Comments Add Comment

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई चिन्नुहुन्छ ? यस्तो छ प्रोफाइल

२९ फागुन, काठमाडौं । एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भए । धेरैलाई तिमिल्सिनाका बारेमा जानकारी छैन । कतिपयले त उनी राष्ट्रियसभाको अध्यक्ष बनेपछिमात्रै नाम सुनेका हुन् ।

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका तिमिल्सिना एमाले प्रदेश नम्वर ४ का सहसंयोजक हुन् । उनी एमालेबाट राष्ट्रियसभा निर्वाचित एमालेका सांसदहरुध्ये सबैभन्दा ‘सिनियिर’ पार्टी सदस्य त हुन नै, प्रधानमन्त्री केपी शर्मा ओलीका एकदमै निकट पनि हुन् ।

केपी ओलीसँग मुस्ताङको कोराला भ्रमणमा ओली सवार हेलिकोप्टर चढ्नेमा तिमल्सिना पनि थिए । पञ्चायत कालमा तिमिल्सिनाले केपी ओलीसँगै ४ वर्ष जेल जीवन पनि बिताएका थिए ।

केपी ओलीका बिश्वासपात्रहरुले अन्यत्र अवसर पाइसकेका कारण तिमिल्सिनालाई राष्ट्रियसभामा जिम्मेवारी दिने सम्भावना यसै पनि बढी नै थियो ।

राष्ट्रियसभाको पहिलो बैठकमा एमालेको तर्फबाट मन्तव्य राख्नेमा तिमिल्सिना नै थिए भने नियमावली बनाउने समितिमा पनि उनको नाम एक नम्बरमा थियो । यसले पनि राष्ट्रियसभामा एमालेको तर्फबाट पाउने सबैभन्दा महत्वपूर्ण जिम्मवारी तिमिल्सिनालाई नै दिन खोजिएको प्रस्ट भइसकेको थियो ।

प्रदेश नं ४ बाट सरकारको माथिल्लो र सम्मानित नेतृत्वमा कसैले पनि अहिलेसम्म अवसर नपाएको भन्दै तिमिल्सिनाले नेतृत्वमाथि दवाब बढाएका थिए ।

पोखराको पीएन क्याम्पसमा अध्ययन गर्दादेखि नै तिमिल्सिना विद्यार्थी राजनीतिमा लागेका थिए, ०३६ सालबाट ।

पर्वतको मोदी गाउँपालिका-७ मा २०१८ जेठ १२ गते जन्मिएका तिमिल्सिनाले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन गरे । उनी ०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव बने भने ०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित भए ।

वि.स. ०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता पाएका तिमिल्सिना ०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव ०४२ सालमा अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भए ।

तत्कालीन सरकारविरुद्ध विद्रोहको उदघोष गर्दै ०४२ सालमा रामराजाप्रसाद सिंहले गरेको बम काण्डपछि तिमिल्सिनाले पनि ४ बर्ष जेल जीवन विताए । तत्कालीन पञ्चायती सरकारले ०४२ देखि ०४६ सम्म लगातार ४ वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।

यही क्रममा जेलमा तिमिल्सिनाको भेट नेताहरु केपी शर्मा ओली र हितकाजी गुरुङहरुसँग भयो ।

जेलबाट ०४६ सालमा छुटेका तिम्सिना प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । यसक्रममा तिमिल्सिनालाई पुनः तत्कालीन सरकारले पक्राउ गरी ल्याउन टाउकोको मूल्य ५० हजार तोकेको बताइन्छ ।

अर्धभूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी बनेका तिमिल्सिना ०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्ऽीय सदस्य भए ।

उनी केन्द्रीय सदस्य बन्दा वर्तमान सरकारका प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष थिए । ०४७ सालमा नेकपा माले मुस्ताङ्गको सचिव, ०४८ मा नेकपा एमाले बाग्लुङ्गको सचिव, ०५४ मा भएको एमालेको छैठौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका तिमिल्सिना धौलागिरी अञ्चलको पार्टी इञ्चार्ज बने ।

०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौँ महाधिवेशनबाट केन्द्रीय सल्लाहकार र ०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका तिमिल्सिनाले पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वतका जिविस सभापति पनि भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment