१५ फागुन, रौतहट । रौतहटको कटहरिया नगरपालिकाको छेदी चोकमा सोमवार राति बन्चरो प्रहार गरी एक जनाको हत्या भएको छ ।
स्थानीय कटहरीया नगरपालिका वडा नम्बर १ छेदीचौक निवासी ४० वर्षीय शिवमंगल महतो नुनियाको बन्चरो प्रहार गरी हत्या भएको हो ।
हत्याको आरोपमा नुनियाका छिमेकी वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार राति ९ बजेको समयमा शिवमंगल आफनो खेतवारीवाट घर फक्रिने क्रममा छिमेकी वीरेन्द्रले पुरानो रिसिइवी साँध्न गाउँ भन्दा करिब पाँच सय मिटर पर एकान्त स्थानमा नुनियाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
नुनियालाई वीरेन्द्रले पछाडीबाट टाउकोमा बन्चरो प्रहारा गरेपछि घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
अबेरसम्म शिवमंगल घरमा नआएपछि स्थानीय वासिन्दा र उनका परिवारले खोजी गर्दा बाटोमै शिव मंगलमाथि बन्चरो प्रहार गरी भाग्दै गरेका वीरेन्द्रलाई देखेका थिए । उनीहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले वीरेन्द्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
घटनाको विषयमा जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय गौरवाट रौतहट प्रहरी प्रमुख यज्ञविनोद पोखरेलको कमाण्डमा इलाका प्रहरी कार्यालय गरुडा र इप्रका कटहरीयाको प्रहरी टोली घटना स्थलमा पुगेर थियो ।
घटनाको विषयमा प्रारम्भिक अनुसन्धानको क्रममा मुख्य अभियुक्त वीरेन्द्रलाई राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको एसपी पोखरेलले बताएका छन् । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र पोस्टमार्टम पछि अन्तिम संस्कारको लागि शव परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
यसैगरी रौतहटको चन्द्रपुर नपा-३ भोलेन्टारमा सोमबार राति धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन ।
घाइते हुनेमा बीरबहादुर स्याङ्गतान, सार्कीमान थिङ्ग, पूर्णबहादुर ठोकर र बुद्ध ठोकर रहेका छन । घाइते मध्ये बीरबहादुर स्याङ्गतानलाई चन्द्रनिगाहपुर अस्पतालबाट थप उपचारको लागि भरतपुर पठाइएको छ भने अन्य तीन जनाको उपचार चन्द्रनिगाहपुर अस्पतालमा भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
फुटबल खेल्ने निहुमा बालबालिका बीच भएको झगडाको बिषयलाई लिएर उनीहरु माथि धारिलो हतियार प्रहार भएको जनाइएको छ ।
धारिलो हतियार प्रहार गर्ने समूह फरार रहेको र उनीहरुले प्रयोग गरेको मोटरसाइकल बरामद भएको तथा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ ।
प्रतिक्रिया 4