२८ फागुन, डोटी । प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रादेशिक राजधानीका लागि दिपायल नै उपयुक्त भएको बताएका छन् ।
आइतबार डोटीमा आयोजित एक कार्यक्रममा मन्त्री शाहले ऐतिहासिकताको हिसावले, भौगोलिक केन्द्रका हिसावले र संरचनाका हिसावले डोटी नै राजधानी उपयुक्त भएको बताए ।
उनले भने, ‘पहिलेको सरकारले अस्थायी केन्द्र तोक्ने क्रममा धनगढी तोकेको छ, त्यसकारण अब डोटी नै राजधानी हुन्छ भन्न त गाह्रो छ तर मेरो जोड् डोटीमै हुनेछ ।’
उनले यदि राजधानी दिपायल भएन भने पनि एक-दुई मन्त्रालयहरु, बिभागहरु र महत्वपूर्ण परियोजनाका कार्यालयहरु दिपायलमै राख्ने कुरामा आफू क्रियाशिल रहने बताए ।
नेकपा एमाले डोटीद्वारा आयोजना गरिएको मन्त्रीको सम्मान कार्यक्रममा मन्त्री शाहले प्रदेश सरकारका थुप्रै सुरक्षा चुनौतीहरु रहेका बताए । ‘भन्सारमा हुने राजश्व छलि र खुला सिमानाका कारण हुने अपराधहरु रोक्नु पर्नेछ,’ मन्त्री शाहले भने, ‘लागू औषधको तस्करी, महिलामाथी हुने हिंसाहरु रोक्नु सरकारको प्रमुख काम हो ।’
प्राकृतिक स्रोतहरुको सही उपयोग गर्न सके प्रदेश नं. ७ समृद्ध प्रदेश बन्ने शाहको दावी छ ।
उनी भन्छन्, ‘भारतको गौरीफण्टादेखि चीनको ताक्लाकोट जोड्ने सडक निर्माण गर्न सके यस क्षेत्रको धार्मिक पर्यटकीय बिकास हुन सक्छ ।’ उनले खुटिया-बिपिनगर-दिपायल फाष्ट ट्र्याक सरकारको प्राथमिकतामा रहेको बताए ।
एमालेको वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका शाहले कार्यकर्ताहरुलाई अपराधिक क्रियाकलापमा नलाग्न निर्देशन दिए । ‘मदिरा सेवन गरेर फरक पार्टीका कार्यकर्तालाई कुट्ने अनि छुटाउनका लागि प्रहरीलाई भनिदिनुपर्यो भनेर फोन गर्ने काम नगर्नु होला,’ मन्त्री शाहले भने, ‘यदि राम्रो काम छ भने म जतिबेला पनि सहयोग गर्न तयार छु ।’
उनले आफ्ना छोराछोरीहरुलाई प्रतिस्पर्धी बनाउन कार्यकर्ताहरुलाई सुझाव दिए । उनले भने, ‘अब थुप्रै अवसरहरु छन्, अवसरहरुका लागि छोराछोरीहरुलाई तयार गर्नुपर्छ ।’
प्रतिक्रिया 4