Comments Add Comment

सुनकोशी–इन्द्रावती नदी दोहनः उत्खनन् गर्नेलाई जिसस प्रमुखले गराए कम जरिवाना


२४ फागुन, सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले  आफैंले बनाएका नियम उल्लंघन गर्दै नदी उत्खननमा संलग्नलार्इ कम जरिवाना गराएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती, सुनकोशीलगायत नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन कार्य बढेपछि त्यसलाई पारदर्शी र व्यवस्थित बनाउन सरोकारवाला निकाय राखेर कार्यविधि निर्माण गरिएको थियो । नदी क्षेत्रबाट उत्खनन गरिने सामग्रीलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखसहितका सरोकारवालाको बैठकले कार्यविधि निर्माण गरेर कार्यान्वयन समेत सुरु गरेको थियो । कार्य विधिमा जिल्ला समन्वय समितिका प्रमुख तामाङले समेत हस्ताक्षर गरेका छन् । तर आफैंले बनाएको नीति नियमको धज्जी उडाउँदै जिसस प्रमुख तामाङले तोक आदेशका भरमा काम गर्न थालेका छन् ।

नदी क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री उत्खनन गर्दा कार्यविधि अनुसार नभए जरिवाना गर्ने उल्लेख छ । कार्यविधिमा नदीभित्र मेसिनरी औजारको प्रयोग गरी संकलन गरेमा मेसिनको स्तर हेरेर जरिवाना गर्ने भनिएको छ । कार्यविधिको ११ नम्बर दफाको (१) मा ठूलो ट्रिपर प्रयोग गरेमा १ लाख, ट्रक प्रयोग गरेमा ३० हजार, मिनी ट्रकलाई २० हजार र ट्रयाक्टर प्रयोग गरेर सामग्री उत्खनन गरेमा १० हजार जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि बनाएपछि यो नियमविपरीत नदीबाट सामग्री उत्खनन गरिरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरी कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाउँदा भने जिसस प्रमुख तामाङले कार्यविधिविपरीत काम गरेका छन् ।

०७४ माघ १० गते जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदीमा स्काभेटर प्रयोग गरी सामग्र्री निकालिरहेको अवस्थामा राति साढे ११ बजे स्काभेटर सहित ट्रिपर नियन्त्रणमा लिएको थियो । आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जिससलाई पत्र पठाएका छन् । प्रहरीले पठाएको पत्रमा जिसस प्रमुख तामाङले ८० हजारका दरले मात्रै राजश्व लिनु भन्दै ठाडो तोक लगाएका छन् । जबकि कार्यविधिमा यसरी सामग्री निकालेमा रु १ लाख जरिवाना गर्ने र रातिको समयमा निकाले त्यसको ५० प्रतिशत थप जरिवाना गर्ने उल्लेख छ । कार्यविधिलाई लत्याउँदै तामाङले तोक आदेशमा जम्मा ८० हजार मात्रै राजश्व संकलन भएको छ ।

माघ १९ गते सशस्त्र प्रहरीले सुनकोशी नदीबाट अवैध रुपमा सामग्री निकालिरहेको बेला राति ११ बजे पीसी २०० ना १ क २१२२ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले माघ २० गते जिससलाई पत्र पठाउँदै जरिवाना गरेर कारवाही प्रक्रिया अघि बढाउन पठाएको थियो । योपत्रमा पनि जिसस प्रमुख तामाङले तोक आदेश लगाए । योपटक भने उनले जम्मा ७५ हजार मात्रै लिनु भनेर तोक लगाए ।

कार्यविधि अनुसार १ लाख ५० हजार जरिवाना हुनु पर्नेमा तामाङले जम्मा ७५ हजार मात्रै राजश्व लिएर अरु माफी मिनाह गरेका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालयले जरिवाना असुल्दा पनि फरक–फरक रुपमा असुल गरिएको देखिएको छ । कार्यालयका अधिकृत युगबहादुर खड्काले तोक आदेश लगाउँदा प्रमुख तामाङले यसअघि लगाएको आदेश अनुसार नै जरिवाना गरिएको छ ।

रातिको समयमा नदीबाट सामग्र्री निकालिरहेको अवस्थामा प्रहरीले स्काभेटरलगायत सवारी साधन नियन्त्रणमा लिएर कारवाहीको लागि माघ ९ गते जिससलाई अर्काे पत्र पठाएको थियो । त्यो पत्रमा कार्यालयका अधिकृत युगबहादुर खडकाले पुर्व पत्रअनुसार नै आवश्यक कारवाही प्रक्रिया गर्ने भन्दै जम्मा ७५ हजार मात्रै जरिवाना गरेर नियन्त्रणमा लिएको स्काभेट छाडिएको थियो ।

जिसस प्रमुख र अधिकृत युगबहादुर खडकाले कार्यविधिविपरीत जरिवाना गरे पनि स्थानीय विकास अधिकारी जगन्नाथ पन्तले भने कार्यविधि अनुसार नै जरिवाना गरेका छन् ।

यसरी एउटै कार्यालयले फरक–फरक जरिवाना गर्दा जिल्लामा संकलन हुने लाखौं राजश्व रकम गुमेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कार्यविधि अनुसार रजाश्व संकलन नहुनु गलत भएको बताए । ‘हामीले व्यवस्थित गर्नका लागि सबैलाई मान्य हुनेगरी कार्यविधि बनाएका हौं,’ प्रजिअ तामाङले भने, ‘कार्यविधिमा जे उल्लेख गरिएको छ, त्यही अनुसार चल्नु पर्छ ।’


कार्यविधि उल्लंघन भएपछि जिल्ला स्तरीय अनुगमन समितिले यसअघि कार्यविधिमा भएको व्यवस्थालाई अक्षरशः पालना गर्न अनुरोध गरेको छ ।

जिसस प्रमुख तामाङ भने गल्ती नै नभएको अवस्थामा पक्राउ परेकाहरुको हकमा भने त्यसरी जरिवाना गरिएको दाबी गर्छन् । ‘नदीमा गएर उत्खनन सुरु नहुँदै धेरै पक्राउ परेको देखियो, उनीहरुको भावनालाई सम्बोधन गर्दै कार्यविधिमा तोकेभन्दा कम रकम लिएका हौं’, तामाङले भने ।

जिसस प्रमुख तामाङले घुमाउरो रुपमा प्रहरीले ‘नियत’ राखेर नदीमा पुगेलगत्तै नियन्त्रणमा लिने गरेको आरोप लगाए । तर प्रहरी भने आफूहरुले कसैलाई पनि नियत नराखी नियन्त्रणमा लिएको बताउँछ । ‘हामीले नियत राखेर कसैलाई नियन्त्रणमा लिएका होइनौ, जे देखिन्छ त्यही अनुसार गरेका छौं’, जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment