Comments Add Comment

खानेपानी मन्त्री विना मगरः अब बुहारीमात्रै हैनन् !

२ चैत, काठमाडौं । कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी माओवादी केन्द्रकी सांसद विना मगर ३४ वर्षको उमेरमा मन्त्री बनेकी छिन् ।

खानेपानी मन्त्रीमा नियुक्त बिनालाई माओवादी अध्यक्ष प्रचण्डकी बुहारीसमेत हुन् भन्दा धेरै माओवादी कार्यकर्ताहरुको जवाफ आउने गरेको छ- उनी प्रचण्डकी बुहारीमात्रै होइनन्, राजीनामा उनको आफ्नै संघर्षशील योगदान छ ।

विनाजस्तै राजनीतिमा योगदान भएका धेरै माओवादी नेताहरु जिम्मेवारी नपाएर घाम तापिरहेको अवस्थामा विनाले पाएको मन्त्रीको जिम्मेवारीमा उनको विगतको बलिदानीको अंशमात्रै छ या प्रचण्ड परिवारको ‘ब्याकअप’ ले पनि काम गरेको छ ? यस विषयमा माथापच्चीसी अवश्यै हुँदै जाला ।

विना मगर मन्त्री बनिरहँदा अरु संघर्षशील महिलाले किन पाएनन् ? शहीदका पत्नीहरुले यो अवसर किन पाएनन् ? यो प्रश्न पनि माओवादीभित्रै उठिरहेको छ ।

तर, एउटा सत्य हो भने विना मगर अब प्रचण्डकी बुहारीमात्रै होइनन् । उनी जनताबाट प्रत्यक्ष निवार्चित सांसद हुन् । र, अब उनी देशकै एक सम्मानित मन्त्री हुन् । अब विनाले मन्त्रीका रुपमा जनताको पक्षमा काम गर्छिन् या गर्दिनन् भन्ने विषयमा आम जनताले खबरदारी वा मूल्यांकन गर्न पाउँछन् । अनि जनताले उनका कामजोरीहरुको आलोचना गर्न पनि पाउँछन् र गर्न मिल्छ ।

को हुन् विना ?

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी नवनियुक्त मन्त्री बिना मगरको जन्म ०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएको हो । बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरकी उनी जेठी छोरी हुन् ।

विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक शिक्षा लिइन् । पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गरिन् । उनले स्नातकसम्म पढेकी छिन् । ०५१ सालमा ११ वर्षको उमेरमै उनी माओवादीको बाल कलाकार बनेको माओवादी नेताहरुको दाबी छ ।

उनी माध्यमिक तहमा अध्ययनरत छँदै माओवादीमा लागेकी थिइन् ।विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै ०५६ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष भइन् । त्यसपछि उनी कलेज पढ्न काठमाडौं आइन् ।

काठमाडौंमा उनले रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा कमाम गरिन् । र, ०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्ष भइन् ।

काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला ०६० सालमा उनलाई सेनाले गिरफ्तार गर्‍यो र भैरवनाथ गणमा २७ महिनासम्म चरम यातनासहित उनले बन्दी जीवन बिताइन् । शान्ति प्रक्रिया प्रवेशपछि उनी फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष भइन् ।

०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भइन् । यससँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन् । हाल उनी माओवादीको पोलिटब्यूरो सदस्य छिन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट उनी चुनाव लडेकी थिइन् । त्यसबेला प्रंचण्डले बुहारीलाई टिकट दिएको भन्दै चुनावमा माओवादीभित्रैबाट चर्को विरोध भएको थियो ।

अन्ततः विनाले यसपालिको चुनावमा कञ्चनपुरबाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन जितिन् । चुनावअद्धि उनका श्रीमान् अर्थात् प्रचण्डपुत्र प्रकाश दाहालको हृदयाघातबाट निधन भयो । विनाले शोककै वीचमा चुनावमा गएर सहानुभूतिको भोटसमेत बटुलिन् ।

पारिवारिकरुपमा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग उनको विवाह भएको थियो । उनी प्रकाश दाहालको पारिवारिक जीवनमा हस्तक्षेप गर्दै दोस्री पत्नी बनिन्, जुन सांस्कृतिक विचलनले उनको संघर्षशील राजनीतिलाई छायाँमा पारिदियो । मन्त्री विनाका एक छोरा छन् ।

मन्त्रीका रुपमा विना नयाँ हुन् । खानेपानीको क्षेत्रमा उनको खासै अनुभव छैन । युवापुस्ताकी संघर्षशील युवती भए पनि उनी मिडियासँग खासै भिजेकी छैनन् । बरु मिडियाबाट आलोचनाको शिकार हुँदै आएकी छिन् । अन्तरमुखी स्वाभावकी उनी कञ्चनपुरमा र माओवादी पार्टीभित्र जान पहिचानकी भए पनि बाहिरी दुनियाँमा चाहिँ प्रचण्डकी बुहारीकै रुपमा मात्र बढी चिनिएकी छिन् ।

तर, कलिलो उमेरमै मन्त्री बन्ने सौभाग्य पाएकी विनाले केही काम गरेर देखाउने यमानको अवसर प्राप्त गरेकी छिन् । अब उनको परीक्षा आजैका दिनबाट प्रारम्भ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment