१२ चैत, काठमाडौं । बाग्मती करिडोर निर्माण सुरु भएको ५ वर्ष बित्यो, तर अहिलेसम्म निर्माण सकिएको छैन । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइलाई मान्ने हो भने गोकर्ण दोभानदेखि बल्खुसम्म १७ किमी लामो यो करिडोर बन्न अझै २ वर्ष लाग्छ ।
तर, रकम अभावले काम अडिएको भने होइन । सरकारले डेढ अर्ब दिँदा २५ करोड मात्र खर्च भएको छ ।
समितिको ढिलाइ, सुकुम्बासीको अल्झन र मेलम्चीले समयमै पाइप नबिछ्याउँदा बाटो धुलाम्य र हिलाम्य छ ।
समस्या सुकुम्बासी वस्ती
गोकर्ण दोभानदेखि बल्खुसम्म बाग्मतीका दुवै किनारमा यो करिडोर बन्नेछ । दुवै किनारको जोड्ने हो भने करिडोर ३४ किमी लामो हुन्छ । तर, अहिलेसम्म एउटा साइड पनि निर्माण सकिएको छैन ।
करिडोर निर्माणमा देखिएको सबैभन्दा ठूलो समस्या भिमसेनगोलादेेखि मिनभवनसम्म २ किलोमिटर क्षेत्रमा फैलिएको सुकुम्बासी बस्ती हो । बाग्मती किनारको २० मिटर जग्गा समितिको हो ।
तर, सुकुम्बासीले त्यहीँ घर टहरा बनाएका छन् । यो क्षेत्रमा समितिले ७ मिटरको करिडोर खोलेको छ तर, योे करिडोरको ट्रयाकभन्दा पनि सुकुम्बासीको आँगन जस्तै देखिन्छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख चित्रकार भन्छन्, ‘राजनीतिक आडमा बसेका सुकुम्बासी हटाउन सबै दलहरुको प्रतिबद्धता चाहिन्छ, हामीले त्यहीँ कुरेर बसेका छौं ।’
समितिले करिडोरमा १० मिटर चौडा सडक बनाइरहेको छ । सुकुम्बासी बस्तीले कभर गरेको यो क्षेत्रमा भने ३ मिटर सडक चौडा गर्न बाँकी छ । यसका लागि सुकुम्बासीको बस्ती हटाउनु पर्ने हुन्छ । यो क्षेत्रमा सुकम्बासी बस्ती हटाएर ग्रिनरीसहित पार्क बनाउने समितिको तयारी छ ।
सडक निर्माण गर्नका लागि हालैमात्रै टेण्डर आहृवान भएको छ । तर, अहिलेसम्म बस्ती जस्ताको तस्तै छ ।
वर्षौंसम्म यो क्षेत्रमा सडक निर्माण गर्ने आँट गर्न नसकेको समितिले नयाँ सरकार बनेसँगै जग्गा अधिग्रहण अघि बढाएको छ । ‘यो क्षेत्रमा ५७ रोपनी निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ,’ आयोजना प्रमुख आशिष घिमिरेले भने, ‘अब जग्गा रोक्काको सूचना निकाल्ने तयारी गर्दैछौं ।’
अहिले निकालिएको टेण्डरअनुसार छानिने कम्पनीले दुई वर्षभित्र करिडोरको दुबैतर्फ सडक बनाइसक्नुपर्छ ।
घिमिरेले भने, ‘दुई वर्ष भित्रमा हामीले बल्खुदेखि गोकर्णसम्म सरर मोटर चलाएर जान सक्ने चिल्लो बाटो बनाउँछौं । यसका लागि सरकारले तत्काल सुकुम्बासीको समस्या समाधान गरिदिनु पर्छ ।’
बल्खुमा पनि सुकुम्बासीकै समस्या छ । सानेपा साइडमा सडक निर्माण भइसकेपनि बल्खु साइडमा भने सुकुम्बासी बस्तीकै कारण समितिले सडक अहिलेसम्म खोस्रन समेत सकेको छैन ।
गुहृवेश्वरीबाट गोकर्ण जाने सडकको केही भाग भने सर्वाेच्च अदालतको आदेशका कारण निर्माण अघि बढाउन सकिएको छैन । सर्वाेच्चले त्यो सडकलाई रोक्न आदेश दिएपनि सडक अहिलेसम्म सुचारु नै छ । तर, यसको मर्मत भने भएको छैन, जसका कारण जोखिमपूर्ण बन्दै गएको छ ।
गुहृवेश्वरी पारीपट्टीको भागबाट जोरपाटी हुँदै गोकर्णसम्म पुग्ने सडक पनि अहिले जिर्ण भएको छ । भत्केेको पुलदेखि गोकर्णसम्म समितिले नै सडक निर्माण गर्न लागेको छ भने जोरपाटीदेेखि गुहृेश्वरी क्षेत्रसम्मको सडक विभागले नै निर्माणको काम अघि बढाउन लागेको छ । गोकर्णदेखि गुहृवेश्वरी क्षेत्रसम्म बाग्मती किनारमा पर्खाल लगाउने जिम्मा भने समितिको नै हो ।
‘दुबै साइडमा पर्खाल निर्माणको काम भइरहेको छ । ढल निर्माणको काम पनि अघि बढाएका छौं’ घिमिरेले भने, ‘कतिपय स्थानमा मेलम्चीको पाइप गाड्न अझै बाँकी छ । पटकपटक खर्च नहोस् भनेर ढल र मेलम्चीको पानी पाइप बिछ्याउनेबित्तिकै पिचको काम सुरु गर्छौं ।’
गोकर्ण दोभानदेखि बल्खुसम्म भने बाग्मतीको दुबै किनारमा भने करिडोर सडक निर्माण गर्न मिल्दैन । पशुपति र गुहृवेश्वरी क्षेत्रमा दुईतर्फी र थापाथली, शंखमुल र टेकु घाटमा एकतर्फी करिडोर बन्नेछ ।
सडक निर्माण गर्न मिल्ने कतिपय स्थानमा भने समितिले काम गरेको छैन । बुद्धनगर पुलदेखि थापाथलीसम्म सडक निर्माण गर्न कुनै अवरोध छैन तर, अहिलेसम्म कुनै काम भएको छैन ।
निर्माण भएको करिडोर सडक पनि कुपण्डोल, मिनभवन, गुहृवेश्वरी लगायतका क्षेत्रमा बिग्रिन सुरु भइसकेको छ ।
डेढ अर्ब निकासा, खर्च २५ करोड
बाग्मती करिडोर निर्माणका लागि सरकारले डेढ अर्ब बढी रकम निकासा गरेको छ । तर २५ करोड पनि खर्च भएको छैन ।
करिडोर निर्माण गर्न आर्थिक वर्ष २०६५/०६६ बाट काठमाडौं, ललितपुर र भक्तपुरबासीले मालपोतमा बुझाएको राजश्वको ५ प्रतिशत छुट्याउने गरेको छ । अहिलेसम्म ६ अर्ब बढी रकम जम्मा भएको छ ।
यही रकमबाट समितिले गत पुषमा १ अर्ब पाएको छ । आयोजना प्रमुख आचार्य भन्छन्, ‘पुसमा मात्रै रकम आएकाले खर्च नभएको हो तर, अब ठेक्का लागेसँगै रकम खर्च हुन्छ र बाँकी काम पनि हुन्छ ।’
कहाँ-कहाँ प्रयोग गर्न सकिन्छ करिडोर ?
यो करिडोरलाई अहिले पूरै प्रयोग गर्न सक्ने स्थिति छैन । तर, जाम छल्न केहि स्थानको भने प्रयोग गर्न सकिन्छ ।
सानेपादेखि मिनभवनसम्म सवारी चलाउन सकिन्छ । यसैगरी बल्खुबाट बानेश्वर, कोटेश्वर आउने सवारी साधनले अब कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरको जाम खेप्नु पर्दैन । किनकी यो करिडोर प्रयोग गर्ने हो भने बल्खुबाट मिनभवसम्म आउन सकिन्छ ।
मिनभवनमा अहिले पुल निर्माण भइरहेको छ । यसले बाटो छेकिएको छ र करिडोर प्रयोग गर्ने सवारी साधनलाई बाधा पुर्याएको छ । यो पुल बनाउने निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले जथाभावी रुपमा सामान राख्दा शंखमुलबाट बाग्मती किनारा हुँदै आएको सवारी साधनलाई मिनभवन निस्कन अप्ठ्यारो भएको छ । मिनभवनबाट बाग्मतीको तिरैतिर तिलगंगा आँखा अस्पतालसम्म जाने सवारी साधनलाई पनि यसले प्रवेश गर्न रोक लगाएको छ ।
गुहृेश्वरीको जोखिमयुक्त बाटो काट्ने हो भने गोकर्णसम्मै सडक राम्रो छ । हालैमात्रै पिच भएको यो सडकमा पनि सहज रुपमा सवारी साधन हाक्न सकिन्छ । यसरी हेर्दा अहिलेका लागि बल्खुदेखि गोकर्णसम्म सडक प्रयोग गर्न नसकेपनि विभिन्न ठाउँका जाम छिचोल्न करिडोर प्रयोग गर्न सकिन्छ ।
– तस्वीर /भिडियो: चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4