Comments Add Comment

दोहोरी गीत प्रतियोगिता भोलिबाट, अश्लिल शब्द बोल्ने तत्काल आउट


भृकुटीमण्डपमा मंगलवारदेखि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतियोगिता सुरु हुँदै छ । सो प्रतियोगितामा दोहोरी गाउने कुनै पनि कलाकारले समाजलाई अपाच्य हुने शब्द प्रयोग गरेमा तत्कालै निष्कासन गरिने आयोजकले बताएका छन् ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा १३ देखि १७ सम्म चौथो राष्ट्रिय दोहोरीगीत (रनिङ शिल्ड) प्रतियोगिता हुन लागेको हो । सोमवारसम्म विभिन्न स्थानमा ३४ टिमले सहभागिताको लागि नाम दर्ता गराएको जानकारी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दिए ।

पछिल्लो समय लोकसगीतमा अश्लिलता हावी भएको गुनासो बढिरहेका बेला प्रतिष्ठानले प्रतियोगितामा कडाई गर्ने भएको छ । पंगेनी भन्छन्, ‘कलाकारहरुबिच स्वस्थ्य प्रतिस्पर्धा हुन्छ । गाउने क्रममा कसैले समाजलाई अपाच्य हुने शब्द प्रयोग गरे भने निर्णायकले तत्काल प्रतियोगिताबाट निष्कासन गर्नेछन् ।’

त्यसो त देशका विभिन्न भागमा हुने महोत्सबमा भित्रिएको विकृतिप्रति पनि केही कलाकारले आवाज उठाइरहेका छन् । हालै गायिका आस्था राउतले फेसबुकमा स्टाटस लेखेर यो विषयलाई जोडतोडले उठाएकी थिइन् । पंगेनी पनि उनको भनाईमा सहमत छन् । केही कलाकारले छाडा शब्द प्रयोग गर्नुको साथै स्टेजमा अश्लिल हर्कत गरेकाले राम्रा कलाकारको छबीमा समेत नकारात्मक असर परेको उनी बताउँछन् ।

यस्तोउ बिकृति रोक्न भन्दै संघले केही दिनअघि गृहमन्त्रीलाई ज्ञापनपत्र दिएको थियो भने संघ आफैंले पनि सबैलाई मर्यादित बन्न आग्रह गरेको छ । कोहलपुरमा आयोजित महोत्सवमा गायिका सरस्वती लामाले अश्लिल हर्कत प्रस्तुत गरेपछि दर्शकले खेदेको उदहारण दिँदै पंगेनीले भने, ‘अहिले प्युठान र दाङमा प्रमुख जिल्ला अधिकारीले नै अश्लिल प्रस्तुति दिने कलाकारलाई जिल्लामा नो इन्ट्रीको सूचना सार्वजनिक गर्नु भएको छ ।’

पछिल्ला दिनमा अश्लिल प्रस्तुति दिनेबिरुद्ध अन्य क्षेत्रका ब्यक्तिसमेत सचेत भएकाले लोकसंगीत स्वच्छ र मर्यादित हुनेमा आशावादी रहेको पंगेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment