Comments Add Comment

महाकाली नदीका काठेपुल नेपाल सरकारको स्वीकृतिपछि मात्रै सञ्चालन हुने

२१ फागुन, दार्चुला । महाकाली नदीमा भारतले निर्माण गरेका काठेपुल नेपाल सरकारको स्वीकृतीपछि मात्रै संचालनमा आउने भएका छन् ।

भारतको पिथौरगढमा सोमबार बसेको नेपाल-भारत सीमा सुरक्षा अधिकारीहरुको बैठकले महाकाली नदी अन्तर्राष्ट्रिय सीमामा पर्ने भएकोले काठेपुलहरु स्वीकृतिपछि मात्रै संचालन गर्ने सहमति भएको हो ।

नेपालको व्याँस गाउँपालिका वडा नम्बर २ का विभिन्न ४ ठाउँमा विना जानकारी बनाइएका ४ वटा काठेपुल र नेपाली भूमिमा बनाएको बाटो केन्द्र सरकारको अनुमति पश्चात् मात्रै सञ्चालन गर्ने सहमति भएको हो ।

व्याँस गाउँपालिका वडा नम्बर २ राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंगखोला, लखनपुर र बुदीको कौथलामा ४ ओटा पुल निर्माण गरिएका थिए । साथै नेपाली भूमिमा डेढ किलोमिटर सडक र झण्डै २ किलोमिटर गोरेटो बाटो समेत निर्माण गरिएको छ ।

त्यस्तै भारतको खोतिलामा गएको पहिरो हटाउन दुबै पक्षले प्राविधिक अध्ययन गर्ने द्विपक्षीय सहमति भएको छ ।

भारतको खोतिलामा गएको सुख्खा पहिरोको कारण नेपालका बंगाबगडको नदी किनारा बस्ती खतरामा हुनुको साथै महाकाली नदी नियन्त्रण आयोजनाको तटबन्ध निर्माण कार्य समेत प्रभावित भएको थियो ।

बेला-बेला नेपालले पहिरो हटाउनका लागि माग गरेपनि भारतले बेवास्ता गर्ने गरेकाले तटबन्ध निर्माणको कार्य प्रभावित भएको आयोजनाले विभिन्न बैठकमा कुरा समेत उठाउने गरेको थियो ।

उक्त पहिरोकै कारण नदी साघुरिन गई बंगाबगड क्षेत्रमा निर्माण गरिएको तटबन्धमा समेत क्षती पुगेको थियो । त्यस क्षेत्रमा पहिरो नहटाएसम्म तटबन्धको कार्य समेत गर्न नसकिने आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले जानकारी दिए ।

त्यस्तै नेपाल भारत जोड्ने जौलजिबी र दत्तुमा रहेको झोलुङ्गे पुल साँझ ७ बजेसम्म खुल्ला रहने भएको छ । यसअघि साँझ साढे ६ बजे नै बन्द गरिने जौलजिवी र दत्तु झोलुङ्गे पुल साँझ ७ बजे मात्रै बन्द गर्ने निर्णय समेत सीमा बैठकले गरेको छ ।

यसअघि साढे ६ बजे नै बन्द गरिने भएकाले स्थानीयहरुलाई निकै समस्या हुने गरेकामा अब स्थानीयहरुको आवागमन सहज हुने मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ वडाध्यक्ष लोकेन्द्रसिंह धामीले बताए । त्यस्तै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि लगायतका बारेमा समेत छलफल भएको छ ।

नेपाली टोलीमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका डिएसपी अम्बिका प्रसाद जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी जनकबहादुर शाही, जिल्ला प्राविधिक कार्यालय दार्चुलाका इन्जिनीयर करनसिंह धामी, सीमा प्रशासन कार्यालय दार्चुलाका नायब सुब्बा सतिस शाह, नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामी, पत्रकार कमल जोशी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment