद्योगमन्त्री

व्यापारी या पियन बन्न पाएनन्, उद्योगमन्त्री बने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १४ गते १९:५७


१४ फागुन, काठमाडौं । माओवादी नेता मात्रिका यादव तेस्रोपटक मन्त्री बनेका छन् । अघिल्लोपटक मन्त्री हुँदा एलडीओलाई ट्वाइलेटमा थुनेका मन्त्री यादव ‘क्रान्तिकारी’ स्वाभावका नेता हुन् । उनी मन्त्री बन्नासाथ भ्रष्टाचारी र विचौलियाहरु त्राहीमाम देखिएका छन् ।

अब मात्रिकाले के गर्ने हुन् भन्ने चासो छ जनमानसमा ।

यसअघि दुईपटक मन्त्री भएका यादवले दुबैचोटि आफैं राजीनामा ठोकेर हिँडेका थिए ।

०६४ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य बनेका उनी गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा वन मन्त्री थिए । त्यतिबेला ललितपुरमा सञ्चालित ढुंगाखानी बन्द गर्न दिएको निर्देशन नमानेको भन्दै एलडीओलाई ट्वाइलेटमा थुनेर उनी चर्चामा आए । लगत्तै, प्रधानमन्त्री कोइरालासँगको विवादका कारण राजीनामा दिएर हिँडे ।

०६४ को संविधानसभामा समानुपातिक सांसद बनेका यादव प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री बने । त्यतिबेला पनि उनले सरकारबाट आफूलाई काममा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजीनामा दिए ।

यादवले त्यसबेला सरकारमात्रै छोडेनन्, माओवादी पार्टीबाटै अलग भए । र, अर्कै समूह गठन गरे । ०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा -माओवादी) को संयोजक भएका उनी ०७३ जेठमा प्रचण्डसँग पार्टी एकता गर्न आइपुगे ।

माओवादीसँग एकता गरेपछि यसपटक धनुषा १ बाट निर्वाचन जितेका यादवलाई यसपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा परेको छ ।

माओवादीसँग एकतामा आउँदा एक मधेस एक प्रदेशको मुद्दा लिएरै आएको बताउने यादवले अहिलेसम्म उक्त मुद्दा नछाडेको बताउने गरेका छन् । माओवादीसँग एकतापछि पार्टीको कार्यालय सदस्यसहित उनी मधेसका इञ्चार्जको भूमिका छन् ।

राजनीतिक हण्डर

यादवले ०३४ देखि नेपाल कम्युनिष्ट पार्टी -चौथो महाधिवेशन) बाट राजनीति सुरु गरेका हुन् । उनी ०३८ मा विद्यार्थीको सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने ।

चौथो महाधिवेशनबाट नेकपा चौमको पोलिटब्युरो सदस्य भएका उनलाई ०३८ चैतमा पक्राउ गरी डिल्लीबजार कारागारमा राखियो । त्यहाँ उनले आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरु आक्रमण गर्न आए ।

त्यतिबेला मातृका यादवहरुले जेलको गेट कब्जामा लिएका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो ।

यादवले ०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनको केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य भएर काम गरे । ०४२ मा उनी ९ महिना जेल बसे । ०४६ सालमा फेरि पक्राउ परेर १८ महिना खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा परे ।

०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रमा यादव संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनले रामबृक्ष यादव -मास्टर साहेब) लाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् । ०५२ सालमा नेकपा माओवादी भूमिगत भयो, उनी धनुषामा केन्द्रित रहे ।

यादव ०५६ सालमा श्रीमतीको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ परे । एक वर्षसम्म उनी वेपत्ता रहे । ०५८ मा फेरि जेलमा परे । ०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेलमुक्त भए । त्यसपछि दोस्रो वार्ताकालमा वार्ता टोलीको सदस्य बने । यादव ०६० मा फेरि दिल्लीबाट पक्राउ परे । ०६३ को वैशाख अन्तिमतिर छुटे ।

सुरुमा मात्रिका यादव नेपाली कांग्रेसप्रति आकषिर्त थिए । त्यही भएर बुबाले उनको नाम मात्रिका राखिदिएको उनले बताउने गरेका छन् । ०३३ सालमा वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर पञ्चायतसँग सम्झौता गरेको भन्दै मात्रिका कम्यनिष्ट पार्टीतिर लागेका हुन् ।

व्यवसाय डुबेको मजदुरको छोरो

पदभार सम्हालेपछि कर्मचारीलार्इ निर्देशन दिँदै मन्त्री यादव

मन्त्री यादवको जन्म धनुषाको सबैलामा विसं. २०१५ साल असोज ३० गते भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा आइएडसम्मको शिक्षा हासिल गरेका छन् । ०३० सालमा प्रमिला यादवसँग बिहे हुँदा मात्रिका ८ कक्षामा पढ्दै थिए ।

मन्त्री यादवका पाँचजना छोराछोरी छन् ।

मात्रिकाको वाल्यकाल निकै दुखपूर्ण रह्यो । उनका बुबा अयोधी यादव सामान्य खेतीपाती र व्यापार व्यवसाय गर्थे । व्यापारकै क्रममा घाटा लागेपछि उनका पिता मजदुरमा परिणत भए ।

गाउँका जाली फटाहाले मुद्दा लगाएर मात्रिकाका बुबा र दाजुलाई १८ महिनासम्म जेलमा हालेपछि मात्रिकामा क्रान्तिकारी झकाव बढ्न थाल्यो । त्यही कारणले आफ्नो पढाइ अघि बनाउन नसकेको उनी बताउँछन् ।

बुबालाई व्यापार घाटा नलागेको भए आफू व्यापारी बन्ने सम्भावना रहेको यादवले बताउने गरेका छन् । साथै समयमै नागरिकता बनेको भए सरकारी कार्यालयको पियन बन्ने सम्भावना रहेको पनि उनको स्मरण छ । एसएलसीपछि कृषि पढ्न खोज्दा नाम निस्किएन र उनी राजनीतिमा बढी सक्रिय भए ।

आखिर राजनीतिलाई ‘सम्भावनाको खेल’ त्यसै भनिएको होइन रहेछ । किनकि, व्यवसाय डुबेर मजदुरमा परिणत भएका तिनै बाबुका छोरा अहिले देशको उद्योगमन्त्री बन्न सफल भएका छन् । आशा गरौं- अब कुनै बाबुआमाको उद्योग व्यवसाय नडुकोस् र उनी सफल उद्योग बन्त्री बन्न सकुन् । जनताको जनजीवन सहज बनोस्, कालोबजारियाको अन्त्य होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?