Comments Add Comment

‘अनुहारहरु’ कथा संग्रहः कागजको फूल


अन्तर्वार्ता दिएर बाहिर निस्केपछि उसलाई निकै खुसी लाग्यो, यसपालि त जागिर पाउँछुकी भन्ने आशा जागेर । पहिला पहिला अन्तर्वार्ता राम्रो भए पनि नियुक्ति भने कहिल्यै पाउन सकेको थिएन उसले । तर, यसपालि त अन्तर्वार्ता नै अनौठो किसिमको भएको थियो ।

अन्तर्वार्ता लिने हाकिम उसलाई देख्नेबित्तिकै खुसी भएको थियो । उसलाई धेरै कुराहरु सोध्यो । कतिपय कुरा त नितान्त व्यक्तिगत थिए । जस्तै ‘विवाह भएको छ कि छैन ?’ देखि लिएर ‘गर्ल फ्रेन्ड छ कि छैन ?’ समेत । अन्तर्वार्ता सकेर फर्कने बेलामा हाकिमले उसको शरीर तलदेखि माथिसम्म खुब नियालेर हेरेको थियो र ‘हाउ स्मार्ट’ भन्दै उसका दुवै हात समातेर निकै घनिष्ठता देखाएको थियो । यस अघिका दर्जन जति अन्तर्वार्तामा यस्तो कहिल्यै भएको थिएन ।

दुई दिनपछि बिहान उसको मोबाइलको घण्टी बज्यो । नम्बर नौलो थियो । उसले फोन उठाउँदा उताबाट आवाज आयो – “बधाई छ भाइ, तपाईँ अन्तर्वार्तामा छानिनुभयो, आजै आएर नियुक्ति पत्र लिनुस् ।” यो आवाज दुई दिनअघि अन्तर्वार्ता लिने उही हाकिमको थियो । यो सुन्दा उसको खुसीको सीमा रहेन । ऊ यति खुसी भयो कि हाकिमलाई कृतज्ञता व्यक्त गर्न समेत बिर्सियो ।

जागिरका लागि भौतारिँदा भौतारिँदा कायल भएको मान्छेलाई जागिर पाउँदाजस्तो खुसी स्वास्नी पाउँदा पनि हुँदैन भनेको ठीकै हो ।
डेरामा नुहाइ धुवाइ गरेर ऊसँग भएका केही सीमित लुगामध्ये सबैभन्दा राम्रो सुकिलो लुगा लगाएर ऊ नियुक्तिपत्र बुझ्न गयो । कार्यालयमा पसेर सूचना पाटीमा हेर्‍यो, अन्तर्वार्तामा ऊ छानिएको सूचना टाँसिएको रहेछ । ऊ हाकिमको कोठा अगाडि पुग्यो र पिएलाई आफ्नो परिचय दियो । पिएले उसलाई तलदेखि माथिसम्म नियालेर हेर्‍यो । अनि हलुका हाँस्दै ‘बधाइ छ तपाईँलाई’ भन्दै भित्र पठाइदियो । भित्र हाकिम कम्प्युटर चलाइरहेको थियो । उसलाई देख्ने बित्तिकै उठेर आई दुवै हात समातेर बधाई दियो र अड्ढमाल समेत गर्‍यो ।

हाकिमले नियुक्तिपत्र सही गरेर दियो र उसको कामबारे पनि मोटामोटी बताइदियो । अनि आजैदेखि काम सुरू गरे पनि हुन्छ भनेकाले उसले पनि सहर्ष टाउको हल्लायो । नियुक्तिपत्र लिएर हिँड्ने बेलामा हाकिमले फेरि हात मिलायो र केहीबेर अंकमाल गर्‍यो । जीवनमा पहिलो पटक नियुक्तिपत्र लिएकाले नियुक्तिपत्र दिँदा असल हाकिमहरुले यसैगरी आत्मीयता प्रकट गर्दा रहेछन् भन्ने उसले ठान्यो ।

अफिस धेरै ठूलो थिएन । पन्ध्रजना जति कर्मचारी थिए, सबै पुरूष थिए । उसको काम कार्यालय भित्र र बाहिर पनि पर्दथ्यो । ऊ रमाएर इमान्दारीपूर्वक आफ्नो बुद्धि विवेकले भ्याएसम्म राम्ररी काम गर्न थाल्यो । किनकि यति काम पाउन उसले खानुसम्म हण्डर खाइसकेको थियो । त्यसैले उसका लागि यो जागिर आफूभन्दा पनि प्यारो थियो । तलब सुविधा पनि उसले सोचेभन्दा केही राम्रै थियो । हाकिमले उसलाई मोटरबाइक चलाउन सिक्नु भनिसकेको थियो, त्यसैले ऊ झन् दङ्ग थियो ।

केही दिनपछि हाकिमले उसलाई बोलाएर ऊसँग फिल्डमा जानुपर्ने जानकारी दियो । ऊ खुसी हुँदै सहमत भयो । हाकिम र ऊ दुईजना केही दिनका लागि सहरदेखि टाढा गए । नयाँ ठाउँमा उनीहरु होटलमा बसे । हाकिमले “दुईवटा कोठा लिएर दोहोरो खर्च किन गर्नु, एउटै कोठा सेयर गरेर बसे हुन्न ?” भन्यो । उसलाई हाकिमसँग एउटै कोठामा बस्न मनमनै अप्ठेरो लागे पनि हाकिमको पैसा बढी खर्च गराइदिनु उचित नहुने भएकाले उसले “हुन्छ, भैहाल्छ नि सर” भन्यो ।

होटलको कोठामा एउटै ठूलो बेड थियो दुवैजनालाई मनग्गे पुग्ने । खाना खाएर राति सुत्ने बेलामा हाकिमले “निकै गर्मी पो छ त, फ्यानले मात्र होला जस्तो छैन, सबै लुगा खोलेर सुताैं” भन्दै सबै लुगा खोलेर निर्वस्त्र भयो र उसलाई पनि त्यसै गर्न लगायो । तर उसले मानेन, यद्यपि गर्मी उसलाई पनि भइरहेको थियो । हाकिमको यो रुप देखेर उसलाई अचम्म लागिरहेको थियो । उसले भने गन्जी र हाफ पाइन्ट लगाएको थियो । लामो यात्राको थकाइले उसलाई सुत्न मन लागिरहेको थियो । तर हाकिम नसुतिकन कसरी सुत्नु ? त्यो पनि एउटै बेडमा भन्ने सोचेर ऊ अलमल गरिरहेको थियो ।

त्यतिकैका हाकिम आफै अघि सरेर “म चाहिँ नाङ्गै, तिमी चाहिँ छोपेर बस्ने, यो त भएन नि” भन्दै उसको हाफ पाइन्ट तानिदियो । दुवैजना निर्वस्त्र भए । ऊ लाज र अप्ठेरोले धर्मसंकट र सोचमा परेको थियो । हाकिमले उसलाई अड्ढमाल गर्‍यो । दुवैका नाङ्गा र ताता शरीर आपसमा जुधे । हाकिम उसको नाङ्गो शरीर देखेर निकै रमाइरहेको थियो । तर ऊ भने आश्चर्य र अप्ठेरो महसुस गरिरहेको थियो । उसले आफ्नोबाहेक अर्को वयस्क पुरूषको वस्त्रविहीन पूर्ण नग्न शरीर देखेको पहिलो पटक आजै हो ।

हाकिमले उसको अङ्ग अङ्गमा स्पर्श गरेर माया गरिरहेको थियो । त्यस क्रममा हाकिमले उसको मुखमा चुम्बन समेत गर्‍यो । त्यसो गर्दा हाकिमको मुखबाट आएको चुरोटको गन्धले उसलाई केही घिन जस्तो पनि लाग्यो । हाकिमले अन्तर्वार्ता लिने क्रममा पहिलो चोटी उसलाई देख्दा उसका पोटिला गाला, मधुरो स्वर र निहुरिएर हिँडेको देखेर नै आफूले उसलाई मन पराएको रहस्य पनि आजै खोल्यो ।

हाकिमले ऊसँग गरेको यस्तो व्यवहार ठीक बेठीक के हो उसले केही छुट्याउन सकेन । प्रतिकार गर्न सक्ने क्षमता उसको थिएन । ऊ सबैतिरबाट हाकिमको मुठ्ठीमा परेको थियो । हाकिमलाई रिस उठाएर त्यति राम्रो जागिर उसलाई गुमाउनु थिएन । त्यो जागिर जोगाउन ऊ जे जस्तो त्याग गर्न पनि तयार थियो । त्यसैले उसले हाकिमको खुसीमा नै आफ्नो खुसी ठान्यो । हाकिमले होटलमा दुई जनाको लागि एउटै कोठा लिनुको रहस्य उसले अहिले बुझ्यो ।

तीन दिन फिल्डमा बस्दा हरेक रात हाकिमले ऊसँग यस्तै खेल खेल्यो । उसलाई मन नलागे पनि नाइँ भन्न सकेन । तर उसले यसबाट आफूलाई बेफाइदा वा घाटा पनि केही देखेन । त्यसैले ऊ चुपचाप हाकिमको खुसीमा समर्पित भयो ।

फिल्डको काम सकेर उनीहरु फर्किए । यो पहिलो लामो यात्राले उनीहरुबीच निकै घनिष्टता बढाएको थियो । ‘एक पन्थ दो काज’ भन्ने भनाइलाई सार्थक पार्दै उनीहरु बराबर अन्यत्र पनि यस्तै यात्रामा जान थाले । जहाँ गए पनि होटलमा कोठा एउटै लिन्थे । उसले मोटरबाइक चलाउन सिक्यो । लाइसेन्स लिएको भोलिपल्टै हाकिमको आदेशअनुसार उसका लागि नयाँ मोटरबाइक आइपुग्यो । हाकिमसँग खेल्न अब उसलाई पनि रमाइलो लाग्ने भइसकेको थियो ।

करिब तीन वर्ष यसरी नै बित्यो । एक दिन अफिसमा फेरि नयाँ कर्मचारीको लागि दरखास्त आव्हान गरियो र हाकिमले अन्तर्वार्ता लिए । अन्तर्वार्ताबाट एकजना भर्खरको केटो नियुक्त भयो । हाकिमले नयाँ केटोलाई काम सिकाउने जिम्मा उसैलाई दिए । केही दिनपछि हाकिम फिल्डमा जाने भए । तर यसपटक भने हाकिमले नयाँ केटोलाई लिएर गए । ऊ जिल्ल पर्‍यो । उसलाई कता कता आफूले सौता पाएकोजस्तो अनुभूति भयो ।

चार दिनका लागि फिल्डमा गएका हाकिम भोलिपल्टै फर्किए । तर कार्यालयमा नयाँ केटो देखिएन । उसले हाकिमसँग नयाँ केटोको बारेमा सोध्यो । हाकिमले “खै त्यो केटो त वाहियात रहेछ, उतैबाट कता भाग्यो कता” भन्यो । हाकिमतर्फ हेरेर उसले एक व्यङ्ग्यपूर्ण मुस्कान छोड्यो ।

( कथाकार बस्नेतको भर्खरै बजारमा आएको कथासङ्ग्रह ‘अनुहारहरु’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment