२५फागुन, विराटनर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा एमाले निकट कानून व्यवसायी बरिष्ठ अधिवक्ता चूडामणि आचार्य नियुक्त भएका छन् ।
मुख्यमन्त्री शेरधन राईको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाङले आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन ।
बिहीबार मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।
बिहीबार सार्वजनिक विदा परेकोले आचार्यको नियुक्ति भने आज भएको हो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको काननी सल्लाहकार हो ।
मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्य २०७४ सालमा बरिष्ठ अधिवक्ता थिए ।
२०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापनसमेत गरेका उनी २०४६ सालमा अधिवक्ता भएका हुन ।
आचार्य २०५७ सालमा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भएका थिए ।
पछिल्लो प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ अन्तर्गतको (२) निर्वाचन क्षेत्रमा एमालेले उनलाई प्रदेशसभा सदस्य बनाउनका लागि सिफारिस गरेको थियो । तर, अन्तिम समयमा रमेश पोखरेलले टिकट पाएका थिए ।
मुख्य न्यायाधिवक्ताका लागि एमाले निकट कानुन व्यवसायी जगत थापा पनि दाबेदार थिए । तर, आचार्यले बाजी मारे ।
प्रतिक्रिया 4