Comments Add Comment

सुष्मालाई भेटेपछि ओलीमा विचलनः मसाल

एमाले र माओवादी भारतपरस्त भएको अारोप

२१ फागुन, काठमाडौं । निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गरेको नेकपा मसालले नेकपा एमाले र माओवादी केन्द्र भारत परस्त भएको आरोप लगाएको छ । उसले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा विचलन आएको दावीसमेत गरेको छ ।

मोहनविक्रम सिंह नेतृत्वको मसालको छैटौं राष्ट्रिय भेला फागुन पहिलो साता आयोजना भएको थियो । भेलाले आगामी एक वर्षभित्र पार्टीको आठौं महाधिवेशन गर्ने निर्णय गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंह अर्धभूमिगत जीवन बिताउँदै आएका छन् । मसालको वैधानिक मोर्चाको रुपमा राष्ट्रिय जनमोर्चाको नेतृत्व चित्रबहादुर केसीले गर्दै आएका छन् ।

भेलाबाट पारित मसालको राजनीतिक प्रतिवेदनमा एमाले र माओवादीले भारत परस्त नीति अपनाएको उल्लेख छ । राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘दोस्रो संविधान संशोधन विधेयक, चीनसितका सन्धिहरु, भारतका विरुद्ध कतिपय अडान आदिका प्रसङ्गहरुमा ओली वा एमालेले लिएका अडानहरुलाई हामीले समर्थन गरेका थियौं । त्यस सन्दर्भमा कतिपय प्रश्नहरुमा हामीले उनीहरुसित कार्यगत एकता वा काममा कोअर्डिनेसन गरेर संसदभित्र वा बाहिर संयुक्त रूपले संघर्ष गरेका थियौं । तर त्यसो गर्ने बेलामा कतिपय प्रसंगहरुमा उसले भारतपरस्त नीति अपनाएको कुरा पनि लुकेको छैन ।’

प्रतिवेदनमा थप लेखिएको छ, ‘संविधान निर्माणको क्रममा पहाडी भागहरुबाट अलग गरेर दुई नं. प्रदेशको निर्माण, नागरिकताबारे कतिपय उदार नीतिहरु आदिबारे उनीहरुले अपनाएका नीतिहरु वा प्रथम संविधान संशोधन विधेयकलाई पारित गराउन ओलीले खेलेको भूमिकाप्रति पनि हाम्रो ध्यान छ । महाकाली सन्धिलाई पारित गराउन ओलीले खेलेको भूमिका पनि कुनै लुकेको कुरा होइन । भारतीय विदेश मन्त्री सुष्मा स्वराजसितको उनको भेटघाटपछि उनको पहिलेको अडानबाट विचलन आउने सम्भावनालाई पनि पुरै अस्वीकार गर्न सकिन्न ।’

यसैगरी माओवादी केन्द्रले पनि विगतमा बारम्बार भारतपरस्त नीति अपनाउने गरेका कैयौं उदाहरणहरु रहेको मसालको दावी छ । उदाहरणको रुपमा ओली सरकारबाट अलग भएर नेपाली कांग्रेससँग गठबन्धन गरेको र संविधान संशोधन विधेयकलाई पारित गराउन पहल गरेको कुरालाई मसालले प्रतिवेदनमा उल्लेख गरेको छ ।

एमाले र माओवादीलाई ‘सम्झौतापरस्त मित्र शक्ति’ र कांग्रेसलाई ‘दुश्मन शक्ति’को रुपमा मसालले चित्रित गरेको छ । तर उनीहरुसँग कार्यगत एकता वा तालमेल गर्ने नीतिलाई भने उसले खुल्ला राखेको छ । आवश्यकताअनुसार एकता वा संघर्षको नीति अपनाउने मसालले जनाएको छ ।

‘हाम्रो संयुक्त मोर्चा सम्बन्धी नीति मार्क्सवादी-लेनिनवादी दृष्टिकोण अनुरूप नै छ । दुवैसित आवश्यकताअनुसार एकता र संघर्षको नीति अपनाइन्छ,’ मसालको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘उनीहरुलाई पुरै दुश्मन शक्ति ठान्ने वा कुनै पनि अवस्थामा उनीहरुसित कार्यगत एकता नगर्ने सोचाइलाई हामीले सही मान्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment