१३ चैत, काठमाडौं । धोबीखोला करिडोर बन्न थालेको दुई दशक पुग्यो । सरकारले अहिलेसम्म १ अर्ब ५६ करोड रकम पनि खर्चिसकेको छ तर, दुई किलोमिटर सडक पनि तयार भएको छैन ।
करिडोर निर्माणको जिम्मा पाएका दुई निकाय धोबीखोला करिडोर सुधार आयोजना र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति एक अर्कालाई दोष थोपर्न ब्यस्त छन् ।
सरकारले आर्थिक वर्ष २०५६/५७ देखि नै बाग्मती-धोबीखोला दोभानदेखि चाबहिलको ओम अस्पतालसम्म ६ किमी लामो धोबीखोला करिडोर निर्माण गर्ने योजनामा काम गर्दै आएको छ ।
१८ वर्ष बढी समय वितिसक्यो , करिडोर बनेको छैन । ट्र्याक त छ, तर, सवारी गुडाउने अवस्था छैन ।
सुरुमा करिडोर निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, काम अघि बढाउन नसकेको भन्दै आर्थिक वर्ष २०६६/६७ मा यो करिडोर निर्माणको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइयो । तर, प्राधिकरणले पनि काम अघि बढाउन सकेको छैन ।
४ किमी सडक मात्र पिच
दुवै किनाराको पनि लम्बाई जोड्ने हो भने यो करिडोर १२ किलोमिटार लामो हुन्छ तर, अहिलेसम्म मुस्किलले ४ किमी मात्रै पिच भएको छ । त्यसमा पनि सवारी चलाउने अवस्था छैन ।
बाग्मती दोभानदेखि बिजुलीबजार पुलसम्म सडक कालोपत्रे भएको छ । तर, बिजुली बजारमा पुल निर्माणका कारण पुल मुनीबाट अनामनगर जाने बाटो छैन ।
यस्तै बिजुली बजारबाट अनामनगरको सुरुवाती क्षेत्रसम्म मात्रै पिच भएको छ । अनामनगरदेखि चाबहिलसम्म सवारी साधन गुडाउन मिल्ने अवस्था छैन । अनामनगरदेखि चाबहिलसम्म ट्रयाक खुलेको छ तर, पिच भएको छैन ।
दुई निकायबीच आरोप प्रत्यारोप
धोबिखोला करिडोरमा पर्खाल लगाउने र सडक बनाउने जिम्मा धोबीखोला करिडोर आयोजनालाई दिइएको छ । ढलको पाइप बिच्छ्याउने जिम्मेवारी भने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पाएको छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति आफूले २ किमी बाहेक अन्य क्षेत्रमा ढल हाल्ने काम सकेको बताउँछ ।
तर, धोबीखोला करिडोर आयोजनाका प्रमुख दीपक श्रेष्ठ भने समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइप नबिच्छाइदिएका कारण सडक पिच गर्न नसकेको बताउँछन् ।
‘समितिले ४५ स्थानमा खन्न बाँकी छ भनेर पत्र पठाएको छ । यो स्थितिमा हामीले कसरी सडक पिच गर्नु ?’ श्रेष्ठले भने, ‘मेलम्चीले पाइप बिच्छाएर सकेको छैन, विद्युतको पोल हटाइएको छैन । काम सक्न दुबै निकायलाई आग्रह गरेका छौं ।’
ठेक्काको म्याद सकिनै लाग्यो, काम शून्य
धोबीखोला करिडोरका सडकमा पिच गर्नका लागि आयोजनाले गत वर्षको पुसमा नै ठेकेदार छनौट गरेको हो । १८ महिनाको उक्त ठेक्काको म्याद गुज्रन ४ महिना मात्र बाँकी छ तर, धेरै ठाउँमा काम भने अघि बढ्न सकेको छैन ।
सेतोपुलदेखि रातोपुलसम्म काम भइरहेको छ । तर, रातोपुलदेखि कालोपुल, कालोपुलदेखि पहेँलो र बैजनी पुलसम्मको सडकमा भने निर्माण कार्य हुन सकेको छैन । हालैमात्रै डोजर लगाएको जस्तो देखिने यो ट्रयाकमा पिच गर्ने कुनै छाँटकाँट छैन ।
आयोजना प्रमुख आशिष घिमिरेले भने २ किमी क्षेत्रमा मात्रै ढल बिच्छ्याउन बाँकी रहेको बताउँछन् । पुलमुनी ढल बिच्छ्याउन आवश्यक जग्गा नभएका कारण सेतो पुल, कालो पुल क्षेत्रमा ढल बिच्छ्याउन नसकेको उनले बताए ।
दुवै निकाय शहरी बिकास मन्त्रालय अन्तर्गत छन् । तर, समन्वय गरेर काम सक्नुभन्दा आयोजना नबन्नुको दोष एकले अर्कोलाई थोपर्न उद्दत देखिएका छन् । ‘अब बैशाख अन्त्यसम्ममा ढलको काम सक्न भनेका छौं, ढलको काम सकियो भने हामीले असार मसान्तसम्मा पिच गरिसक्छौं,’ श्रेष्ठले भने ।
मन्त्रालयले पनि समितिलाई बैशाखभित्र ढलको काम सक्न र करिडोरको पिच असार मसान्तसम्म सक्न निर्देशन दिएको छ । तर, मेलम्चीको पाइप बिच्छ्याउने आयोजना कार्यान्वयन निर्देशनालय भने फरक मन्त्रालयको भएकाले छलफल भएको छैन ।
२८ सुकुम्बासी परिवार बने बाधक
चाबहिलको ओम अस्पतालदेखि भंगालसम्म पनि करिडोर विस्तार गर्ने योजना अघि सारिएको छ । यसो भएमा चक्रपथको जाम हटाउन अघि सारिएको आयोजना चक्रपथको बाहिर पनि जानेछ । यसका लागि थप ६ किमी सडक बनाउन पर्छ ।
यसको ट्रयाक खोल्ने काम धेरैजसो सकिएको छ । तर, भंगालदेखि निलोपुलको बिचमा २८ सुकुम्बासी परिवारको घरटहरा भएका कारण ट्रयाक खोल्न सकेको छैन ।
– तस्वीर: चन्द्र आले/अनलाइनखबर
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4