
२० फागुन, प्यूठान । स्थानीय तहको अधिकांस बजेट अहिले सडक निर्माण मै विनियोजन भएका छन् । कम लागतमा धेरै बाटो खन्ने उद्देश्यले वातावरणीय प्रभावलाई समेत वेवास्ता गर्दै ‘हेवी इक्युपमेन्ट’हरु प्रयोग हुने गरेका छन् ।
तर, झिमरुक गाउँपालिका-६ तोरवाङका स्थानीय कुटो कोदालो बोकेर मोटरबाटो खन्न कस्सिएका छन् । गाउँपालिकाबाट विनियोजित दुई लाख रुपैंयाले सडक निर्माण अधुरो भए पछि स्थानीयले मोटोरबाटो खन्न श्रमदान गर्दैछन् ।
तोरवाङको चिसावाङ्ग, कुटिचौरलाई वडा कार्यालयसँग जोड्नका लागि स्थानीयको सक्रियता बढेको हो । उनीहरुले घरायसी औजारहरु कुटो, कोदालो, सावेल, फरुवा, बेल्चा, गैंती लिएर बाटो खन्ना थालेका छन् ।
घुम्नेठाँटी-नेटा मोटोरबाटो जोड्नका लागि एक किलोमिटर सडक निर्माणमा स्थानीय जुटेको वडा अध्यक्ष निमानसिंह जी.सी.ले जानकारी दिए । यो सडकले चिसावाङ्ग, कुटिचौरका तीन सय बढी घरधुरीलाई वडा कार्यालय पुग्न सहज हुनेछ । यहाँका स्थानीय अहिले प्यूठान नगरपालिका हुँदै घुमाउरो बाटो भएर वडा कार्यालय पुग्ने गरेका छन् ।
मोटरबाटो जोडिएमा यसले प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका हुँदै अर्घाखाँची सोलहल्नासम्म जोड्न सहज हुने वडा अध्यक्ष जि.सी.ले बताए ।
‘गाउँपालिकाको बजेटले गाउँमा बाटो जोडिएन’, स्थानीय ७२ वर्षीय ध्वजबहादुर के.सीले भने, ‘त्यसैले हामीले आफै बाटो खन्न थालेका हौं ।’ गाउँका सर्वसाधारण स्वतस्फूर्त रुपमा बाटो खन्न जुटेको उनले बताए ।
तीन मिटरको बाटो निर्माण शुरु गरिएको भन्दै गाउँपालिकाका प्राविधिक नगेन्द्र आचार्यले बाटोमा पिकअप जिप, एम्वुलेन्सहरु सहज रुपमा सञ्चालन हुने बताए ।
गाउँपालिकाको अधिकांस बजेट पूर्वाधार निर्माणमै विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराकिरण के.सी.ले बताए । विकासलाई दिगो बनाउन जनसहभागीता आवश्यक रहेको उनको भनाइ थियो । ‘जनसहभागीताविना दिगो विकास हुन सक्दैन’, उनले भने, ‘यो देखाउनका लागि नभइ विकासमा जनताको सहभागीता गराउने शुरुवात हो ।’
गाउँसभाबाटै नीति पारित गरी प्रत्येक महिनामा कम्तिमा एक दिन प्रत्येक व्यक्तिले विकासमा श्रमदान गर्नेछन् ।
हिँडडुल गर्नै समस्या पर्ने ठाउँहरुमा सडकका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष तिलक जि.सी.ले बताए । अधिकांस ठाउँहरुमा सडक निर्माण भएकाले यसलाई स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन गर्ने गरी स्तरोन्नती गर्ने योजना उनले सुनाए ।
सडक सञ्जालले चेतनास्तरमा बृद्धि, सांस्कृतिक विकास, उत्पादनमा प्रोत्साहन, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत जस्ता पूर्वाधार विकासमा सहज पुग्ने उनको दावी छ । पूर्वाधार विकासमा वातावरणीय पक्षको विश्लेषणमा भने कमजोरी हुने गरेको उनले स्विकार गरे ।
प्रतिक्रिया 4