Comments Add Comment

काम गर्ने साहस छ तर स्रोतसाधन छैन-मुख्यमन्त्री राउत

२३ फागुन, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले काम गर्ने साहा र आँट भएपनि स्रोत र साधन नभएको गुनासो गरेका छन् ।

रिपोर्टस क्लवले आयोजना गरेको साक्षत्कारमा बोल्दै मुख्यमन्त्री राउतले विकास र समृद्धि हाँसिल गर्ने अभियानमा जुटेको भएपनि स्रोतसाधान नहुँदा समस्या भएको बताएका हुन् ।

उनले भने, ‘हामीसँग गर्नसक्ने साहस र आँट छ, धेरै स्रोतसाधन छैन, भएका स्रोत र साधनलाई इमानदारपूर्वक सबै जनताले उपभोग गर्ने अवस्थामा पुर्‍याउँछौं ।’

मुख्यमन्त्री राउतले आफूहरु अहिले संरचना निर्माणमा केन्द्रित रहेको पनि सुनाए । ‘कार्यालयहरुको अभाव छ, हामी शुन्य अवस्थामा छौं ।

कार्यालय र मन्त्रालयको स्थापना हुँदैछ, कहाँबाट काम थालनी गर्ने हो ? बस्ने ठाउँ पनि छैन, बस्ने ठाउँहरु नभएर जनताको काम गर्न सकिएन्,’ ‘ उनले भने, ‘तर, यो समस्या नौलो होइन, यी र यस्ता खाले चूनौतीहरु पार लगाउँदै हामी प्रदेश नम्बर २ लाई समृद्ध बनाउँछौं ।’

मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी दिँदै मुख्यमन्त्री राउतले ऐन तथा नियम बनाएर कडा रुपमा उत्रिने बताए । ‘दोषीलाई कारबाही गर्नको लागि ऐन त चाहियो नि ? हामी त्यतातिर लाग्छौं, विधिसम्मत् रुपमा हामी भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही गर्छौं ।’ उनले भने ।

अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशमा शिक्षा, स्वास्थ्य र बाटोघाटोको व्यापक समस्या रहेको भन्दै उनले स्तरोन्नती गर्ने कामलाई समेत प्राथमिकतामा राखिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment