Comments Add Comment

महिला छात्राबासका लागि १० लाख सहयोग

१३ चैत्र, डोटी । जीवनका ४० वर्ष शिक्षण पेशामा बिताएकी ६४ वर्षीया भागिरथी श्रेष्ठले छात्राबास निर्माणका लागि डोटी क्याम्पस डोटीलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

डोटी दिपायल सिलगढी नगरपालिका-६, सिलगढी मुल घर भई कैलाली बस्दै आएकी श्रेष्ठले छाउपडी प्रथाका कारण कुनै छात्राले बिचमै आफ्नो पढाई छोडेर जानु नपरोस भन्ने आफ्नो चाहाना भएको बताइन । ‘मेरै घर टोलमा पनि छाउपडी प्रथा छ’ श्रेष्ठले भनिन् ‘यस्तोमा छात्राहरुको लागि डेरा पाउन समस्या हुन्छ ।’

कैलाली त्रिनगर माबिकी पूर्व प्राचार्य श्रेष्ठले डोटी क्याम्पसको स्तरोन्नतीका लागि आयोजना गरिएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सहयोग गरेकी हुन् ।

यसअघि पनि बिभिन्न सामाजिक कार्यक्रमहरुमा सहयोग गर्दै आएकी श्रेष्ठले डोटीको ऐतिहासिक महत्व जोगाउनका लागि प्राबिधिक शिक्षा अध्ययन/अध्यापन गराउनु पर्ने धारणा व्यक्त गरे ।

यस्तै स्थानीय बिमला सिंह (जोशी) ले कैलाली गोदावरी नगरपालिका, बल्मीमा रहेको एक कट्ठा जग्गा दान गरेकी छन् । क्याम्पसमा पुस्तकायलय स्थापना गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ जोशीले उक्त जग्गा दान गरेको बताइन् ।

श्रेष्ठ र जोशीलाई डोटी क्याम्पसले सम्मान गरेको छ ।

‘साझा मंगलद्वीपमा अझ बढी घ्यू तेल थप्दै गरौं, शिक्षाको अभियानमा सव मिली संगै अगाडि बढौं’ भन्ने मुल नाराका साथ डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा चैत्र ४ गतेदेखि सुरु भएको धार्मिक ज्ञान महायज्ञ सोमवार समापन भएको छ ।

डोटी क्याम्पसको शैक्षिक विकासका लागि आयोजना गरिएको उक्त महायज्ञमा करिब ७० लाख रुपैयाँ अर्थ संकलन भएको आयोजक डोटी क्याम्पसले जानकारी दिएको छ ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले सवै हिसाव भइनसकेको बताउँदै करीव नगद् र जिन्सी गरी करीव एक करोड रकम संकलन भएको अनुमान गरिएको बताए ।

महायज्ञमा गैडाकोट नवलपरासीको सुकदेब भागवत आश्रमकी बिदुषी यशोदादेवी कौण्डिन्यद्वारा श्रीमद्भागवत महापुराणको दार्शनिक प्रवचन गरिएको थियो । महायज्ञमा प्रत्येक दिन पुजापाठ, रुद्री पुजा, भागवत पाठ परायण, प्रवचन तथा बिभिन्न भाषामा कीर्तन गरिएको महायज्ञका संरक्षक तथा शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले बताए ।

२०१७ सालमा स्थापना भएको त्रिभुवन बिश्वबिद्यालयको सुदूरपश्चिम क्षेत्रको पहिलो आंगिक क्याम्पस डोटी क्याम्पसमा प्राबिधिक शिक्षाको अध्ययन/अध्यापनका लागि अर्थ संकलन गर्ने मुल उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको डोटी क्याम्पसका प्रमुख कृष्णबहादुर कठायतले जानकारी दिए ।

महायज्ञबाट संकलन भएको रकमले डोटीको शिक्षा क्षेत्रमा सर्वाङ्गण्िा बिकास गर्न महत्वपूर्ण योगदान दिने महायज्ञ मुल आयोजक समितिका संयोजक एवं दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीले जानकारी दिए ।

शिक्षा, मानविकी र व्यवस्थापन संकायमा स्नातक र मानविकी तथा समाजशास्त्र संकायतर्फ नेपाली र समाजशास्त्र बिषयमा स्नातकोत्तर तहसम्मको पढाई हुँदै आएको डोटी बहुमुखी क्याम्पसमा यस बर्षदेखि कम्प्युटर बिज्ञानमा स्नातक तहको पढाई सुरु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment