२३ चैत, इटहरी । बिहीबार प्रदेश १ को साताैं बैठक दिउँसो १ बजेपछि सुरु भयो ।
प्रदेश सभा नियमावली मस्यौदामा सांसदहरूले आफ्ना कुराहरू राखिरहेका थिए । प्रदेश सभा नियमावलीमा संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई केही दिन निलम्बन गर्नेदेखि सांसदहरूले पालना गर्नुपने संसदीय नियमहरूका विषयमा लेखिएको थियो । सोही विषयमा सांसदहरु बोलिरहेका थिए ।
सांसद मर्यादित नभए र बिदामा हुँदा समिति सभापति र सभामुखलाई जानकारी दिने कुराहरू पनि नियमावलीमा समेटिएको थियो ।
नियमावलीमा सांसदहरूको नियम मात्रै आएको तर सदन सञ्चालनको नियमितता नहुँदा के गर्ने भन्ने नआएको इटहरीका सांसद सर्वध्वज साँवाले गुनासो गरे । ‘यहाँ धेरै कुराहरु आए, सांसदले नियम पूरा नहुँदा निलम्बन हुनेसम्मका कुराहरू आए तर एउटा कुरा चाहिँ आएन’, सांसद साँवाले भने, ‘संसद् समयमै नचल्दा चाहिँ के जरिवाना हुने?’
बुधवारको संसद् बैठक ढिलो भएर आफूले दुःख पाएको उदाहरण दिँदै साँवाले दोहोर्याए- ‘संसद् ढिलो हुँदाको जरिवाना चाहिँ के हुने ?’
आफूले अघिल्लो दिन १ बजे संसद् चल्छ भनेर १ बज्नु अगाडि नै संसद् पुगेको बताउँदै साँवाले भने, ‘१ बजे चल्नुपर्ने सदन २ बजेपनि चलेन र ३ बज्न लाग्दा पनि चलेन ।’
सदन नचलेपछि चिया खान बाहिर निस्कँदा सबैतिर भिड भएपछि देवकोटा चोक पुगेको प्रशंग ल्याउँदै साँवाले भने, ‘संसद् ढिलो होला भनेर चिया खाँदै बसेको त यहाँ त घण्टी बजेर सदन चलिसकेछ । अनि फसियोनि ।’
सधैँ सदन ढिलो हुन्छ भन्ने लागेर सांसदहरूले अल्छि गर्दै ढिलो आएमा सदन चल्नै नसक्ने साँवाले बताए । एक दुई घण्टै सदन रोकिने अवस्थामा तत्काल सूचना टाँस गरेर जानकारी दिनुपर्ने पनि साँवाले माग गरे ।
प्रतिक्रिया 4