Comments Add Comment

प्रदेश ४ : महिना बित्यो, मन्त्रिपरिषदले पूर्णता पाएन

मुख्यमन्त्री भन्छन् - एक/दुई दिनमै हुन्छ, के हतार छ र ?

४ चैत, पोखरा । प्रदेश ४ को मन्त्रिपरिषद गठन भएको महिना दिन पूरा हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते सपथ खाएर त्यसै दिन दुई पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । मुख्यमन्त्री गुरुङले सपथ खाएसँगै एमालेका सांसद रामशरण बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

त्यसै साँझ माओवादीबाट सांसद हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ लिएका थिए ।

त्यसयता भने मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अन्य प्रदेशका सरकारले बजेट ल्याउने तयारी गरिसकेका छन् ।

तर, यहाँ भने अझैसम्म आर्थिक मामिला तथा योजनामन्त्री नियुक्ति हुन बाँकी नै छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालय पनि मन्त्रीबिहीन छन् ।

‘मन्त्रिपरिषदलाई पूर्णता दिने सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री रामशरण बस्नेतले भने, ‘एक/दुई दिनमै अब टुंगो लाग्छ ।’

मुख्यमन्त्री गुरुङले भने छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने बताए । ‘के हतार छ र ?’ मुख्यमन्त्री गुरुङले भने, ‘तयारी भइरहेको छ । आजभोलिमै पूर्णता पाउँछ ।’

मन्त्रीका आकांक्षी एमालेभित्रैबाट धेरै जना भएका कारण पनि मुख्यमन्त्री गुरुङलाई अप्ठेरो परेको एमाले सांसद बताउँछन् । मुख्यमन्त्रीसहित ४ मन्त्रालय एमालेको भागमा परेको छ भने २ मन्त्रालय माओवादीको भागमा परेको छ ।

अब नियुक्त हुने मन्त्री सबै एमालेकै हुनेछन् ।

मन्त्रीका लागि विकास लम्साल, कृष्ण थापा, रोशन गाहामगर, चन्द्रमोहन गौचन, मोहनप्रसाद रेग्मी लगायत आकांक्षी छन् । ३ मन्त्रीमा १ जना महिला हुनेछन् र त्यसका लागि नरदेवी पुन, प्रभा कोइराला, मीना गुरुङलगायत आकांक्षी छन् ।

‘ठूलो पार्टीमा आकांक्षी बढी हुनु स्वभाविक हो तर, विवाद र गुटउपगुटका कारण मन्त्री परिषदलाई पूर्णता दिन ढिलाइ भएको होइन,’ मुख्यमन्त्री गुरुङले दाबी गरेका छन् ।
६ गतेभित्र जसरी पनि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री रहेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment