Comments Add Comment

मुख्यमन्त्री पौडेलले गरे हेटौंडा-धरान जोड्ने सडकको स्थलगत अवलोकन

१६ फागुन, मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा-सिन्धुली हुँदै धरानसम्म जोड्ने निर्माणाधिन सडकको स्थलगत अवलोकन गरेका छन् ।

बुधबार बिहान मुख्यमन्त्री पौडेल, गृहमन्त्री शालिकराम जमरकट्टेल र आयोजना प्रमुख कर्णबहादुर रानाभाटसहितको टोली अनुगमनमा निस्किएको हो । टोली अनुगमन गर्दै वागमतीसम्म पुग्ने योजना छ ।

केही दिनअघि पौडेलले मुग्लिन-नारायणगढ सडकखण्डको पनि स्थलगत अवलोकन गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा हुने अवरोधलाई हटाउन हेटौंडा-धरान सडक महत्वपूर्ण मानिएको छ ।

३१८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौंडासँग जोड्छ । हाल हेटौंडा-सिन्धुली र सिन्धुली-उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम चलिरहेको छ ।

सडक हेटौंडाको बुद्धचोकबाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुन/उपत्यकालाई यातायात सञ्जालमा जोड्दै धरान पुगेर टुंगिन्छ । मधेस आन्दोलनको क्रममा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि यो सडकको कन्सेप्ट ल्याइएको थियो ।

सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरी कामलाई तिव्रता दिइएको छ । उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किलोमिटर पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटर सडकलाई पश्चिमी खण्डका रूपमा विभाजन गरिएको छ ।

हालसम्म योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिब १ सय १० किलोमिटर ग्राभेल भएको छ भने बाँकी सडक धुलाम्य अवस्थामा छ । योजनाकाअनुसार सम्पूर्ण सडक दुई लेन विस्तार गरी स्तरोन्नति गरिने बताइएको छ । हाल कालोपत्रे भइसकेको करिब २० किलोमिटर बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किलोमिटर सडक विभागले कालोपत्रे तथा विस्तार गर्ने जिम्मा लिएको छ ।

सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ । ०६४/६५ बाट सुरु भएको आयोजनाको कुल लागत १० अर्ब मध्य ७ अर्ब सडकमा र ३ अर्ब पुलको कामका लागि छुट्याइएको प्रमुख रानाभाटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment