Comments Add Comment

विमान कसरी जल्यो ? यस्ता छन् ३ तथ्य

पाइलटले जोगाए पार्किङ, दमकलभन्दा सेना छिटो !

२८ फागुन, काठमाडौं । बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् ।

दुर्घटनास्थलमा पुगेका एकजना नेपाली विमान चालकसँग दुर्घटनाको प्राविधिक पक्षबारे के-कस्तो प्रारम्भिक सूचना पाइएको छ भनेर हामीले चासो राख्यौं ।

ती विज्ञका अनुसार विमान दुर्घटनासँग सम्बन्धित केही तथ्यहरु यस्ता छन्ः

तथ्य एकः रनवे ०२ को साटो २० !

अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको देखिन्छ ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आयो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको देखिन्छ ।

कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत रनवेबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको देखिएको छ ।

विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो ।

विमानले अवतरणका लागि ०२ को साटो २० मार्ग समात्नुमा चालकको कमजोरी हो या विमानमै कुनै प्राविधिक खराबी देखिएकाले त्यस्तो हुन पुगेको हो भन्ने खुलेकोे छैन । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले एटेम्ट गर्न नसकेको स्रोत बताउँछ ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘फरक धावनमार्गबाट विमान अवतरण गर्न खोजिएको देखिँदैमा यसलाई विमान चालकको कमजोरी भनिहाल्न मिल्दैन ।’

तथ्य २- पाइलटले जोगाए पार्किङको ठूलो क्षति

विमान ल्याण्ड गर्ने क्रममा नेपाल एयरलाइन्सको ह्याङगरमा ठोकिन लागेको र रन वेको सेन्टरमा ल्याण्ड भएको भए पनि विमान चालकले पार्किङमा रहेका विमानतर्फ ठोक्किनबाट विमानलाई जोगाएको विमानस्थलका कर्मचारी बताउँछन् ।

स्रोतले भन्यो- ‘विमानहरु पार्किङ भएकोतर्फ खसेको भए अन्य विमानहरुमा पनि आगो लाग्ने र विमानस्थलमा ठूलो क्षति हुन सक्थ्यो, तर चालकले त्यसतर्फ ठोक्किनबाट जोगाएको देखिन्छ ।’

प्रत्यक्षदर्शीका अनुसार विमानस्थल छेउको घरमा समेत विमान ठोक्किन लागेजस्तो देखिएको थियो । तर, कुनै पनि घरहरुमा क्षति भएन । र, घरहरुमा वा अन्य विमानहरुमा नटोक्किई विमानस्थलको साइडमा पुगेर विमान जल्यो ।

विमान दुर्घटनाबाट निकै ठूलो मानवीय क्षति भएको छ । तर, संवेदनशील ठाउँमा झरेर जलेको विमानले अन्य संरचनालाई भने क्षति पुर्‍याएन ।

तथ्य तीन- दमकलभन्दा सेना छिटो !

हुन त विमानस्थलका अधिकारीहरुले मिडियालाई दिएको प्रतिक्रियामा कन्ट्रोल रुमले दिएको निर्देशन चालकहरुले नमानेर गलत रनवे पक्डिँदा विमान दुर्घटना भएको दाबी गरिएको छ । यसबारे वास्तविकता खुल्दै जाला । तर, यतिमात्रै भनेर विमानस्थल प्रशासन जोगिने स्थिति देखिँदैन ।

किनभने प्रत्यक्षदर्शीका अनुसार विमानका आगो लागेको ठाउँमा तत्कालै पुग्नुपर्ने दमकलहरु नेपाली सेनाका उद्धारकर्मी पुगेपछि मात्रै पुगेका थिए । आगो निभाउने यन्त्रहरु करिब १० मिने पछि मात्रै त्यहाँ पुगेको प्रत्यक्षदर्शीको दाबी छ ।

विमानस्थलमा विपत व्यवस्थापनसम्बन्धी अभ्यास गरिएको धेरै समय भएको थिएन । तर, जब विपत आइलाग्यो, उद्धार कार्यमा चुस्त व्यवस्थापन हुन सकेको देखिएन । चाँडो उद्धार गर्न सकिएको भए मानवीय क्षति केही कम हुन सक्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment