Comments Add Comment

गर्मीको खानपानमा यस्तो गल्ती त भइरहेको छैन ?

गर्मीमा सबैभन्दा बढी सर्तक हुनुपर्ने खानपानमा हो । खानपानकै कारण यतिबेला स्वास्थ्यमा समस्या हुन्छ । खासगरी पेटको गडबडी हुन्छ । अपच हुन्छ । वान्ता हुन्छ । पखला लाग्छ ।

गर्मीमा कुनैपनि खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । यस्ता खानेकुरा सेवन गर्दा हाम्रो पेटमा पनि जिवाणु प्रवेश गर्छ । त्यसले पाचन प्रक्रियामा असर गर्छ । खानेकुरा पच्दैन । पेट तथा कलेजोसम्बन्धी रोगहरु लाग्न सक्छ ।

बासी खानाको चक्कर

हाम्रो बानी के हुन्छ भने, घरमा बाँकी रहेको खाना राखेर अर्को छाकमा त्यसलाई खाने । आज पकाएको खाना भोलिसम्म राख्दा त्यो कुहिने प्रक्रियामा गइसकेको हुन्छ । त्यो दुषित हुन थालेको हुन्छ । यस्तो खाना खानाले पेट त भरिन्छ, तर शरीरलाई भने हानी गर्छ । न पोषक तत्व प्राप्त हुन्छ, न पचाउन सजिलो नै ।

बासी खानाको पुनः प्रयोग

अक्सर भात बाँकी रहेमा त्यसलाई हामी पुन भुटेर अर्थात फ्राइ गरेर खान्छौं । फ्राई गरेपछि त्यसको जिवाणु नष्ट हुन्छ भन्ने लाग्छ । तर, जब एक पटक पकाइसकेको भात पुन तेल/घिउमा भुट्छौं, त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ । भुटेको खानेकुरा त्यसैपनि पेट-मैत्री मानिदैन । अर्कोतिर यस्ता खानाबाट शरीरलाई आवश्यक पोषक तत्व पनि आपूर्ति हुँदैन । जबकी यसले पेटमा कब्जा जमाउँछ । यस्तो खानाले स्वास्थ्यमा नकारत्मक असर गर्छ ।

फ्रिजमा भण्डारण

कुनैपनि खानेकुरा सड्नबाट बचाउन, कुहिनबाट बचाउन फ्रिजमा राखिन्छ । हामी धेरैजसोको प्रवृत्ति के छ भने, बाँकी रहेको खानेकुरा फ्रिजमा राखेर पुन प्रयोग गर्ने । फ्रिजमा कृतिम चिसोपन हुन्छ, जसले खानेकुरालाई चाडै सड्न, गल्नबाट बचाउँछ ।

हामी के पनि गर्छौं भने, दाल वा तरकारी छाकैपिच्छे पकाउने झन्झटले एकै पटक पकाउँछौं । त्यसरी पकाएको खानेकुरा बाँकी राखेर अर्को छाकको लागि जगेर्ना गर्छौ । फ्रिजमा राख्छौं । वास्तवमा यसरी कृतिम रुपमा भण्डारण गरिएको खानेकुरा पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । फ्रिजमा चिसो बनाएर वा भण्डारण गरिएर राखिएको खानेकुरामा पोषक तत्व नष्ट हुन्छ ।

चटपटे/पानीपुरी

घरबाहिर पाइने चटपटे/पानीपुरी स्वस्थ्यवर्द्धक हुँदैन भन्ने सबैलाई थाहै छ । त्यस्ता खानेकुरा बनाउने प्रक्रिया नै अशुद्ध हुनेगर्छ । त्यसमा कतिपय अखाद्य तत्व पनि मिश्रण गरिन्छ । यस्ता खानेकुरा गर्मीको बेला थप दुषित हुन्छ ।

सडक किनारमा खुला राखिएका ति खानेकुरामा झिँगा बस्ने, धुलो लाग्ने हुन्छ । अर्कोतिर फुटपाथमा सरसफाई गर्ने अनुकुलता हुँदैन । फोहोर हातले पटक-पटक बनाएको चटपटे, पानीपुरी सेवन गर्दा पेटको गडबडी हुन्छ । यस्ता खानेकुरा शरीरले सजिलै पचाउन सक्दैन ।

मैदाजन्य खानेकुरा

हाम्रो खानपानमा मम, चाउमिन, चाउचाउ आदि सामेल छन् । यस्ता खानेकुरा छिटो, छरितो र मिठो लाग्छ । बाहिर हिँडडुल गर्दा होस् वा घरमै बसेको बेला मम, चाउमिन खाने गरिन्छ । जबकी यस्ता खानेकुरा मैदाजन्य हुन्, जसले पाचन प्रणालीमा असर गर्छ ।

रेष्टुरेन्टमा पाइने मम, चाउमिनमा चिप्लोको मात्रा पनि उत्तिनै बढी हुन्छ । अर्कोतिर मैदा राम्ररी पाकेको पनि हुँदैन । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

कोल्ड ड्रिंक

गर्मीको रापमा रापिएपछि हामीलाई चिसो पेय पिउन मनलाग्छ । चिसो पेय भन्नसाथ फेन्टा, पेप्सी, कोकाकोला, तयारी जुस आदि सम्झन्छौं । वास्तवमा प्यास मेटाउनका लागि पिइने यस्ता पेयले शरीरलाई निकै नोक्सान पुर्‍याउने विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ ।

फ्रिजमा राखिएको चिसो पानी पनि स्वास्थ्यमैत्री मानिदैन । सामान्य एवं प्राकृतिक रुपमा चिस्याएको पानी, सर्वत वा ताजा फलफूलको जुस भने उपयोगी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment