Comments Add Comment

वीरगञ्जमा सुरक्षा योजनाः बजार क्षेत्रको सीसीटिभीबाट निगरानी

एक वर्षभित्र सबै ठाउँमा सीसीटिभी राखिने

५ चैत, वीरगञ्ज । फागुन १६ गते बुधबार राति वीरगञ्ज महानगरपालिका-१३ मा गोली चल्यो । गोली लागेर स्थाननी ३५ वर्षीया उमेश चौरसीया गम्भीर घाइते भए ।

प्रहरीले ८ घण्टा भित्रमा उनको श्रीमती पि्रयंका चौरसीयासहित घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भयो ।

पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले अनुसन्धानमा सीसीटीभी फुटेजको ठूलो योगदान रहेको बताउँछन् ।

‘नागरिकलाई सुरक्षित राख्नु राज्यको पहिलो दायित्व हो, सीसीटीभि क्यामेरा जडानले त्यसमा सहयोग पुर्‍याइरहेको छ,’ उनले भने,’अपराध नियन्त्रण, अनुसन्धान र प्रमाण संकलनमा यसको ठूलो महत्व छ ।’

त्यसबाहेक प्रहरीलाई सीसीटिभी क्यामेराको सहयोगबाट चोरीको मोटरसाइकल बरामद गर्न, सवारी दुर्घटनाका दोषी पहिचान सहज भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

सीमावर्ती शहर वीरगञ्जमा भारतीय अपराधिक समूहबाट विभिन्न घटना हुने गरेका छन् ।

५ वटा सामुदायिक केन्द्र मार्फत सीसीटिभीको महत्वबारे बुझाउने काम भइरहेको प्रहरी उपरीक्षक डा. रेग्मीको भनाइ छ । ‘बैंक र होटल व्यवसायीहरुसँग छलफल भइसकेको छ । उहाँहरु कम्तिमा दुईवटा क्यामेरा जडान गर्न तयार हुनुहुन्छ,’ उनले भने, ‘सुनचाँदी व्यवसायी र निजी विद्यालयहरुसँग हामी चाँडै कुरा गर्दैछौं ।’

संवेदनशील ठाउँमा ४४ वटा सीसीटिभी क्यामेरा जडान

वीरगञ्जका उद्योगी व्यवसायी र सुरक्षा निकाय एक वर्षभित्र वीरगञ्जको जताततै आधुनिक सीसीटिभी क्यामेरा जडान गर्न अग्रसर भएका छन् ।

वीरगञ्जको विभिन्न क्षेत्रमा गरी अहिले ४४ वटा सीसीटिभी क्यामेरा जडान भइसकेका छन् । चार वटा पीटीजेड क्यामेरा -जुम गरेर हेर्न सकिने) र अन्य आईभी क्यामेराहरु जडान गरिएका छन् । वीरगञ्जमा २ सय देखि २५० वटासम्म क्यामेरा जडान गर्ने गरी अभियान अघि बढाइएको छ ।

१७ लाखमा ४२ वटा क्यामेरा जडान गरिएको हो भने दुईवटा पुरानो क्यामेरा हुन् । परवानीपुरमा पनि १७ वटा क्यामेरा जडान गर्ने तयारी भइरहेको छ ।

०६७ सालमा स्थापना भएको ‘सेफर वीरगञ्ज’ ले त्यसको एक वर्षपछि २० लाख संकलन गरेर वीरगञ्जको संवेदनशील ठाउँमा १० वटा क्यामेरा जडान गरेर अभियान शुरु गरेको थियो । पछि त्यसलाई बढाएर ७२ वटा पुर्‍याइएको थियो । तर, ०७२ सालको मधेस आन्दोलनमा तोडफोड हुँदा दुईवटा मात्रै बाँकी थिए ।

सीसीटिभीबाट वीरगञ्जको निगरानी

फेरि सेफर वीरगञ्जकै नेतृत्वमा अभियानलाई अघि बढाइएको छ । वीरगञ्जको सुरक्षा हाम्रो चासो, सेफर वीरगञ्ज हाम्रो खाँचो भन्ने नारासहित अवान्छित, अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीसीटिभी क्यामेरा जडानलाई प्राथमिकतामा राखेको उद्योगी व्यवसायीहरु बताउँछन् ।

सेफर वीरगञ्जका संयोजक एवं उद्योगी गणेश लाठले अपराधिक क्रियाकलापमा नियन्त्रण आउनुको साथै प्रहरीलाई अपराध अनुसन्धानमा समेत सहयोगी बनेपछि यो अभियान विस्तार गर्न लागिएको बताउँछन् ।

वीरगञ्जलाई एक वर्षभित्र हरेक ठाउँमा सीसीटिभी क्यामेरा युक्त बनाउने योजना आफूहरुको रहेको उनले सुनाए । ‘पूरा वीरगञ्जलाई सीसीटिभी क्यामेरामय बनाउने हाम्रो योजना छ,’ उनले भने,’एक वर्षभित्र यो काम पूरा हुन्छ, वीरगञ्जलाई सीसीटिभी क्यामेराले नै सेफ गर्छ भन्ने हामीलाई विश्वास छ ।’

शुरुमा सीसीटिभी क्यामेरा जडानको प्रस्ताव लिएर आउने १० वटा टोल सुधार समिति वा संस्थालाई सेफर वीरगञ्जले ३० प्रतिशत सहयोग गर्ने लक्ष्य लिएको वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधव राजपालले बताए ।

तीव्र गतिमा आर्थिक संकलन

नगरमा सीसीटिभी क्यामेरा जडान भएपछि अपराधिक घटनामा न्युनिकरण आएको, अपराधी समात्न सहज भएको र अनुसन्धानमास समेत सहयोग पुगेको सरोकारावालाको निष्कर्ष छ ।

त्यसैले वीरगञ्जको ३२ वटै वडालाई सीसीटिभी क्यामेराको निगरानीमा राख्ने अभियान चलाइएको छ ।

तीन महिना भित्र होटल मकालुदेखि भन्सार क्षेत्र, घण्टाघरदेखि बसपार्कसम्म, रानीघाट हुँदै रामगढवा पुलसम्म, जिल्ला प्रहरी कार्यालयदेखि कलैयाचोकसम्म सीसीटीभी क्यामेरा जडान गरिने अभियन्ताहरुको भनाइ छ ।

धुर्मुस सुन्तलीको च्यारिटी शोबाट शुरु भएको अभियानमा अहिले वीरगञ्जका उद्योगी व्यवसायी, बैंक वित्तीय संस्था मात्रै नभएर सर्वसाधरण नगरबासी समेत सामेल छन् ।

समिताभ, धुम-३, दंगल र पदमावत फिल्मको च्यारिटी शो गरेर सेफर वीरगञ्जले आर्थिक सहयोग जुटाएको छ ।

सेफर वीरगञ्जसँग अहिले २९ लाख ३५ हजार ३२० रुपैयाँ मौज्दात छ । वीरगञ्ज महानगरपालिकाले १५ लाख दिने घोषणा गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु ५०/५० हजार र ७ जना उद्योगी व्यवसायीहरुले २५ हजार सहयोग गर्न तयार भइसकेको सेफर वीरगञ्जले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एउटै ठाउँबाट वीरगञ्जलाई निगरानी गर्न सकिने बनाउने बताए । ‘शंकास्पद व्यक्तिलाई ट्रयाकिङ गर्ने प्रविधि समेत आइसकेको छ । त्यसलाई समेत भित्र्याउन महानगरपालिकाको प्रयास रहन्छ,।’ उनले भने ‘ सेफर वीरगञ्ज परियोजनालाई महानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि सहयोग गर्छ ।

यसकारण महत्वपूर्ण सीसीटिभी

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभासद ओमप्रकाश शर्मा सीसीटिभी क्यामेरा सुरक्षाका लागि एकदमै प्रभावकारी भएको बताउँछन् । ‘एउटा प्रहरीले ८ घण्टा काम गर्छ भने एक दिनमा एउटा सीसीटिभी क्यामेराले ३ जना प्रहरीको काम गर्छ,’ उनले भने ‘ वीरगञ्जमा २ सय वटा सीसीटिभी क्यामेरा जडान गर्न सक्यौं भने ६ सय जना प्रहरीको काम हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राई सुरक्षा र अनुसन्धानका लागि सीसीटिभी क्यामेरा एकदमै प्रभावकारी रहेको बताए । ‘मानिसले ढाँट्न सक्छ तर चित्रले ढाँट्दैन,’ उनले भने, ‘अपराध रोकथाम र नियन्त्रण तथा प्रमाण संकलनमा एकदमै महत्वपूर्ण भूमिका हुन्छ ।’

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले नगरका सबै ठाउँमा सीसीटिभी क्यामेरा जडान गर्न सके प्रहरीको आधा जिम्मेवारी पूरा हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment