Comments Add Comment

नयाँबानेश्वर र महाराजगञ्जमा आजदेखि ट्राफिक लाइट


१३ चैत, काठमाडौं । लामो समयदेखि बल्न छाडेका काठमाडौंका ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याउने अभियान  अाज मंगलबारबाट सुरु हुने भएको छ । सडक विभाग, काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी मशाशाखाका संयुक्त प्रयासमा महाराजगञ्ज र नयाँबानेश्वर चोकमा ट्राफिक लाइट बाल्न लागिएको हो ।

अब यो परीक्षण सफल भएमा क्रमैसँग अन्य चोकहरुमा पनि ट्राफिक लाइटहरु जोड्दै जाने योजना तीनै निकायको छ । यसअघि अनुमान लागतभन्दा बढी मूल्यमा बोलपत्र हालिएपछि यसअघि इन्टालिजेन्स ट्राफिक लाइट जडानका लागि तीन पटक गरिएका टेण्डर फेल भएका थिए । अब भने नेपाली प्राविधिकले विकास गरेको सस्तो प्रविधिमा आधारित भएर लाइट बाल्न लागिएको हो ।

सडक विभागका ट्राफिक इकाइका प्रमुख दीप बिरहीकाअनुसार मंगलबार परीक्षण भएका लाइटल सहज रुपमा काम गरे अन्य चोकहरुममा पनि यसलाई विस्तार गर्ने बताए ।

बानेश्वर चोकमा सडक विभाग र महाराजगञ्ज चोकमा महानगरपालिकाले ट्राफिक लाइटको मर्मत गरेर बाल्न लागेको हो । यदि नेपाली प्राविधिकको यो प्रोजेक्ट सफल भए अन्य ३५ वटा चोकमा पनि यही प्रविधि प्रयोग सुरु गरिने सडक विभागले जनाएको छ ।

निकै लामो समयदेखि बिग्रिएर बसेका लाइटहरुलाई सडक विभागले ‘काम नलाग्ने’ भन्दै आएको थियो । तर, स्मार्ट ट्राफिक लाइट जोड्ने योजना असफल भएपछि अब पुनः तीनै हेलामा परेका लाइटले काठमाडौंको सवारी व्यवस्थानको ‘जिम्मा’ लिने अवस्था आएको छ ।

‘अहिले नेपाली प्राविधिकले प्रस्ताव गरेको प्रविधि पनि स्मार्ट नै हो । रिमोर्टबाट कति समय कुन लाइट दिने भन्ने तया गर्न सकिन्छ,’ बिरहीले भने ।

अहिले सडकमा अलपत्र बनेका ट्राफिक लाइट ०६५ सालमा जापानी सहयोग नियोग जाइकाले जडान गरिरिदएको हो । केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत चोकहरुमा अझै पनि पुराना ट्राफिक लाइट अलपत्र अवस्थामा छन् ।

त्यतिबेला कतिपय स्थानमा यात्रुले बाटो काट्ने प्रयोजनका लागि मात्रै पनि लाइटहरु राखिएका थिए । ती लाइट पनि काम नलाग्ने बनाएर राखिएको वर्षौं बितिसकेको छ ।

उपत्यकामा विभिन्न दर्जनौं स्थानमा ट्राफिक बत्ती बिग्रिएका अवस्थामा छन् । यसअघि अधिकांश लाइटहरु बनाउन नै नसकिने अवस्थामा रहेको भन्दै सडक विभागले त्यसको मर्मतमा चासो दिएका थिएन ।

काठमाडौंमा लाइट नहुँदा ठूलो ट्राफिक जनशक्ति यात्रु र गाडीलाई इशारा गर्नमा नै खर्च भएको छ । यसले पाँच गुणासम्म ट्राफिक प्रहरी सडकमै सवारी सवारी व्यवस्थापन गरिरहनुपरेको अवस्था छ ।

एशियाली विकास बैंक (एडीबी)को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने भनिएको ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडानको योजना भने असफल भएको थियो । यसका लागि एडीबीले सरकारलाई दिएको ३३ करोड बजेट पनि फ्रिज भयो ।

काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी)ले पूर्व योजनाअनुरुप ट्राफिक लाइट जडान नगर्ने गरी इन्टालिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टमको सबै कार्यक्रम खारेज गरेको हो ।

तीन पटक टेण्डर गर्दा पनि ‘ओभर बीड’ अर्थात् लागत अनुमानभन्दा माथि नाघेर टेण्डर भएकाले यसलाई स्थगित गरिएको आयोजनाले जनाएको छ ।

एडीबीको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋण सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नल सिस्टम’ जडान गर्ने भनिएको थियो ।

तर, अनुमानभन्दा बढी मूल्यमा टेण्डर परेपछि यो सिस्टम जोड्नै सरकार असफल भयो । अब फेरि लाइट ब्युँताउने अभियान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment