Comments Add Comment

सप्तरीका सामुदायिक विद्यालयमा मनोमानी : टिफिन टाइमपछि सधैँ छुट्टी

 २ चैत, सप्तरी । १ चैतको मध्यान्ह १२ः३० बजे । यो समयमा विद्यालयका हरेक कक्षाकोठामा पढाई भइरहेको हुनुपर्ने हो ।

तर, विष्णुपुर गाउँपालिका १ जमुनी मधेसपुराको जनता प्राविमा एक जना शिक्षिका र एक जना कार्यालय सहयोगीबाहेक कोही थिएनन् । प्रधानाध्यापक ममता यादव विद्यालयमा अनुपस्थित थिइन् भने अन्य शिक्षकहरु फर्किसकेका थिए ।

‘आज कुनै सार्वजनिक विदा हो र ? भन्ने प्रश्नमा विद्यालयमा उपस्थित शिक्षिका निलमकुमारी यादव अक्क न बक्क भइन् । केहीबेर चुप रहेकी उनले भनिन्, ‘विद्यालय सञ्चालन त भयो तर अघि नै छुट्टी भइसक्यो ।’

यति चाँडै किन छुट्टी भयो त ?

उनले भनिन्, ‘शिक्षकको कमीका कारण पढाइ हुन सकेन् ।’

विद्यालयमा प्रधानाध्यापक ममता यादव, २ जना राहत शिक्षक, दुई जना बालविकास केन्द्र र एक जना कार्यालय सहायक छन् ।

बाल विकास केन्द्रमा ३१, कक्षा १ मा ११, कक्षा २ मा १२, कक्षा ३ मा १५ र कक्षा ४ मा ६ जना बालबालिका अध्ययनरत छन् ।

तर, शिक्षकहरु विद्यालय आए पनि एक-दुई घण्टी पढाएरै छुट्टी दिइहाल्छन् ।

विष्णुपुर गाउँपालिका १ जमुनी मधेपुराकै जनता प्रावि अण्डीपट्टीको अवस्था त्यो भन्दा पृथक छैन । १ चैतमा विद्यालय बन्द थियो । विद्यालयमा कार्यालय सहयोगी सुरजा मोची मात्रै भेटिए ।

मलेकपुर खुरहुरियास्थित जनता माविको हविगत यस्तै छ । २० जना शिक्षक र ३ कर्मचारी रहेको विद्यालयमा १ चैतमा टिफिन समयमै छुट्टी दिइयो । प्रधानाध्यापक सूर्यनारायण यादव उपस्थित नरहेको विद्यालयमा टिफिन समयपछि जाँदा अधिकांश शिक्षकसमेत देखा परेनन् ।

डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित जनता मावि कटैया पनि १ चैतमा सञ्चालन भएन । सार्वजनिक विदा भएको भन्दै विद्यालयमा छुट्टी नै दिइएको विद्यार्थीहरुले बताएका छन् ।

सार्वजनिक विदाकै नाममा हनुमाननगर-कंकालनी नगरपालिकास्थित महावीर मावि पनि सञ्चालन भएन ।

एक त विद्यालयमा उपस्थित नहुने र उपस्थित भए पनि पूरा समय नपढाउने सप्तरीका शिक्षकहरुको बानी नयाँ होइन । मधेस आन्दोलन शुरु भएकै समयदेखि जिल्लाको ग्रामीण भेगका सामुदायिक विद्यालय समयमा सञ्चालनै नहुने, भए पनि पूरा समय नहुने प्रवृत्ति कायम छ ।

विदा नभए पनि कार्यक्रम गरेरै विदा

शिक्षकहरुले विभिन्न नाममा विद्यालयमा पठनपाठन बन्द गर्दै आएका छन् । गएको २८ फागुनमा हनुमाननगर-कंकालनी नगरपालिका १ भारदहस्थित बीपी माविले चार कोठे भवन शिलान्यास गर्ने भन्दै पढाइ सञ्चालन गरेनन् ।

शिक्षा विभागको सहयोगमा निर्माण हुने भवन शिलान्यास गर्न प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह आएका थिए ।

मन्त्रीको स्वागतका लागि बालबालिकालाई घण्टौं फूल लिएर लाइनमा उभ्याएको विद्यालयले कार्यक्रम सकिएपछि भने छुट्टी दियो । प्रधानाध्यापक प्रकाश गुप्ताले भने, ‘व्यवस्थापन समितिका अध्यक्ष प्रभानन्द मण्डलको आदेशमा पढाइ प्रभावित पारेर कार्यक्रम गरिएको हो ।’

विदाको पर्खाइमा हुन्छन् सार्वजनिक विद्यालय

‘आज बिहानदेखि विभिन्न विद्यालयबाट सार्वजनिक विदा सम्बन्धमा जिज्ञासा राख्ने काम जारी राखेको हुँदा अहिलेसम्म सो सम्बन्धमा कुनै आधिकारिक निर्णय नभएकाले नियमित रुपमा पठन पाठन गर्नु गराउनु हुन अनुरोध छ’ शिक्षा कार्यालय सप्तरीका शाखा अधिकृत दीपकुमार यादवले केही दिनअघि यो सन्देश फेसबुकमा राखेका छन् ।

उनको यो स्टाटसले ‘आज सार्वजनिक विदा हो ? विद्यालय बन्द गर्दा हुन्छ ?’ भन्ने शिक्षकहरुको प्रश्न आएको प्रष्ट हुन्छ । उनले सार्वजनिक विदा नभएको बताए पनि जिल्लाका अधिकांश विद्यालय बन्द रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment