आधुनिक महिलामाथि दोहोरो जिम्मेवारी छ । एकातिर घरगृहस्थी, अर्कोतिर अफिसको कामकाज । यो व्यस्तताका कारण उनीहरूले आफ्नै लागि समय निकाल्न सकिरहेका हुँदैनन् । यसैकारण उनीहरूले न त आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्छन्, न त सौन्दर्यकै ।
कामकाजी महिलाले चिन्ता लिइहाल्नुचाहिँ पर्दैन । पन्ध्र दिनमा कम्तीमा एक पटक पार्लर गएर तथा घरेलु उपाय अपनाएर आफ्नो अनुहार तथा कपाल सुन्दर बनाउन सकिन्छ ।
यसरी चम्कन्छ अनुहार
-हरेक साँझ सुत्नुअघि अनुहार राम्रोसित धुनुपर्छ । राती सुत्नुअघि नुहाउनु पनि शरीरको लागि फाइदाजनक मानिन्छ । यसबाट शरीरका सम्पूर्ण फोहोर पखालिनुका साथै दिनभरको थकान मेटिन्छ र गहिरो निद्रासमेत लाग्छ ।
-गर्मी मौसममा डण्डीफोरको समस्या धेरै हुने भएकाले कामकाजी महिलाले सकेसम्म नीम वा तुलसीयुक्त फेसवास प्रयोग गर्नु उत्तम मानिन्छ । नीम वा तुलसीयुक्त फेसवासले अनुहारको फोहोर हटाउनुका साथै अनुहारमा हुने विभिन्न संक्रमणको खतरा कम गर्छ । फेसवासको प्रयोगपछि अनुहारलाई गुलाव जलले राम्रोसँग पुछ्नुपर्छ । यसले अनुहार ताजा बनाउनुका साथै रक्तसञ्चार चुस्त बनाउँछ ।
-गर्मी मौसममा मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । घरबाहिर निस्कनुपूर्व छालाअनुसारको सन्सक्रिम प्रयोग गर्न सकिन्छ ।
-अनुहार स्वस्थ तथा चम्किलो बनाउन फेसियल स्क्रबको प्रयोग गर्न सकिन्छ । फेसियल स्क्रबको प्रयोगबाट मृत कोषिका हट्छ र अनुहारमा चमक छाउँछ ।
-गर्मी मौसममा अनुहारलाई पोषक तत्व बढी चाहिन्छ । तसर्थ यो मौसममा प्रत्येक दिन भिटामिनयुक्त क्रिमले मसाज गर्ने बानी बसाल्नसके राम्रो हुन्छ । यसका साथै सातामा एक/दुई पटक फेस मास्कको प्रयोग गर्नु राम्रो हुन्छ ।
सुन्दर कपालका लागि
-गर्मी मौसममा धेरै मानिस कपाललाई खुला छोड्न चाहन्छन् तर कपाललाई धेरैबेर खुला राख्दा यसमा क्षति पुग्ने सम्भावना बढी हुन्छ । सकेसम्म कपाललाई बाँध्ने वा पोको पार्ने गर्नुपर्छ ।
-कपाललाई ज्यादा स्टाइलिस बनाउँदा दिनभर कपाल सम्हाल्नकै सास्ती हुनसक्छ । कपालमा सकेसम्म क्लिप तथा पिनसमेत प्रयोग नगर्नु राम्रो हुन्छ ।
-कपालमा सकेसम्म रसायनको प्रयोग गर्नुहुँदैन । गनैपरे सन्तुलित मात्रामा गर्नुपर्छ । अधिक रसायनको प्रयोग कपालका लागि हानिकारक छ ।
प्रतिक्रिया 4