Comments Add Comment

बाँच र बाँच्न देऊ सिद्धान्तका प्रणेता थिए भगवान् महावीर

आज चैत्र शुक्ल त्रयोदशी । जैन धर्मका २४ औं तीर्थंकर भगवान् महावीरको जन्मदिवस । जैन धर्मावलम्बीहरूले महावीर जयन्ती धुमधामका साथ मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । यो उत्सव जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले उत्तिकै हर्षोल्लासपूर्वक मनाउँछन् ।

करिब २५ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत विहारको मुजफ्रफरपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रिय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको हो । उनै बर्धमान पछि महावीर स्वामी बने ।

महावीर स्वामी अहिंसाका मूर्तिमान प्रतीक थिए । उनको जीवन त्यग एवं थपस्याले ओतप्रोत थियो । उनले एउटा लगौंटीसम्म संग्रह गरेनन् । जुन युगमा हिंसा, पशुबलि, जातपातको भेदभाव बढेको थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाए ।

महावीरका बाबु जैन धर्मका २३ औं तीर्थंकर पाश्र्वनाथ (पाश्र्वनाथ महावीरभन्दा २ सय ५० वर्षअघिका थिए) का अनुयायी थिए । महावीर शिशु अवस्थामै हुँदा इन्द्रदि देवताले उनलाई सुमेरु पर्वतमा लगेर जन्मकल्याणक मनाएका थिए भनिन्छ । महावीरको बाल्यकाल राजमहलमा बित्यो । युवावस्थामा यशोदा नामकी राजकन्यासित उनको विवाह भयो । उनीहरूबाट पि्रयदर्शना नामकी पुत्री जन्मिन् । महावीर २८ वर्षको हुँदा उनको आमाबुबाको निधन भयो । आफ्ना दाजु नन्दीवर्द्धनको आग्रहमा महावीर २ वर्षसम्म घरमै बसे । ३० वर्षको उमेरमा मार्गशीर्ष कृष्ण दशमीका दिन उनले दीक्षा ग्रहण गरे ।

दीक्षा ग्रहणपश्चात् महावीरले तप, संयम एवं साम्य भावको साधना गरे । उनले पञ्च महाव्रतरूपी धर्म चलाए । उनलाई इन्द्रियजनित विषय वासनाका सुख अरूलाई दुःख पुर्‍याएर मात्र प्राप्त हुनसक्छ भन्ने कुराको अनुभव भयो । अतः उनले सबैप्रति प्रेमको व्यवहार गरे र संसारलाई अहिंसाको पाठ सिकाए ।

महावीरका अनुसार धर्म सबैभन्दा राम्रो मंगल वा कल्याण हो । अहिंसा, संयम एवं तप नै धर्म हो । महावीर भन्छन्-‘जो धर्मात्मा छन्, जसको मनमा सदैव धर्म रहन्छ, उसलाई देवताले समेत नमस्कार गर्छन् ।’

भगवान् महावीरले प्रवचनमा धर्म, सत्य, अहिंसा, ब्रह्मचर्य, अपरिग्रह एवं क्षमामाथि सबैभन्दा बढी जोड दिए । त्याग एवं संयम, करुण एवं प्रेम, शील एवं सदाचार नै उनको प्रवचनको सार थियो । भगवान् महावीरले चतुर्विध संघको स्थापना गरे र त्यसैमार्फत विभिन्न क्षेत्रको भ्रमण गरेर पवित्र सन्देश फैलाए ।

महावीरले संसारलाई पञ्चशीलको सिद्धान्त बताए । पञ्चशील अन्तर्गत सत्य, अपरिग्रह, अस्तेय, अहिंसा एवं क्षमा पर्दछन् ।

महावीर स्वामीको पञ्चशील सिद्धान्त सत्य

सत्यको विषयमा भगवान् महावीर स्वामी भन्छन्- ‘हे पुरुष ! तिमी सत्यलाई नै साँचो तत्वका रूपमा बुझ । जो बुद्धिमान् सत्यकै आज्ञामा रहन्छ। ऊ मृत्युमाथि तैरेर पार हुन्छ ।’

अहिंसा

यस संसारमा जति पनि त्रस जीव (एक दुई, तीर, चार एवं पाँच इन्द्रिय भएका) छन् तिनको हिंसा नगर, उनीहरूलाई आफ्नो मर्गमा अघि बढ्न नरोक । उनीहरूका प्रति आफ्नो मनमा दया भाव राख । उनीहरूको रक्षा गर । यही अहिंसाको सन्देश महावीरले हामीलाई दिएका छन् ।

अपरिग्रह

अपरिग्रहको अर्थ हो कुनै पनि कुरा संग्रह वा जम्मा नगर्नु । यसका विषयमा महावीर भन्छन्- ‘जो मानिस आफैं सजीव वा निर्जीव कुराको संग्रह गर्छ, अरूबाट संग्रह गराउँछ वा अरूलाई संग्रह गर्न सम्मति प्रदान गर्छ, उसलाई दुःखबाट कहिल्यै पनि छुटकारा मिल्दैन ।’

ब्रह्मचर्य

महावीर स्वामी भन्छन्- ब्रह्मचर्य उत्तम तपस्या, नियम, ज्ञान, दर्शन, चरित्र, संयम एवं विनयको जड हो । तपस्याहरूमध्ये ब्रह्मचर्य श्रेष्ठ तपस्या हो । जो पुरुष महिलाहरूसँग सम्बन्ध राख्दैनन् उनीहरू मोक्ष मार्गतर्फ अघि बढ्छन् ।

क्षमा

क्षमाका विषयमा महावीर भन्छन्-‘म सबै जीवसँग क्षमा चाहन्छु । संसारका सबै जीवप्रति मेरो मैत्रीभाव छ । मेरो कसैसँग शत्रुता छैन । म साँचो हृदयले धर्ममा स्थिर छु । सबै जीवसँग म सम्पूर्ण अपराधका लागि क्षमा माग्दछु । सबै जीवले मप्रति जेजति अपराध गरेका छन् त्यसका लागि म उनीहरूलाई क्षमा दिन्छु ।’

महावीर यसो पनि भन्छन्-‘मैले मनमा जुन जुन पाप वृत्तिहरूको सङ्कल्प गरेको छु, वचनमार्फत जुन जुन पाप वृत्तिहरू प्रकट गरेको छु र शरीरबाट जुन जुन पाप वृत्तिहरू गरेको छु, मेरा ती सबै पापवृत्तिहरू विफल होऊन् । मेरा ती सारा पापहरू झुटा होऊन् ।’

महावीरले जीवनकालमा अहिंसाको चरम विकास गरे । सम्पूर्ण विश्वलाई नै अहिंसाको पाठ पढाउने भगवान् महावीरले बहत्तर वर्षको उमेरमा कार्तिक कृष्ण अमावस्याको रात पावापुरी नगरमा मोक्ष प्राप्त गरे । उनको निर्वाणको समयमा उपस्थित १८ गणराज्यका राजाहरूले निर्वाणोत्सव मनाए । महावीर स्वामीलाई वर्द्धमान, वीर, अतिवीर एवं सन्मति पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment