नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्यटेलिश्रृंखला जिरे खुर्सानीबाट यसका ‘मास्टरमाइन्ड’ जितु नेपाल अलग भएका छन् । उनी यस टेलिश्रृंखलाका निर्देशक, लेखक तथा प्रमुख कलाकार थिए । आर्थिक तथा अन्य कारणले काम गर्ने वातावरण नभएपछि छोडेको उनले अनलाइनखबरलाई बताए ।
‘आफ्नो व्यस्तताबीच समय निकाल्नुपर्ने तर पैसा आउने सुनिश्चितता नहुने,’ उनले भने, ‘त्यसैले चाहेर पनि यसलाई निरन्तरता दिन सकिँन ।’ मिडिया हबले समयमा पैसा दिन नसकेर विगतमा पनि लामो समय जिरे खुर्सानी बन्द भएको थियो । तर, पुरानो पैसा चुक्ता गर्ने र अब पैसाको समस्या आउन नदिने भनेर आश्वासन पाएपछि २५ हप्ता अगाडिदेखि जितुले जिरे खुर्सानीलाई पुन अघि बढाएका थिए ।
तर मिडिया हब पुरानै समस्यामा देखिएको जितुले बताए । ‘उहाँहरु अहिले पनि आर्थिक समस्याबाट माथि उठ्न सक्नुभएको रहेनछ,’ उनले भने, ‘उहाँहरुले समयमा पैसा दिन नसक्दा मैले कलाकारहरुलाई पारिश्रमिक दिन सकिनँ ।’ जितुले उदाहरण दिँदै भने, ‘बिना पैसामा मैले राजाराम पौडेल जस्ता दिग्गज कलाकारलाई कसरी काम गराउन सक्छु ?’
जितुले छोडे पनि मिडिया हबले कार्यक्रमलाई निरन्तरता दिने छ । पहिले सहायक निर्देशकको रुपमा रहेका निरज नेपालले यसको निर्देशन गर्नेछन् । आगामी हप्ताबाट ‘निर्देशन सल्लाहकार’ भनेर जितुको नाम आउनेछ । तर, उनले काम गर्न छोडिसकेका छन् । जितुले मिडिया हबसँग जिरे खुर्सानी निर्माणका लागि आगामी असारसम्मको सम्झौता गरेका थिए । सोही सम्झौता बमोजिम उनको नाम असारसम्म आउने भएको हो ।
जिरे खुर्सानी छोडे पनि टेलिभिजनमा काम गर्ने उनको चाह अझै मरेको छैन । त्यसैले ३–४ महिनापछि नयाँ सोचका साथ नयाँ कार्यक्रम लिएर आउने उनको योजना छ । यद्यपि उनी मिडिया हबसँग भने अघाएका छन् । ‘भविष्यमा प्राइभेट च्यानलबाट राम्रो अफर आयो भने त्यतातिर लाग्न सक्छु,’ उनले भने, ‘तर पुरानो ढर्राको सिरियल भन्दा नयाँ खालको कार्यक्रम उत्पादन गर्ने सोचिरहेको छु ।’
जितु अहिले देशभित्रका महोत्सव तथा देशबाहिरका स्टेज शोहरुमा व्यस्त छन् । आज नै उनी दुई दिनका लागि कतार जानेछन् । कतारबाट फर्किनासाथ लुगा पनि नफेरि हङकङ जाने कार्यक्रम छ । हङकङबाट फर्केपछि उनी रामकहानी फिल्मको बाँकी सुटिङमा व्यस्त हुनेछन् । त्यो सिध्याएर छक्का पञ्जा ३ को स्क्रिप्टमा घोत्लिनेछन् ।
छक्का पञ्जा–३ को स्क्रिप्ट दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल मिलेर लेख्दैछन् । जिरे खुर्सानीले उनलाई ‘मुन्द्रे’ को नामले चिनाएको थियो । अहिले पनि स्टेज कार्यक्रमहरुमा उनको त्यही क्यारेक्टरको बढि डिमान्ड छ । हास्यकलाकारहरुका लागि टेलिभिजन कार्यक्रम आवश्यक भए पनि पछिल्लो समय टिभीका दर्शकहरु घटेको जितुको बुझाई छ ।
‘पहिले पहिले तितो सत्य, मेरी बास्सै, जिरे खुर्सानी छुट्ला भनेर नौ बज्नासाथ दर्शकहरु टिभी अगाडि बस्थे,’ उनी भन्छन्, ‘अहिले कसले टिभी हेर्छ, सबैले पायक पर्ने समयमा यूट्यूवमा हेर्छन् । मेरै कार्यक्रम पनि प्रत्येक एपिसोड २ लाखभन्दा बढिले यूट्यूवमा हेर्ने गरेका थिए ।’
हास्य टेलिश्रृंखलाहरुलाई दिगो बनाउनका लागि टिभी च्यानल, कार्यक्रम उत्पादन गर्ने एजेन्सी र कलाकारहरु तीनै पक्ष बसेर नयाँ नीति तथा सोचका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘हामीकहाँ एउटा सिरियल प्रशारण भइरहँदा देशमा कुनै घटना घट्यौ भने त्यसलाई काटेर समाचार दिन थाल्ने प्रचलन छ,’ उनले भने, ‘अन्यत्र यस्तो हुँदैन ।’
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4